भारतले दिएको दुईमहिने पाठ : चिया सङ्कटको समस्या परीक्षणमा थियो कि परनिर्भरतामा ?

376
Shares

–वार्षिक २ करोड ६५ लाख किलोग्राम चिया उत्पादन

–करिब ८६ प्रतिशत निर्यात भारतमा

–६० हजारभन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगारी

–अधिकांश चिया उद्योग भारतीय प्राविधिक जनशक्तिमा निर्भर

काठमाडौं।

करिब दुई महिनादेखि भारतीय सीमामा रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भैसकेको छ । भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले जुन २३ मा चिया आयातसम्बन्धी परीक्षण प्रणाली परिवर्तन गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागु गर्दै अबदेखि प्रत्येक खेपको सट्टा २० प्रतिशत कन्साइनमेन्टमा मात्रै एफएसएसएआईले छनोट गरेको नमुना परीक्षण गर्ने व्यवस्था गरेपछि जुन ३० देखि नेपाली चिया पुनः भारत जान थालेको हो ।
यो घटनाले तत्कालको समस्या समाधान गरे पनि नेपालको चिया उद्योगको एउटा कमजोरीलाई सतहमा ल्याइदिएको छ । त्यो हो, एउटै बजारमाथिको अत्यधिक निर्भरता। भारत नेपालको सबैभन्दा ठूलो र स्वाभाविक बजार हो । तर कुनै पनि मुलुकको निर्यात एउटा मात्र बजारमा अत्यधिक निर्भर हुँदा त्यसको व्यापारिक भविष्य आफ्नो उत्पादनभन्दा बढी अर्को देशको नीतिमा निर्भर हुन पुग्छ । नेपाली चियाको सन्दर्भमा पनि यही समस्या देखिएको हो ।

चिया निर्यात अवरोधको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले पनि भारतमा मात्र निर्भर रहने रणनीतिबाट क्रमशः बाहिर निस्कनुपर्ने निष्कर्ष निकालेको छ । कार्यदलका एक सदस्य राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालका अनुसार कार्यदलले चियाको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण प्रणाली विकास तथा वैकल्पिक अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिन सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब हाम्रो ध्यान चियाको गुणस्तर अझ सुधार गर्ने र बजारलाई विविधीकरण गर्नेमा केन्द्रित गर्नुपर्छ । चीन, पाकिस्तान, अमेरिका र युरोप नेपाली चियाका सम्भावित नयाँ बजार हुन् ।’ यद्यपि उहाँले भारत नेपाली चियाको प्रमुख बजार भएकाले त्यसलाई बेवास्ता गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार नेपालबाट निर्यात हुने करिब ८६ प्रतिशत चिया भारतमै जान्छ । नेपालमा वार्षिक २ करोड ६५ लाख किलोग्राम चिया उत्पादन हुन्छ । ६० हजारभन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको इलाम र झापाका अधिकांश चिया उद्योग अझै पनि भारतीय प्राविधिक जनशक्तिमा निर्भर रहेकाले पनि हाम्रो चिया क्षेत्रमा भारतको महत्व बढी रहेको उहाँको भनाइ थियो ।

भारतले गत मे १ देखि नेपालबाट आयात हुने चियामा प्रत्येक खेपको अनिवार्य नमुना परीक्षण लागू गरेपछि निर्यात लगभग ठप्प भएको थियो। लामो परीक्षण प्रक्रिया, ढिलाइ र बढ्दो लागतका कारण उद्योगीहरूले तयारी चिया निर्यात गर्न सकेनन् । झापा र इलामका उद्योगहरू बन्द हुने अवस्थामा पुगे भने हजारौँ किसान र मजदुर प्रत्यक्ष प्रभावित भएका थिए । सरकारको कूटनीतिक पहलपछि चिया निर्यात सहज बनेको हो ।

तर यो घटनालाई केवल एउटा व्यापारिक अवरोधका रूपमा मात्र हेरिनु यो क्षेत्रको दीर्घकालिन हितमा छैन । यो सङ्कटले नेपाललाई एउटा महत्वपूर्ण पाठ सिकाउँदै अब नेपालले आफ्नो निर्यात रणनीति पनि बदल्नुपर्ने बेला आएको जनाउ घन्टी दिएको छ ।