बक्स अफिसले ल्याएको पारदर्शिताको युग


नेपाली फिल्म उद्योगमा वर्षौंदेखि एउटा प्रश्नले लगातार विवाद जन्माइरहेको थियो– फिल्मले वास्तवमा कति कमायो ? कुनै फिल्म सफल भयो वा असफल भन्ने निष्कर्ष प्रायः तथ्यांकभन्दा बढी दाबी र प्रचारमा आधारित हुने गर्दथ्यो । निर्माता, वितरक र प्रदर्शकले आ– आफनैव्यापारिक हिसाब प्रस्तुत गर्ने गरेका कारण व्यापारिक यथार्थ प्रस्ट हुँदैनथ्यो ।

यही कारणले उद्योगभित्र अविश्वास, शंका र विवादको वातावरण पनि कायम रही रहन्थ्यो । देशभरका सिनेमा घरमा बक्स अफिस प्रणालीको जडान र त्यसको कार्यान्वयनसँगै भने नेपाली फिल्म उद्योगले पारदर्शिता र उत्तरदायित्वतर्फ महत्वपूर्ण कदम चालेको छ ।

केही वर्षअघिसम्म फिल्मको व्यापार मापन गर्ने कुनै पनि भरपर्दो र वैज्ञानिक संयन्त्र थिएन । निर्माताले आप्mनै खर्चमा विभिन्न सिनेमा हलमा चेकर खटाएर दर्शकको संख्या अनुमान गरी चित्त बुझाउनुपर्ने अवस्था थियो । चेकरको पनि भर नभएपछि कतिपय अवस्थामा निर्माताहरू स्वयं हल–हलमा पुगेर आफनो फिल्मको टिकट बिक्री भएको अवस्था बुझ्ने प्रयास गर्थे ।

तर यस्तो अभ्यास न त आधुनिक थियो, न त विश्वसनीय नै । दर्शकको टाउको गनेर तयार गरिने प्रतिवेदनले वास्तविक व्यापारको सही चित्र दिन सक्दैनथ्यो । अझ कतिपय अवस्थामा चेकरले नै प्रभाव र लोभमा परी तथ्यांक लुकाउने वा आफनो स्वार्थअनुसार प्रस्तुत गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनाउने गर्दथ्योे ।

देशभरका सिनेमाघरमा बक्स अफिस प्रणाली लागू भएपछि भने फिल्म व्यापारको अभिलेखीकरण डिजिटल माध्यमबाट हुन थालेको छ । प्रत्येक शोमा बिक्री भएका टिकट, दर्शक संख्या र कुल कलेक्सनको विवरण प्रणालीमा सुरक्षित रहने भएकाले तथ्यांकको विश्वसनीयता वृद्धि भएको छ । सम्बन्धित फिल्मका निर्माता, वितरक, प्रदर्शक तथा सरोकारवाला निकायले रियल–टाइम व्यापारिक अवस्था हेर्न सक्ने भएकाले अनुमान र आशंकाको ठाउँ क्रमशः समाप्त भएको छ ।

यसले उद्योगभित्रको अविश्वास हटाउन मद्दत पु¥याएको छ । यस प्रणालीको सबैभन्दा सकारात्मक प्रभाव हावादारी कलेक्सनको प्रचार संस्कृतिमा परेको देखिन्छ । विगतमा वास्तविक व्यापारभन्दा धेरै गुना रकम कमाएको दाबी गर्दै प्रचार गर्ने प्रवृत्ति उद्योगमा मौलाएको थियो । कहिलेकाहीँ यस्ता दाबीले दर्शकलाई भन्दा पनि बढी फिल्म निर्माणमा आउन चाहने नयाँ लगानीकर्तालाई आकर्षित गर्थे, तर दीर्घकालमा उद्योगको विश्वसनीयतालाई नै क्षति पु¥याइरहेको थियो ।

अहिले आधिकारिक तथ्यांक सार्वजनिक हुन थालेपछि व्यावसायिक सफलता र असफलताको मूल्यांकन तथ्यका आधारमा हुन थालेको छ । यसले स्वस्थ प्रतिस्पर्धा र व्यावसायिक अनुशासनलाई प्रोत्साहन गरेको छ ।
पारदर्शी तथ्यांकले लगानीकर्तालाई पनि ठूलो राहत दिएको छ । बजारको वास्तविक आकार, दर्शकको प्रवृत्ति र फिल्मको सम्भावित प्रतिफलबारे यथार्थ जानकारी प्राप्त हुँदा लगानीसम्बन्धी निर्णय बढी विवेकपूर्ण बन्न सक्छन् । यसले नयाँ लगानी आकर्षित गर्न र उद्योगलाई थप व्यावसायिक बनाउन सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ । सरकारी निकायका लागि पनि यस्ता तथ्यांक नीतिगत योजना निर्माण तथा कर प्रशासनलाई प्रभावकारी बनाउन उपयोगी बन्न सक्छन् ।

नेपाली फिल्म उद्योगले पारदर्शितातर्फ गरेको यो यात्रा महत्वपूर्ण उपलब्धि हो । तर पारदर्शिताको यो अभ्यासलाई अझ प्रभावकारी बनाउन बक्स अफिस प्रणालीको पूर्ण र कडाइका साथ कार्यान्वयन आवश्यक छ । कुनै पनि हल, वितरक वा सरोकारवाला पक्षले तथ्यांक लुकाउने अवस्था रहनुहुन्न । तथ्यांकको विश्वसनीयता नै यस प्रणालीको सबैभन्दा ठूलो शक्ति भएकाले त्यसको संरक्षणमा सबै पक्ष समानरूपमा जिम्मेवार बन्नुपर्छ ।

साथै, बक्स अफिसका तथ्यांकको विश्लेषण गर्ने र अध्ययनको आधार बनाउने संस्कृतिको विकास पनि आवश्यक छ । विकसित फिल्म उद्योगहरूमा जस्तै नेपालमा पनि व्यापारिक तथ्यांकले फिल्म निर्माण, प्रदर्शन रणनीति, लगानी व्यवस्थापन र बजार विस्तारका निर्णयलाई मार्गदर्शन गर्नुपर्छ । जब उद्योग तथ्यभन्दा अनुमानमा होइन, तथ्यांकमा आधारित भएर अघि बढ्छ, अनि मात्रै दीर्घकालीन विकास सम्भव हुन्छ । बक्स अफिस केवल प्रविधिको प्रयोग होइन, तथ्यांकमा आधारित, जवाफदेही र विश्वासयोग्य फिल्म उद्योग निर्माण गर्ने आधारस्तम्भ पनि हो ।