शिक्षा, परम्परा र अटिजमको कथा एकसाथ


ह्यारीकी प्यारीपछि डा. कपिल रिजालद्वारा निर्देशित दोस्रो फिल्म गौंथलीको ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी साउन १ गतेबाट रिलिजमा आउने फिल्मको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले ग्रामीण परिवेशमा एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष, वैवाहिक जीवनका चुनौती र अटिजम भएका श्रीमान्संगको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। ट्रेलरमा विवाह गर्न नचाहेकी एक युवतीले परिवारको आग्रह र सामाजिक प्रतिष्ठाका कारण सम्झौता गर्नुपरेको परिस्थितिबाट सुरु हुने कथालाई खुलाएको छ। त्यसपछि अटिजमबाट प्रभावित युवकसंग विवाह गरेपछि उनले भोग्नुपरेका मानसिक, सामाजिक र पारिवारिक संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ।

मुख्य पात्रका रूपमा रहेका अरुण क्षेत्रीले स्वास्थ्य अवस्थाका कारण देखाउने असामान्य व्यवहार र त्यसलाई स्वीकार्दै अघि बढ्न खोजेकी सिम्रन खड्काको संघर्ष ट्रेलरको केन्द्रमा छ। सिम्रनले पढाइलाई निरन्तरता दिन गरेको प्रयास, त्यसमा आफ्नै परिवारबाट सिर्जना हुने अवरोध र पुरातन सोचका कारण उनका सपना कसरी प्रभावित हुन्छन् भन्ने पक्षलाई पनि ट्रेलरले उजागर गरेको छ।

महिलाले महिलालाई नै साथ नंदिदा उत्पन्न हुने समस्या, परम्परागत मान्यता, सामाजिक दबाब र फरक क्षमता भएका व्यक्तिप्रतिको समाजको दृष्टिकोणलाई समेत ट्रेलरले समेटेको छ। कथावस्तु, कलाकारहरूको अभिनय र ग्रामीण परिवेशको प्रस्तुतिले ट्रेलरलाई प्रभावशाली बनाएको छ।

फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासंगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीलगायतले अभिनय गरेका छन्। डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कु“वर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माता हुन्। लेखनः डा. कपिल रिजाल, निश्चल कु“वर, निरज नेपाल, गिरिराज घिमिरे, गीत र संगीत शम्भुजीत बा“सकोटा, थानेश्वर गौतम, प्रशान्त सिवाकोटी, कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमाली, पाश्र्व संगीत एलिस कार्की छाया“कन हरि हुमागाईं, कलरः राजेन्द्र मोक्तान र सम्पादनः मिलन श्रेष्ठको रहेको छ।