सहमतिमा नै प्रक्रिया अगाडि बढाउने: माओवादी केन्द्र



 

काठमाडौँ, २१ पुस । नेकपा (माओवादी केन्द्र)ले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका–¬ संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेत सहमतिमा आउने विश्वास व्यक्त गर्दै त्यसका लागि सबै पक्षसँग संवाद गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति सहमतितिर जान लागेको र स्थानीय निकायको निर्वाचनका लागि सरकारले हदैसम्मको प्रयत्न गरेको जानकारी गराउँदै पार्टीका तर्फबाट समेत त्यसका लागि आवश्यक वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताउनुभएको पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्षले मुलुकलाई सधँै बन्धक बनाएर राख्ने काम कोही कसैबाट पनि हुन नहुने बताउनुभयो, त्यसका लागि संविधान संशोधन विधेयक अगाडि बढाउने र स्थानीय निकायको निर्वाचनको मिति समेत घोषणा गरिने विषयमा नै आफ्नो धारणा राख्नुभएको थियो, नेता सापकोटाले भन्नुभयो ।

अदालतको फैसलापछि अब संशोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसँग छलफल जारी रहेको भन्दै राजनीति क्रमशः सहमतिको मार्गमा अगाडि बढेको अध्यक्ष दाहालले बैठकमा जानकारी गराउनुभएको थियो ।
पार्टीको आन्तरिक निर्वाचन र सङ्गठनात्मक कार्यविधिका बारेमा छलफल गर्न बसेको बैठकमा सो बारेमा भने शुक्रबार छलफल गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी सङ्गठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका विषयमा कार्यविधि तय गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्