विश्वभर प्रभावकारी मानिएको विद्यालय–आधारित लैङ्गिक शिक्षाको अभ्यास नेपालमा पनि सफल, ललितपुरका विद्यालयमा देखियो सोच र व्यवहारमा सकारात्मक परिवर्तन
काठमाडौं ।
विद्यालय केवल पाठ्यपुस्तक पढाउने र परीक्षा पास गराउने संस्था मात्र होइन, समाजका लागि जिम्मेवार, संवेदनशील र समानताप्रेमी नागरिक तयार गर्ने आधार पनि हो । यही अवधारणालाई व्यवहारमा उतार्ने प्रयासस्वरूप ललितपुरका आदर्श शौल युवक माध्यमिक विद्यालय र त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ‘वी मेन क्लब’ ले किशोर केटाहरूमा लैङ्गिक समानता, सम्मान र जिम्मेवारीको नयाँ संस्कार विकास गर्न थालेको छ ।



नेपालमा अझै पनि पुरुषत्वलाई ‘कडा, भावनाविहीन र प्रभुत्वशाली’ हुनुपर्छ भन्ने पितृसत्तात्मक सोच गहिरो छ । केटाले रुनु हुँदैन, घरायसी काम महिलाको जिम्मा हो, महिलाभन्दा पुरुष शक्तिशाली हुन्छन् भन्ने धारणा बाल्यकालदेखि नै सिकाइन्छ । यही सोचले लैङ्गिक विभेद, हिंसा र असमानतालाई बल पु¥याइरहेको छ । विद्यालयस्तरमै यस्तो सोच परिवर्तन गर्न ‘वी मेन क्लब’ प्रभावकारी माध्यम बनेको देखिएको छ ।


संयुक्त राष्ट्रसंघीय निकाय यूएनएफपीए, युनिसेफ, युएन वुमेन तथा विश्वका विभिन्न देशमा सञ्चालन भएका मेनइन्गेज, कार्यक्रम र पुरुष मा कोचिंग मालिक, जस्ता कार्यक्रमहरूले किशोर केटाहरूलाई लैङ्गिक समानता, भावनात्मक स्वास्थ्य र सम्मानपूर्ण सम्बन्धबारे विद्यालयमै सिकाउँदा हिंसात्मक व्यवहार घट्ने, महिलाप्रतिको सम्मान बढ्ने र सकारात्मक पुरुषत्व विकास हुने निष्कर्ष सार्वजनिक गरिसकेका छन् । नेपालमा ‘वी मेन क्लब’ ले पनि यही अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्दै अघि बढिरहेको छ ।
क्लबको विशेषता भनेको परम्परागत कक्षाकोठा शिक्षाभन्दा फरक हुनु हो । यहाँ विद्यार्थीलाई केवल व्याख्यान सुनाइँदैन । २५ वटा सहभागितामूलक सिकाइ सत्रमार्फत उनीहरूलाई खेल, समूह छलफल, भिडियो प्रस्तुति, भूमिकानिर्वाह र अनुभव आदान–प्रदानमा सहभागी गराइन्छ । ती सत्रमा लैङ्गिक समानता, विषाक्त पुरुषत्व, सहमति, लैङ्गिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, साइबर सुरक्षा, अनलाइन उत्पीडन, एलजीबीटीक्यूआई अधिकार, भावनात्मक स्वास्थ्य, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वजस्ता विषय समेटिएका छन् ।
आदर्श शौल युवक माध्यमिक विद्यालयका क्लब फेसिलिटेटर सम्बित खड्काका अनुसार क्लबको उद्देश्य किशोर केटाहरूलाई महिलाको सम्मान गर्ने, समानतामा विश्वास गर्ने र जिम्मेवार नागरिकका रूपमा विकास गर्नु हो ।
“हामी विद्यार्थीलाई केवल व्याख्यान दिँदैनौ ं। उनीहरू आफैं सहभागी हुने गतिविधि, खेल, छलफल र अनुभव आदान–प्रदानबाट सिक्छन्,” उनले भने । उनका अनुसार क्लबले नारीवाद, पितृसत्ता, शक्ति संरचना, विशेषाधिकार र लैङ्गिक भूमिकाजस्ता विषयलाई पनि व्यवहारिक ढंगले बुझाउँछ । त्यसको प्रभाव विद्यालयमा मात्र नभई घर, परिवार र साथीभाइबीचको व्यवहारमा समेत देखिन थालेको छ ।
क्लबमा सहभागी भएका विद्यार्थीहरू आफूहरूको सोच र व्यवहारमा आएको परिवर्तन खुलेर सुनाउँछन् । कक्षा १० का दिक्षान्त शर्मा भन्छन्, “पहिले मलाई सेक्स र जेन्डर एउटै कुरा लाग्थ्यो । क्लबमा आएपछि थाहा भयो—सेक्स जन्मसँग जोडिएको जैविक कुरा हो भने जेन्डर समाजले निर्माण गरेको भूमिका रहेछ । फेमिनिजम महिलाको मात्र पक्ष होइन, महिला र पुरुष दुवैको समान अधिकार र सम्मानका लागि भएको आन्दोलन रहेछ । यसले मेरो धेरै भ्रम हटायो र समाजलाई हेर्ने दृष्टिकोण नै बदलिदियो ।”
त्यस्तै कक्षा ९ का क्यारोन ढंगोलका लागि क्लब फरक पहिचान भएका व्यक्तिप्रतिको दृष्टिकोण बदल्ने अवसर बन्यो । “पहिले फरक यौनिक पहिचान भएका साथीहरूलाई धेरैले जिस्काउने गर्थे । अब उनीहरू पनि हामीजस्तै अधिकार र सम्मानका हकदार नागरिक हुन् भन्ने बुझिएको छ,” उनले भने । उनका अनुसार क्लबबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने, अकाउन्ट ह्याक भएमा के गर्ने, कसरी रिपोर्ट गर्ने र साइबर ब्यूरोसँग सम्पर्क गर्ने भन्ने व्यावहारिक ज्ञान पनि प्राप्त भएको छ ।
त्यस्तै कक्षा १० का अनिष खड्गीले क्लबबाट मानसिक स्वास्थ्य, आफ्ना भावना व्यक्त गर्ने तरिका र लैङ्गिक हिंसाका विभिन्न स्वरूपबारे ज्ञान प्राप्त गरेको बताए । उनका अनुसार भावनालाई दबाएर राख्नु पुरुषत्व होइन भन्ने सन्देशले उनीजस्ता धेरै किशोरको सोच परिवर्तन गरेको छ ।
विद्यालयका शिक्षकहरूका अनुसार क्लब सञ्चालन भएपछि विद्यार्थीहरू कक्षाकोठामा बढी सक्रिय, खुला र आत्मविश्वासी भएका छन् । विभेदपूर्ण भाषा प्रयोग गर्ने प्रवृत्तिमा कमी आएको छ भने एकअर्काको विचार सुन्ने, सम्मान गर्ने र सहकार्य गर्ने संस्कार विकास हुँदै गएको छ ।
विशेषज्ञहरूका अनुसार किशोरावस्थामै सकारात्मक पुरुषत्व, लैङ्गिक समानता र भावनात्मक स्वास्थ्यबारे शिक्षा दिन सकिए भविष्यमा हुने लैङ्गिक हिंसा, घरेलु हिंसा, साइबर उत्पीडन र विभेदका घटना उल्लेखनीय रूपमा घटाउन सकिन्छ । त्यसैले ‘वी मेन क्लब’ जस्ता कार्यक्रमलाई केही विद्यालयमा सीमित नराखी देशभर विस्तार गर्न आवश्यक देखिएको छ ।
किताबी ज्ञानले मात्र सफल नागरिक निर्माण हुँदैन । समानता, सम्मान, सहिष्णुता र जिम्मेवारी सिकाउने यस्ता अभ्यासले नै भविष्यको सभ्य समाज निर्माण गर्ने आधार तयार गर्छन् । ललितपुरका दुई विद्यालयमा देखिएको परिवर्तनले विद्यालय शिक्षा केवल परीक्षा केन्द्रित नभई जीवन उपयोगी सीप र मूल्य निर्माणतर्फ उन्मुख हुनुपर्ने सन्देश दिएको छ ।











प्रतिक्रिया