काठमाडौं ।
उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले राणाका ऐतिहासिक उपन्यासका विषयमा विद्यावारिधि गरेका डा। टीकाराम पोखरेल, उनका विषयमा ‘डायमनश्री’ महाकाव्य लेखेका माधव वियोगी र राणाका विषयमा खोज अनुसन्धान गरेका उपप्राध्यावक डा। विष्णु न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान÷पुरस्कार प्रदान गरेको छ ।
डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोगको सीमा, त्यसको ऐतिहासिकता र ऐतिहासिक उपन्यासमा औपन्यासिक शिल्प र कलाको तादाम्यता कसरी हुनुपर्छ र इतिहास र उपन्यास बिचको सन्तुलन कसरी कायम गर्नुपर्छ भन्ने कुराको सैद्धान्तिक आधारमा पोखरेलले डायमनशमशेरको उपन्यासहरुको अध्ययन गरी वि। सं। २०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो ।
यसैगरी वियोगीले डायमनशमशेरको जीवनी र कृतिलाई आधार मानी डायमनशमशेरलाई महाकाव्यको नायकको रुपमा उभ्याई डायमनश्री महाकाव्य लेख्नुभएको हो भने अर्का पुरस्कृत व्यक्तित्व न्यौपानेले डायमनशमशेरको जीवनी व्यक्तित्व र कृतित्वको बारेमा अनुसन्धानमुलक पुस्तक तयार गर्नुभएको हो ।
पुरस्कृत तीनैजनालाई जनही २५ हजार नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियो । त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा। डा। कुलप्रसाद कोइरालाले ऐतिहासिक उपन्यास लेखनका साथै नेपालमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापनामा राणा परिवारले पु¥याएको योगदान महत्त्वपूर्ण रहेको र ऐतिहासिक उपन्यास लेखनमा डायमनशमशेरसँग तुलना गर्न योग्य अर्को उपन्यासकार नेपालमा अरू नभएको उनले बताए ।
साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले प्रजातन्त्र स्थापनाका लागि लाग्दा डायमनशमशेरको जग्गा सर्वस्वहरणमा परे पनि अहिलेसम्म चर्चा नगुमेको बताए भने समालोचक प्रा। डा। गोविन्दराज भट्टराईले ‘म्याजिक रियालिजम’ अर्थात् चामत्कारिक यथार्थवादमा आधारित भएर डायमनशमशेरले गृहप्रवेश उपन्यास लेखेको बताए ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व पोखरेलले डायमनशमशेर राणाका उपन्यासमा ऐतिहासिक तत्व र औपन्यासिक कलाको सन्तुलन भएकाले नै डायमनशमशेरका उपन्यास नेपाली ऐतिहासिक उपन्यासका क्षेत्रमा शिखरमा रहेको बताए । वियोगीले आफ्ना महाकाव्यमा डायमनशमशेरलाई नायक बनाउन पाउँदा गौरवानुभूति लागेको बताए भने न्यौपानेले डायमनशमशेरको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए ।











प्रतिक्रिया