एकताको अन्तिम गुहार

282
Shares

पुराना राजनीतिक दलका शीर्ष नेताहरूलाई बालेन सरकारले एकपछि अर्को गर्दै क्रमशः पक्राउ गरेर विगतमा शासनको कुर्सीमा बस्दाका क्षण गरेको भ्रष्टाचारका विभिन्न काण्डलाई उजागर गर्दै लैजान थालेपछिका दिनमा शीर्ष नेताको होसहवास उडेको छ । विगतमा प्रयोग गरेका अनेक अक्कल पुनः प्रयोग गर्दा पनि बालेन सरकारले छोड्ने लक्षण नदेखिएपछिका दिनमा बामपन्थीलगायतका प्रजातन्त्रवादी राजनीतिक दलहरूका बीच छिटो एकता गरेर बालेन सरकारका विरुद्धमा लागौँ भनी सडकतिर रोइकराइ गर्न थालेको सुनिदै र देखिँदै छ । केही दिनअगाडि पक्राउ गरेर हिरासतमा राखिएका भनिएका पूर्वअर्थमन्त्री तथा नेकपा एमाले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको घरमा पैसा गन्ने यन्त्र फेला परेको कुराले झन् प्रस्ट पारेको छ कि लुटेको र लुकाएको पैसा मान्छेले गनेर नसक्ने भएपछि पैसा गन्ने यन्त्र नै खरिद गरेर हो कि कुनै वित्तीय संस्थाबाट ल्याएर राखिएको रहेछ । त्यस्तै नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाललगायतका केही शीर्ष नेताका घरमा गोप्यरुपले बनाएको गोदाममा नोटका बिटा वर्षौंदेखि कुहाएर राखिएको रहेछ भन्ने कुरा जेनजी आन्दोलनकै क्रममा देखा परिसकेको थियो । एमालेका अध्यक्ष केपी ओली भनिरहेका छन्– ‘हामीले एक पैसा पनि भ्रष्टाचार गरेका छैनौँ । अनि हाम्रा कर्मचारीले पनि एक पैसा भ्रष्टाचार गरेका छैनन् । हामी सम्पूर्णरुपले निर्दोष छौँ ।’

कुरो पैसा वा सुनको मात्र होइन । मानवीय संवेदना, आचरण, परमार्थ सुधारको सोचाइ आदिसमेत गुमाएर शासनको नाममा केवल शासन मात्र चलाउने गरिएको थियो । यसै क्रममा सम्पत्ति थुपारेपछि जे पनि हुनसक्छ भन्ने मानसिक सोचाइ पनि झन्डै गुम भएको अवस्थाको शासनले आम नेपाली जनताको मानसिकतालाई थिलोथिलो पारेको थियो । बालेन सरकारको गठनपछिका दिनमा ती सबै आडम्बरले भरिएका फोस्रा भनाइ एक थोपो पनि सुन्न नपर्दा न्याना कान लाउन सकिएको छ । कम्युनिस्टको खोल ओढेर होस् कि प्रजातान्त्रिक शक्तिको नाममा होस्, यो साढे तीन दशक लामो शासनकालमा देश चाल्नोजस्तै प्वालैप्वाल पारेर छोडिएको रहेछ । हाल धमाधम पक्राउ गरिँदै र सत्य कुरा बकाइँदै गरेका नेता, कर्मचारी सबैका मुखबाट यथार्थ कुरा बकिँदै छ ।
विगत केही समयअघिदेखि ‘पुराना राजनीतिक दलहरू कि त सच्चिएर आम जनतासँग आफूले गरेका काला कर्तुतका कुरा खोलेर माफी माग्दै सच्चिने बाटोमा आऊ वा माफी मागेर सच्चिने बाटोमा आउन घमण्डले दिँदैन भने सक्किएर जाऊ’ भन्ने नारा घन्केको थियो । जनताले मात्र होइन कि ती–ती राजनीतिक दलका बफादार कार्यकर्ताले समेत यस्तै आशय प्रकट गरेको कुरा थाहा हुन्थ्यो । तथापि पुराना राजनीतिक दलहरू सच्चिने बाटोमा जान पटक्कै तयार भएनन् । उनीहरू जनतासमक्ष माफी माग्न र सच्चिनुको साटो पुनः सत्ता हात पारेर पहिलकै तरिकाले कुशासनलाई नै जरैदेखि बलियो बनाएर लैजाने ढिपीमा अडिएको जस्तो गरिरहेका छन् । तल्ला नेता–कार्यकर्ता केहीले सुध्रिने भन्ने संकेत देखाए तापनि शीर्ष नेताको अहंकारी अडान यथावत् छ कि बालेन नेतृत्वको सरकार ढालेर छोड्छौँ । तर उनीहरूको यो खोकाइ सार्थक होला कि भन्ने लक्षण एक थोपो पनि देखिएको छैन । अबका दिनमा उनीहरू सबै पुराना राजनीतिक दलहरू एउटै ढिक्को बनेर वर्तमान सरकारको विरुद्धमा लागे पनि यसपटक आम जनताले उनीहरूलाई साथ दिने छैनन् । जनताले साथ नदिएको खण्डमा उनीहरूको मात्र प्रयासले बालेन सरकारको दाल गल्ने कति पनि सम्भव छैन । पुराना दलका नेताहरुको शासन भनेको देश र जनताको भलाइका खातिर नभएर देश दोहन र जनता दोहनको मूल उद्देश्यका साथ अगाडि बढेको हुँदो रहेछ । त्यस कारण आफूले गरेका गल्तीको सही समीक्षा नगरी पुराना दलहरू सक्किने बाटोतिरै लागेको कुरा आम जनताले पनि अनुभूत गर्न थालेका छन् । देश र जनतालाई धोका दिएर सम्पत्तिको मोहमा लटरपटर गर्ने नेतालाई विगतका धेरै वर्षसम्म नेपाली जनताले धेरै माया गरेर खुवाइ–पियाइका साथै आफूले गाँस कटाएर बचाएको पैसाले तिरेको लेबीको उनीहरूले चरम दुरुपयोग गरेका रहेछन् भन्ने कुरा आजका दिनमा उनीहरुका हर्कतले एक–एक गरेर देखाउँदै छ । यदि आज पनि जनताले दया गरेर यिनलाई क्षमा दिई पुनः सत्ताको कुर्सीमा विराजमान गराइयो भने यिनले विगतको भन्दा पनि तीव्र गतिको होडबाजीमा देश लुटेर सक्नेछन् ।

पुराना राजनीतिक दल सबै एकै भएर लागिपरे पनि नेपाली जनताले साथ दिएनन् भने उनीहरुको झनै हबिगत हुनेछ भन्ने कुरा ख्याल राख्नुपर्नेछ । यिनकै शासनकालमा निर्ममतापूर्वक हत्या गराइएकी निर्मला पन्तको हत्यारा पनि अब चाँडो पत्ता लगाएर सख्त कार्यवाही गर्नुपर्ने हुन्छ । कमरेड मदन भण्डारी जसले आफ्नो राजनीतिक कर्मबाट आम नेपाली जनताको मन जित्न सफल भएका थिए, त्यस्ता व्यक्तिलाई त्रिशूली नदीमा सवारीसाधन दुर्घटनाको नाटक रचेर निर्ममताका साथ हत्या गर्ने काम भएको छ । बालेन सरकारले यी दुवै रहस्यमय हत्याका घटना दूधको दूध पानीको पानी गरी केलाएर वास्तविक अपराधीलाई उचित दण्ड–सजाय गर्नै बाँकी छ ।

बीपी कोइरालाको फोटो भजाएर होस् कि माक्र्स, एन्गेल्सको फोटो भजाएर होस्, जनतालाई गुमराहमा राखी देश लुट्ने काम भएको छ । उनीहरुका लागि शासनको कुर्सीमा बसेको सय दिनको समय रिबन काट्न र उद्घाटन गर्नमा बित्थ्यो । त्यसैलाई पनि उनीहरू ठूलै उपलब्धि मान्थे । विदेश भ्रमणमा गएको जम्बो टोलीले देशको ढुकुटी रित्याउँथ्यो तर उपलब्धि भने शून्य हात पथ्र्यो, तैपनि आफूहरुका लागि उक्त विदेश भ्रमण कोसे ढुङ्गा साबित भएको छ भनेर दाबी गर्थे । कोभिडको महामारीले धेरै नेपालीको ज्यान लियो तर विदेशले जनताको राहतका लागि भनेर दिएको दानले पहुँचवाला नेताका घर भरिन्थे । त्यस्तै भूकम्पले धेरैलाई घरबारविहीन बनायो । यो अवसरमा पनि तत्कालीन शासकले सकेको र भ्याएको जति देश लुटेरै छाडे । अरु कुरा के भयो र ? बिरामीले खाएर निको हुने औषधिमा समेत घोटाला गरेर आफ्नै पेट भर्न कुनै कसर बाँकी राखेनन् ।

यसरी चारैतिर देश र जनता लुटेर मोटाएका पूर्वशासकहरू यति बेला महासंकटको घडीमा छन् । अबका दिनमा लहरो तान्दा पहरो गर्जने अवस्थामा पुगेको छ । सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान अबका दिनमा सार्थक हुन छाड्दै छ । यसै विषम अवस्थाले यिनको मानसिकतालाई क्रमशः डढाउँदै लगेको छ । वनको बाघले नखाए पनि मनको बाघले नराम्ररी गाँजिसकेको छ । यिनको निदहराम भएको छ । एउटा टिठ लाग्दो अनुहारमा मुर्झाएका अनुहारमा पनि उही बाघको गर्जन घोलेर बोल्दै छन् यिनीहरु । गुहार–गुहारको ध्वनि यिनका मानसबाट उत्पन्न भएर शून्यमा बिलाउँदै छ । मनभित्रैदेखि पोल्दै छ । तनको कुन भागमा पोल्दै छ कुन्नि, यिनले ठम्याउन सकिरहेका छैनन् ।

हरे शिव ! हिजोसम्म शासनको त्यो शान–सौकात ! अघि–पछि सयौँ कार्यकर्ताको लर्को, सलाम ! आदेशको भरमा गोप्य भण्डारमा पैसाका बिटा कोचिन्थे । क्या तामझामका दिन थिए ती ! आजै यो निरीहताको अवस्था कसरी पल्टियो ? त्यो दिन आज सपना भयो, आदर–सत्कारका साथ सलाम गर्ने प्रहरी बबुरोले समेत नफरत गर्ने दिन आयो । जेलको छिँडीमा बस्नुपर्ने दिन आयो ।

हरे शिव ! हिजोसम्म शासनको त्यो शान–सौकात ! अघि–पछि सयौँ कार्यकर्ताको लर्को, सलाम ! आदेशको भरमा गोप्य भण्डारमा पैसाका बिटा कोचिन्थे । क्या तामझामका दिन थिए ती ! आजै यो निरीहताको अवस्था कसरी पल्टियो ? त्यो दिन आज सपना भयो, आदर–सत्कारका साथ सलाम गर्ने प्रहरी बबुरोले समेत नफरत गर्ने दिन आयो । जेलको छिँडीमा बस्नुपर्ने दिन आयो ।

भदौ २४ को कहाली लाग्दो वातावरण ! झन्डै ज्यानकै जोखिमको अवस्था आएको थियो । धन्न सेनाले बचायो, प्रहरीले बचायो र पो ज्यान बाँच्यो । सकुशल ज्यान त छ अझै । तर सत्ता गयो । सत्ता गएर केही हुनेवाला थिएन । छानबिन गनुपर्ने किन होला ? कस्तो हठी ठिटो रहेछ ? विदेशीको चम्चा हुन पाइएकै थियो । यता जनताको आँखामा पनि त छारो कोचिएकै र चारो पोखिएकै थियो नि ! केवल आफूले मात्रै हसुरेको त होइन नि ! तर के गर्नु, पृथ्वी गोलो छ भनेर कक्षा ७–८ तिरै पढेको हो । पृथ्वी गोलो भएकै कारण हाम्रो पोल खुलेको हो त ? होइन, जनता र देशलाई रुवाउने वा दुःख दिने काम पाप कर्म हो, पाप कर्म गरेपछि त्यसको फल भोग्नै पर्छ । यो मन त कहाँ मानेको छ र ? तर यसो चित्त बुझाउने बाटो वा ….को न्यानो । केही बेर भए पनि पीडाले भरिएको यो मानसलाई शीतल बनाउँछ । भगवान्, जति जे भए पनि त्यो फलानो हत्याको रहस्यचाहिँ नखुले हुन्थ्यो । फलानाले पोल लाउला कि ? आ जीवनमा केही समय भए पनि मस्ती गरिहालियो । अब कार्यवाही भोग्नै परे पनि भोगौँला । होइन त्यो फलानो के गरेर बस्दै छ ? छिटो पार्टी एकता गरौँ र कसरी जोगिने उपाय खोजौँ भनेको । उसलाई हतारै छैन । आफूचहिँ निर्दोष नै भएको जस्तो । पुराना राजनीतिक दलका विगतका सत्तारोहण गर्ने र भ्रष्टाचारको आहालमा पौडी खेल्ने शीर्ष नेताको सोचाइको पारो यस्तो रहेको छ ।

पुराना नेताहरूको अन्तिम गुहार बालेन सरकारले सुन्ला र अपराध गर्नेलाई छुट देला कि भन्ने सोचाइ पनि केहीको मानसमा उत्पन्न हुनसक्छ । त्यसकारण सरकारले तिनको अन्तिम गुहार सुन्नु, भावुक बनेर तिनलाई छुट दिने काम कहिल्यै गर्नेछैन भन्ने कुरामा आम जनता आश्वस्त हुनुपरेको छ । पुराना राजनीतिक दलको गुहार आम जनताले विगतमा ध्यानका साथ सुनेर तिनैलाई विश्वास गरेका थिए । चुनावमा भोट दिएर बहुमतमा जिताएका थिए । तर बहुमतको भार थाम्न नसकेर बहुलाउने अनि धैर्यधारणको साटो अधैर्य भएर जथाभावी गर्नाले जनताको विश्वास एक–एक गरेर टुट्दै गएको हो । यसरी विश्वास टुटेपछि ती राजनीतिक दलप्रति समाजको हेर्ने दृष्टि पनि फरक हुने कुरा मननीय छ ।