बैंक स्थापनाको माग गर्दै प्रशासनमा डेलिगेसन



नेपाल समाचारपत्र
चन्द्रौटा
राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पुनःस्थापना गर्नुपर्ने माग गर्दै कपिलवस्तुको बहादुरगन्ज गाविसका युवाहरू जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएका छन्।

झन्डै २५ वर्षअघि बहादुरगन्जबाट विस्थापित भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पुनःस्थापना गर्नुपर्ने मागसहित स्थानीय युवाहरू तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय पुगी सहायक प्रजिअ कृष्णबहादुर बुढाथोकीलाई ज्ञापनपत्र बुझाएका हुन्। तत्कालीन नेकपा माओवादीको डरत्रासका कारण बहादुरगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा तौलिहवा सरेको थियो। बैंक नहुँदा बहादुरगन्ज आसपासका बासिन्दाले समस्या झेल्नुपरेको जनगुनासो बढेसँगै स्थानीय युवाहरूको टोली तौलिहवा डेलिगेसन गएको निर्भय सिंहले जानकारी दिनुभयो।

बहादुरगन्जमा कुनै पनि बैंक नहुँदा तौलिहवा चन्द्रौटा र कृष्णनगर धाउनुपर्ने बाध्यता रहेको सिंहले समस्या दर्साउनुभयो। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने बहादुरगन्ज आसपासका क्षेत्र ९० प्रतिशत खेती किसानहरूको बसोबास रहेको छ। सर्वसाधारण कृषकहरूको आवश्यकता महसुस गरी बैंक स्थापना गर्नुपर्ने सहायक प्रजिअसमक्ष माग राखिएको उहाँले बताउनुभयो। बैंक स्थापनाका लागि पटकपटक विभिन्न निकायसँग अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएपछि जिल्ला प्रशासनको ढोका घचघच्याउन पुगेको टोली अगुवा निर्भय सिंहले बताउनुभयो।

बैंक नहँुदा कृषकहरूले मिहिनेत गरेको रकमसमेत जम्मा गर्न नसक्दा असुरक्षित महसुस गरेको स्थानीय राज तिवारीले बताउनुभयो। बहादुरगन्जमा बैंक स्थापनाले जिल्लाका पश्चिमी भेगका आधा दर्जन बढी गाविसका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने तिवारीले विश्वास व्यक्त गर्नुभयो।

यता सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बुढाथाकीले प्रशासन कार्यालय पुगेका युवाहरूलाई धन्यवाद दिँदै बहादुरगन्जमा वाणिज्य बैंक पुनःस्थापनाका लागि पहल चाल्ने आश्वासन दिनुभयो। पञ्चायत कालमा बहादुरगन्जमा आधा दर्जन बढी सरकारी कार्यालय भए पनि द्वन्द्वकालमा सदरमुकाम सरेपछि बहादुरगन्जबासी विगत २५ वर्षदेखि समस्या झेल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्