जाडो छल्न आगो र चियाको व्यवस्था गर्दै सेना



गौशाला, १५ पुस । विगत तीन/चार दिनदेखि बढेको असहनिय जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहानै आगो र चियाको व्यवस्था गरेको छ ।

गत मङ्गलबारदेखि अचानक जिल्लामा जाडो बढेपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई मध्यनजर गर्दै जलेश्वरस्थित नेपाली सेनाका फस्ट रैफल गणले जलेश्वरको मटिहानीचौक, दुर्गाचोक र शङ्करचौकमा दाउरा बालेका छन् ।

त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको सो गणका गणपति युवधिरमान सिंह अधिकारीले बताउनुभयो ।

केहि दिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढेकाले नेपाली सेनाले स्थानीयवासीलाई लक्षित गर्दै जलेश्वरको तीन स्थानमा दाउरा बाल्नुको साथै चियाको व्यवस्था गरिदिएको गणपति अधिकारीले बताउनुभयो ।

नेपाली सेनाले गरेको दाउरा र चियाको व्यवस्थाबाट सयौँं व्यक्ति लाभान्वित भएका छन् भने सेनाको यस कार्यलाई निरन्तरता दिन स्थानीयवासीले नेपाली सेनालाई जिल्लाको गाउँतिर पनि यस्ता कार्यक्रम गर्न माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्