नेकपा एमालेसहित ९ दलको विरोधको कार्यक्रम सार्वजनिक



काठमाडौं, (नेस) ।
नेकपा एमालेसहित ९ राजनीतिक दलले सरकार विरुद्ध प्रदर्शन गर्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सो विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान विरोधी, जनभावना विरोधी र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा उभिएका एमाले सहित ९ राजनीतिक दलहरु छन् ।

विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले पुस २२ गतेको विरोध प्रदर्शनको आजसम्मको तयारीको कामको समीक्षा गरेको नेकपा एमालेले जनाएको छ ।

बैठकले पुस २२ गते ९ राजनीतिक दलले विभिन्न स्थानबाट जुलुससहित अपरान्ह ३ः०० बजे काठमाडौंको प्रदर्शनीमार्गमा विरोधसभा गर्ने सहमतिअनुसार उक्त दिन नेकपा (एमाले)को सम्पूर्ण जुलुस ठीक १ बजे रत्नपार्क शान्तिबाटिकाबाट सुरु गरी तोकिएको स्थानमा सभामा परिणत गर्ने निर्णय गरेको छ ।

विरोध प्रदर्शनमा व्यापक जनताको सहभागिता गराउनको लागि पार्टीका केन्द्रीय सदस्य तथा सांसद र अन्य नेतृत्वपंक्तिलाई ठोस जिम्मेवारीसहित विभिन्न जिल्ला तथा उपत्यकाका निर्वाचन क्षेत्र तथा मोर्चा संगठनहरुमा खटाउने निर्णय गरेको छ ।

पुस २२ गते राजधानीमा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका नेकपा (एमाले)का सबै संगठित सदस्यहरुले त्यस दिनको विरोध प्रदर्शनमा अनिवार्य रुपले भाग लिन बैठकले निर्देशन दिएको छ ।

साथै एक संगठित सदस्यले कम्तिमा पनि अन्य तीन जनालाई विरोध प्रदर्शनमा सहभागी गराउने जिम्मेवारीसमेत दिएको छ । बैठकले पुस २२ गतेसम्म पार्टीको सम्पूर्ण कार्यक्रम विरोध प्रदर्शनको तयारीमा केन्द्रित गर्ने गरी योजना बनाउन उपत्यकाका सबै पार्टी कमिटीहरु, मोर्चा संगठनहरु, सम्पर्क कमिटी तथा मञ्चहरु, पेसागत संघ÷संगठनहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्