आर्मीलाई हराउँदै पुलिस च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पुलिस क्लबले दोस्रो रुस्लान कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

मंगलबार त्रिवि मैदानमा भएको फाइनल खेलमा पुलिसले नेपाल आर्मी क्लबलाई ४ विकेटले हराएर उपाधि जितेको हो। आर्मीले दिएको १ सय ४३ रनको लक्ष्य पुलिसले १९औं ओभरमा भेटायो। पुलिसले ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो। जितसँगै पुलिसले ३ लाख नगद पहिलो पुरस्कार हात पार्यो भने आर्मीले २ लाख नगद प्राप्त गरेको थियो।

पुलिसको उपाधि जित्नुमा दीपेन्द्र ऐरी र कुशल भुर्तेलको सानदार ब्याटिङ कारक बनेको थियो। ७२ रनका लागि पाँच विकेट गुमेको अवस्थामा दीपेन्द्र र कुशलले ५८ रनको म्याच विनिङ साझेदारी गरे। कुशलले २० बलमा ३ छक्काको मद्दतमा ३४ रन बनाएर अविनास कर्णको बलमा आउट भए। उनी आउट भए पनि उनको स्थानमा आएका सिद्धान्त लोहनीले दीपेन्द्रलाई निरास गरेनन्।

सिद्धान्त एक छक्कासहित ९ रनमा नटआउट हुँदै दीपेन्द्रलाई साथ दिएका थिए। जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्र ४२ रनमा नटआउट रहे। उनले ३५ बलको सामना गरेर ४ चौका र १ छक्का प्रहार गरेका थिए। प्रतियोगिताभरि सर्वाधिक ६ छक्का कुशलले प्रहार गरेका थिए।

शुरूआतमा पुलिसले लक्ष्य पछइउने क्रममा शीर्ष तीन ब्याटसम्यानलाई ३२ स्कोर हुँदा गुमाउन पुग्दा दबाबमा पुगेको थियो। दिलीप नाथ २४ रनमा र सुनिल धमला ८ रन पवेलियन फर्केका थिए। उनीहरू दुवै जनालाई विक्रम सोबले आउट गरेका थिए।

त्यस्तै आरिफ शेख दुई बल खेलेर खाता नखोली रनआउट भएका थिए। उनलाई राजु रिजालले रनआउट गरेका थिए। त्यस्तै कप्तान मञ्जित श्रेष्ठ पनि स्कोर ५६ मा पुग्दा जितेन्द्र मुखियाको सिकार बने। उनले १५ रन जोडे भने योगेन्द्र कार्की ११ रन बनाएर जितेन्द्रलाई विकेट ठमाएर आउट भएका थिए।

यतिबेलासम्म ५–७२ को स्थिति हुँदा आर्मी खेलमा हावी थियो। तर कुशल र दीपेन्द्रको ब्याटिङलाई अंकुश लगाउन नसक्दा आर्मीको लागि उपाधि विमुख हुन पुगेको थियो। यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले शुरूमै सागर पुनलाई गुमाए पनि निर्धारित २० ओभरमा १ सय ४२ रन जोडेको थियो। टोलीको लागि मध्यमक्रमका ब्याटसम्यान विनोद भण्डारीले ४० रन र राजेश पुलामीले ३८ रन जोडेका थिए। पुलिसका बलरमा ललित राजवंशी र ललित भण्डारीले २⁄२ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्