धादिङ ।
जिल्ला अनुगमन समितिले बजार अनुगमनलाई निरन्तरता दिँदै हाेटल व्यवसायि संघका केन्द्रीय सचिव र जिल्ला अध्यक्षले सञ्चालन गरेकाे हाेटलमा खानेकुरामा किरा भेटिएपछि जरिवाना गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा गरिएको बजार तथा होटल अनुगमनका क्रममा राजमार्ग क्षेत्रका होटल तथा खाजा पसलहरूको अवस्था अत्यन्तै दयनीय भेटिएपछि तीन होटललाई जरिवाना गरिएको छ। अनुगमनका क्रममा फ्रिजमा राखिएका खानेकुरामा किरा परेको, बासी तथा फोहोर खाना बिक्री भइरहेको जस्ता गम्भीर कैफियत भेटिएपछि कारबाही गरिएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको नेतृत्वमा जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्ग आसपासका होटल तथा खाजा पसलहरूमा गरेको अनुगमनमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका लापरबाही देखिएको जनाएको छ।
अनुगमनका क्रममा जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवाल सञ्चालक रहेको बेनिघाट रोराङ गाउँपालिका–३ सितलबजारस्थित होटल तीनभाइलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त होटलमा बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको तथा सरसफाइको अवस्था कमजोर भेटिएको अनुगमन टाेलीका सदस्यसचिव उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरिले बताउनुभयाे ।
त्यसैगरी होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापाले सञ्चालन गरेको बेनिघाट रोराङ–३ सलाङघाटस्थित सफल होटल लाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। होटलको फ्रिजभित्र राखिएको खानेकुरामा समेत किरा परेको भेटिएपछि कारबाही गरिएको जनाइएको छ। सरसफाइ नभएकाे र हाेटल जताततै फाेहाेर भेटिएको हाे ।
यस्तै बेनिघाट रोराङ–३ सितलबजारस्थित ब्लु ह्यावन होटललाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त होटलमा बिक्रीका लागि राखिएको खानेकुरामा किरा परेको, फ्रिजभित्र राखिएका सामग्रीमा समेत किरा देखिएको तथा अत्यन्त फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ। यसअघि गरिएको अनुगमनमा समेत उक्त होटलमा कैफियत देखिएको कारण पुनः कडा कारबाही गरिएको बताइएको छ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयसँगै प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, धादिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रमेश अधिकारी तथा राष्ट्रिय उपभोक्ता मञ्च धादिङका अध्यक्ष नारायणलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
अनुगमन टोलीले राजमार्ग क्षेत्रमा यात्रु तथा उपभोक्तालाई सेवा दिने होटल तथा रेस्टुरेन्टहरूले सरसफाइ र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।
राजमार्ग क्षेत्रमा यात्रुको ठूलो चाप रहने भएकाले गुणस्तरहीन तथा अस्वस्थकर खाद्य सामग्री बिक्रीले सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै यस्ता अनुगमनलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइने प्रशासनले जनाएको छ।











प्रतिक्रिया