घर दैलोमै एआरटी औषधी पाएपछि डोटीका संक्रमितहरु दंग



(विमल विष्ट)/ डोटी, २१ पुस ।
डोटीमा रहेका एचआईभी संक्रमितहरुलाई गाउमै एआरटी नामक औषधी दिईन थालेपछि उनिहरुमा खुसियाली छाएको छ ।

यहाँका दुर्गम गाबिसमा रहेका एचआईभी संक्रमितहरु जिल्ला सदरमुकाममा आएर एचआईभी संक्रमितले खाने एआरटी नामक औषधी लिदा लिदा थकित भईसकेको बगलेक गाबिसका एचआईभी संक्रमित त्रिलोक ठकुल्लाले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘प्रत्येक महिना औषधी लिन सदरमुकाम जादा यातायात खर्चका लागि गाउमा ऋण झिक्दा झिक्दै चुर्लुम्म डुबिसकेको थिए अब गाउमै पाईने भएछ खुसि भएका छौ ।’

जिल्ला स्वास्थ्य कार्यालय डोटीले पहिलोपटक जिल्ला सदरमुकाम बाहिर एचआईभी संक्रमीतले खाने औषधी एआरटी बितरण केन्द्र स्थापना गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी क्षेत्रका बिभिन्न ६ भन्दा बढी गाबिसका संक्रमीतहरुलाई पायक पर्ने सानागाउ स्वास्थ्य चौकीबाट औषधी पाउने गरी सेवा सुरु गरिएको छ । यस कार्यले पूर्वी चौकीका एक सय २० भन्दा बढी एआरटी औषधी खाइरहेका संक्रमीतहरुमा खुसि छाएको छ ।

केन्द्रबाट एचआईभीको संक्रमणमा परिसकेका ब्यक्तिहरुको आयु लम्ब्याउनका लागि उपचार प्रक्रियामा औषधी दिईने गरिन्छ । जिल्लाका अरु क्षेत्रका तुलनामा डोटीको पुर्बीचौकी क्षेत्रमा एचआईभी संक्रमितहरको संख्या बढी रहेकोले उक्त क्षेत्रबाट एआरटी बितरण कार्यको थालनी गरिएको जिल्ला स्वास्थ्यका एचआइभि फोकल पर्सन हरिश शाहले बताउनु भयो ।

सानागाउको स्वास्थ्यचौकीमा स्थापना गरिएको सो केन्द्रको जिल्ला जनस्वास्थ्य प्रमुख सतिश विष्टले उद्घाटन गर्नु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको तत्थ्यांक अनुसार कैलाली र अछाम जिल्ला पछि डोटी एचआईभी संक्रमितहरुको संख्या बढी भएको जिल्लाहरुमा पर्दछ । पछिल्लो तत्थ्यांक अनुसार डोटी जिल्लामा एआईभी संक्रमितहरुको संख्या ८ सय ९४ रहेको छ ।

घर दैलोमै एआरटी औषधी पाएपछि आफू जस्ता न्युन आयस्रोत भएका संक्रमीतहरुलाई राहत भएको सानागाउकी अर्की एचआईभी संक्रमीत लाली कोलीले बताउनु भयो । डोटीमा जिल्ला अस्पताल भन्दा बाहिरका स्वास्थ्य संस्थावाट एआरटी औषधी बितरण गर्न थालिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्