काठमाडौं।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त हुनुभएको छ ।
असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका १५ जना अधिकृतको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्दै डा. सुवेदीलाई कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो ।
डा. सुवेदी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । लामो समयदेखि सार्वजनिक स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा सक्रिय रहनुभएका उहाँलाई प्रदेशको स्वास्थ्य नेतृत्वको जिम्मेवारी दिइएको हो ।
यसैगरी, हाल कोशी प्रदेशमा स्वास्थ्य सचिवका रूपमा कार्यरत डा. यदुचन्द्र घिमिरेलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा फिर्ता बोलाइएको छ । यस्तै, मधेश प्रदेश अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत आयुर्वेद समूहका डा. रामआधार यादवलाई पनि फिर्ता बोलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत एघारौँ तहका १५ जना अधिकृतको सरुवा तथा जिम्मेवारी हेरफेर गरिएको हो ।











प्रतिक्रिया