वान टाइम थुरम्यान ट्राइनेसन बक्सिङ च्याम्पियनसिप सम्पन्न


काठमाडौं । 

ललितपुरमा नेपाल प्रो बक्सिङ कमिसनको नियमन तथा ‘इस्का नेपाल’ र ‘म्याक्स प्रोमोसन’को संयुक्त आयोजनामा आयोजित दुईदिने ‘वान टाइम थुरम्यान ट्राइनेसन बक्सिङ च्याम्पियनसिप’ भव्य रूपमा सम्पन्न भएको छ । 

शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका मुक्केबाजहरूको सहभागिता रहेको थियो भने (डब्ल्युबीसी) एमेच्योर र फ्लोरिडा एमेच्योर बक्सिङ फेडेरेसनको समेत सहकार्य रहेको थियो । कुल २२ वटा खेल समावेश गरिएको यस प्रतियोगिताको शनिबार सम्पन्न समापन समारोहमा पूर्वमन्त्री एवं सांसद जगदीश खरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने विश्व च्याम्पियन केथ थुरम्यान र महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनको पनि आतिथ्य रहेको थियो । 

प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेका व्यावसायिक बाउतहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो । जसमा बंगलादेशी बक्सरले नेपाली बक्सर उमंग खत्रीलाई नकआउटका आधारमा पराजित गरे भने अर्को प्रो बाउतमा नेपाली बक्सर अशोक तामाङले भारतीय बक्सरलाई नकआउटकै आधारमा पराजित गर्दै आफ्नो श्रेष्ठता प्रमाणित गरे । 

नेपाल प्रो बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापतिको सभापतित्व र म्याक्स बस्नेतको मुख्य संयोजनमा सञ्चालित उक्त प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने आर्थिक तथा भौतिक दाताहरू, प्राविधिक टोली, रेफ्री, जज र मेडिकल टिमलाई अतिथिका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने विजयी खेलाडीहरूलाई पुरस्कार तथा मेडल वितरण गरी कार्यक्रमको समापन गरिएको थियो ।