छाउपडीबिरुद्ध एक जुट हुन प्रतिबद्ध



बिष्णुप्रसाद भण्डारी, अछाम ।
अछाम जिल्लामा युगौँदेखि बिद्यमान छाउपडी कुप्रथा अन्त्य गर्न ठोस रणनीति तय गर्ने उद्देश्यले बिहिबार साँफेबगरमा बृहत खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघको आयोजनामा भएको बृहत अन्तरक्रियाबाट छाउपडी कुप्रथा मान्ने चलन अन्त्य गर्नका लागि ठोस रणनीति बनाएर अघि बढ्न सबै सरोकारवाला सहमत भएका छन् ।

छाउपडी कुप्रथा अन्त्यका लागि सबै एक जुट भएर शसक्त ढंगले अघि बढ्ने निर्णय समेत कार्यक्रमबाट गरिएको छ । अखिल नेपाल महिला संघ साँफेबगर नगर कमिटीका अध्यक्ष रेखा कुमालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व सभासद् शेरबहादुर कुँवर रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेना बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा पूर्व जिल्ला बिकास समिति सदस्य मिनबहादुर कुँवर, महिला तथा बालबालिका अधिकृत भगवती आर्यल, नेकपा एमाले प्रदेश नं. ७ का प्रदेश कमिटी सदस्य मिना साँउद, एमाले जिल्ला कमिटी सदस्य शिलोज कुँवर, बिर्मला बुड्थापा, प्रहरी निरिक्षक गोशसिंह महता, शसस्त्रका प्रहरी बल खप्तड गुल्मका प्रहरी निरिक्षक ज्वती नाथ योगी, साँफेबगर नगरपालिकाका कार्यकारी अधिकृत खेमराज कोईराला, छाउपडी गोठ मुक्त अभियानका अभियान्ता पशुपती कुँवर, वयलपाटा क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज जैशी, नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारी लगायत अतिथीको उपस्थिती थियो । कार्यक्रमको सञ्चलान सिता कुँवरले गर्नुभएको हो ।

यस्तै यता जिल्ला प्रशासन कार्यालय अछामले पनि आजदेखि छाउपडी कुप्रथा बिरुद्ध दवावमुलक अभियानको सुरुवात गरेको छ । दवाव स्वरुप जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउनेलाई छाउपडी प्रथा अन्त्यका लागि प्रतिबद्धता व्यक्त गर्न लगाउने कामको सुरुवात गरिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा डेस्क नै स्थापना गरि कार्यालयमा आउने जतिलाई प्रतिबद्धतामा हस्ताक्षर गाराउने व्यवस्था मिलाईको उहाँले बताउनुभयो । आज पहिलो दिन मात्र ७१ जनाले हस्ताक्षर गरेको जानकारी समेत भुषालले दिनुभयो । अछाममा हालै मात्र छाउपडी गोठ भित्रै दुई जनाले ज्यान गुमाउनुपरेको घटनाले जिल्ला प्रशासन कार्यालय अछामको गम्भिर ध्यानाकर्षण भएको उहाँको भनाई छ ।

आगामि दिनमा यस्ता घटना नदोहोरिउन भन्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सेवा लिनका लागि छाउपडी प्रथा अन्त्य गर्ने प्रतिबद्धता जनाउनै पर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्