स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै



नेपाल लाइफ इन्स्योरेन्समा साढे १५ अर्ब रुपियाँको आवेदन
नेपाल समाचारपत्र
काठमाडौं
स्टान्डर्ड चार्टर्ड बैंकले प्रतिकित्ता १२९० रुपियाँका दरले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ जारी गर्ने भएको छ। सय रुपियाँ फ्रेस भ्यालुमा ११ सय ९० रुपियाँ प्रिमियम थप गरी जारी हुने एफपीओबाट बैंकले ३ अर्ब ३० करोड रुपियाँ पुँजी संकलन गर्नेछ। चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुर्याउनका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो।

बैंकको सञ्चालक समितिले उक्त दरमा एफपीओ जारी गर्ने निर्णय गरे पनि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकको एफपीओ जारी हुनेछ। बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमास चुक्ता पुँजी २ अर्ब ८१ करोड २४ लाख २६ हजार रुपियाँ रहेको छ। साथै बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड ५ लाख १४ हजार रुपियाँ रहेको छ। त्यस अवधिमा ३४ करोड ९४ लाख रुपियाँ खुद नाफा कमाएको बैंकको प्रतिशेयर आम्दानी ४९ रुपियाँ ७० पैसा तथा प्रतिशेयर नेटवर्थ २८१ रुपियाँ ७१ पैसा रहेको छ। बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३३ दशमलव ३३ प्रतिशत बोनस शेयर र १ दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको छ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शुक्रबारसम्म करिब १५ अर्ब ५० करोड रुपियाँको हाराहारीमा एफपीओ आवेदन परेको छ। कम्पनीमा आइतबारसम्म एफपीओ खरिदका लागि आवेदन दिन सकिनेछ।
न्यूनतम १० कित्ता अर्थात १४ हजार दुई सय ५० रुपियाँदेखि र अधिकतम् ३० हजार ९ सय ६० कित्ता अर्थात ४ करोड ४१ लाख १८ हजार रुपियाँसम्मको आवेदन दिन सकिन्छ। आइतबार अन्तिम दिन भएकाले ठूला र संस्थागत लगानीकर्ताले अन्तिम दिन आवेदन गर्दै आएका छन्। कम्पनीले ३० लाख ९६ हजार ४ सय २० कित्ता एफपीओ प्रतिकित्ता १४ सय २५ रुपियाँका दरले निष्काशन गरेको छ। सय रुपियाँ अंकित मूल्यमा १३ सय २५ रुपियाँ प्रिमियम मूल्य जोडेर एफपीओ जारी भएको हो।

एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रुपियाँका दरले आउने पैसा चुक्ता पुँजीमा जोडिनेछ भने प्रिमियमबाट संकलन भएको रकम जगेडा कोषमा जानेछ। एफपीओपछि कम्पनीको जगेडा कोषमा ६ अर्ब ६९ करोड ३८ लाख रुपियाँ जम्मा हुनेछ। कम्पनीको प्रतिशेयर नेटवर्थ ३६९ रुपियाँ ८६ पैसा पुग्ने छ। कम्पनीले आर्थिक वर्ष २०७१⁄७२ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्