जनयुद्धका उपलब्धि जोगाउन एक हुनुको बिकल्प छैन, ‘प्रधानमन्त्री’



काठमाडौं,११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताउनु भएको छ ।

माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्रीले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको बताउनु भएको हो ।

पुस्तक बिमोचन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘जनयुद्धले गणतन्त्र त ल्यायो, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि पनि हासिल भए । तर, अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर यी उपलब्धिहरु उल्टाउन सकिन्छ कि भनेर कोशिस हुँदैछ । तसर्थ, जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुको बिकल्प छैन ।’

कार्यक्रममा प्रधानमन्त्रीले सँगै रहनुभएका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईप्रति इंगित गर्दै भन्नुभयो, ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतिपूर्ण कार्यभार बाँकी नै थियो । हामी बहस गर्दै साझा निष्कर्षमा पुग्न सक्थ्यौं । तर, बाबुरामजी हतारिनुभयो । उनको बहिर्गमन अहिले पनि मलाई सामान्य लागेको छैन ।’

बिमोचन कार्यक्रममा प्रधानमन्त्रीले जतिसुकै कोशिस भएपछि २०४७ सालतिर फर्काउन नसकिने ठोकुवा गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयन नभए हाम्रो के जान्छ र ? २०४७ साल नै ठीक थियो भन्नेसम्मका छलफल चल्न थालेका छन् । तर, अब मुलूक २०४७ तिर जाँदैन, जाने २०७४ तिरै हो । तर, माओवादी आन्दोलन र नेतृत्व कमजोर भयो भने जनताको मनोभावनालाई अराजकतातिर लैजाने कोशिस हुन्छ । त्यसबाट मुलूकलाई बचाउन पनि हामी एकतावद्ध हुनैपर्छ ।’

कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, भक्तिप्रसाद पाण्डेका पुत्र विश्वद्धीप पाण्डेले भक्तिप्रसाद पाण्डेको जीवन आदर्शपूर्ण जीवन भएकोमा जोड दिँदै नेपालको परिवर्तनको आन्दोलनमा उहाँले विशिष्ट भूमिका निर्वाह गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्