छात्रावास नबन्दा ५ घण्टा हिँडाइ



हेटौंडा,(नेस) । पाँच वर्षअघि मकवानपुरको राक्सिराङ गाविस चैनपुरमा निर्माण थालिएको चेपाङ छात्रावास बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।

पश्चिम मकवानपुरका चेपाङ र तामाङ बालबालिका ५ घण्टा हिँडेर विद्यालय जानुपर्ने भएपछि उनीहरुलाई छात्रावासमा राखेर अध्यापन गराउन जिल्ला विकास समिति मकवानपुरले चैनपुरको प्रजा जागृति निमाविमा छात्रावास निर्माण थालेको थियो ।

छात्रावास निर्माणका प्रजा विकास कार्यक्रमअन्तर्गत् ९ लाख रुपियाँ लगानी भइसकेको छ । छुट्याइएको रकमबाट हालसम्म डीपीसी पिलर र गारोे उठाउने काम सकिएको छ । ६ कोठे पक्की भवनको छत ढलाइ र प्लाष्टर कामका लागि बजेट अभाव भएको नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले बताए ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको चेपाङ छात्रावास निर्माणमा ढिलाइ हुँदा त्यस क्षेत्रका बालबालिका प्रभावित भएका छन् । विद्यालय र घरको दुरी टाढा पर्ने त्यस क्षेत्रका अधिकांश बालबालिकाले बीचमा पढाइ छाड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्