चार महिनामा ३४ कुरीतिजन्य हिंसाका घटना



काठमाडौँ, २० पुस । पछिल्लो चार महिनामा मुलुकमा बोक्सी, छाउपडी, छुवाछूत, दाइजो, बिधुवा र बली प्रथालगायत ३४ वटा कुरीतिजन्य घटना भएका छन् ।

मानववादी समाज ९सोच० नेपालले चार महिनाको अध्ययनपछि हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार बोक्सी प्रथा सात, बालविवाहका चार, छाउपडी एक, छुवाछूतका तीन, दाइजो प्रथा चार, बिधुवा प्रथा दुई, बली प्रथा एक, धामीझाँक्री पाँच, हलिया पाँच, कुमारी प्रथा एक गरी ३४ घटना सार्वजनिक गरेको हो । यी घटना दाङ, खोटाङ, दोलखा, पाल्पा, पर्वत, महोत्तरी बाँकेलगायतका जिल्लामा भएको हो ।

समाजले २०७३ भदौ १ गतेदेखि मङ्सिर मसान्तसम्म देशभर भएका राष्ट्रिय दैनिकमा छापिएका कुरीतिजन्य घटनाको अध्ययन तथा अभिलेख तयारी गरी विश्लेषणसहितको चौमासिक प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।

समाजले नागरिक दैनिक, कान्तिपुर दैनिक, राजधानी दैनिक, गोरखापत्र दैनिक, नयाँ पत्रिका दैनिक, अन्नपूर्ण पोस्ट दैनिक र नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचारलाई आधार बनाएर प्रतिवेदन सार्वजनिक गरेको हो ।

“अहिलेको वैज्ञानिक युगमा पनि रीतिरिवाज एवम् धर्म, संस्कृतिका नाममा मान्छेमाथि हुने अमानवीय घटनालाई न्यूनीकरण गर्न र हरेक मान्छेलाई आत्मसम्मानका साथ बाँच्न पाउने वातावरणको सिर्जना गर्न सोचले कुरीतिजन्य हिंसाका बारेमा अध्ययन गरिरहेको छ”– प्रतिवेदनमा भनिएको छ । चार महिनाको अवधिमा प्रत्येक महिना कुरीतिजन्य हिंसा बढ्दै गएको समाजको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्