घरमा सर्प आयो ? महानगरलाई खबर गर्नुस्

राजधानीमा बढ्न थाले सर्प, उद्धार गर्न भ्याई नभ्याई

5.17k
Shares

-एक वर्षमा १ सयभन्दा बढी सर्पको उद्धार

काठमाडौँ।

राजधानीमा सर्पको बिगबिगी बढ्न थालेपछि काठमाडौं महानगरपालिका प्रहरी बलले नगरप्रहरीलाई सर्प उद्धारक तालिम दिएर सर्प उद्धार गर्न सिकाएको छ । कामपाका १० सर्प उद्धारक प्रहरीले बितेको एक वर्षमा सयभन्दा बढी सर्पको उद्धार गरेका छन् ।

कामपा प्रहरी बलको कन्ट्रोल रूममा फोन आएपछि तालिम लिएका प्रहरीलाई सर्प उद्धार गर्न पठाउने गरेको जानकारी दिँदै कामपा प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले पछिल्लो एक वर्षमा कामपा प्रहरीले महानगर क्षेत्रबाट सर्प उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विपद्को समयमा सबै प्रकारका उद्धार गर्ने कामपा प्रहरीको कर्तव्य हो, अन्य वन्यजन्तुसँगै हामीले सर्प उद्धार सुरु गरेका हौं ।’ कामपा सर्पदंश टोलीले कलंकी, बालाजु, कुलेश्वर, वनस्थली, स्वयम्भु, नरदेवी, वालुबाटार, त्रिपुरेश्वर, महाराजगञ्ज, सोल्टीमोडलगायत क्षेत्रबाट सयभन्दा बढी सर्प उद्धार गरेको छ । टोलीले ती स्थानबाट धामन, ह¥यौ र चिचिण्डे सर्पको उद्धार गरेको जनाएको छ । नगर प्रहरी बलले घरको शौचालय, स्कुटर, मोटरसाईकलबाट सर्पको उद्धार गरेको हो ।

सर्पदंशको तालिम लिएर सर्पउद्धारक बनेका कामपा प्रहरी असई सुकविर तामाङले कन्ट्रोल रुमबाट जानकारी आउनासाथ सर्प उद्धार गर्न पुग्ने गरेको जानकारी दिँदै भन्नुभयो– ‘बालाजुमा ३ दिने तालिम लिएका थियौं, त्यसपछि सर्प उद्धार गर्न फिल्डमा खटियौं ।’ सुरुमा सर्प देख्दा पनि डर लाग्ने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो– ‘ओहो सर्प देख्नासाथ टोकेर मार्ला कि भन्ने डर थियो, अहिले त तत्काल उद्धार गर्न सक्ने भएका छांै ।’ उहाँको अनुसार घर, सवारीसाधन वा अन्य कुनै स्थानमा लुकेर बसेका सर्पलाई जानकारी पाएको केहीबेरमै उद्धार गरेर नजिकैको खुलाक्षेत्र वा जंगलमा छाड्ने गरिएको छ । उहाँले बितेको एक वर्षमा सर्प, बिरालो, कुकुर, गाईलगायत पशुपंक्षीको उद्धार गर्ने काम बढिरहेको बताउनुभयो ।

राजधानीमा अधिकांश क्षेत्रबाट उद्धार गरेका सर्प विष नभएको पाइए पनि ती सर्पले टोक्दा अनिवार्य रूपमा उपचार गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘कहिलेकाहीँ गोमन, करेतलगायत अन्य सर्पले टोकेजस्तो तत्काल मृत्यु हुनेसम्मको घटना भएका छन् । यद्यपि, त्यस्ता सर्प राजधानीमा देखिएको छैन । तालिमको दौरानमा हामीलाई तालिम दिएका उद्धारकले विषालु सर्प फेला परे तत्काल आफूलाई जानकारी दिन अनुरोध गर्नुभएकोले विषालु सर्प देखापरेमा सर्प विशेषज्ञ वा प्रशिक्षकलाई जानकारी गराउने गरेका छौं ।’

उहाँले केही महिनाअघि बुढानीलकण्ठ, टोखा र ललितपुरमा गोमन सर्प फेला परेको र सर्पविज्ञले विषालु सर्पलाई तत्कालै उद्धार गरेको बताउनुभयो ।
सुरुमा सर्प देख्नासाथ डर लाग्ने गरे पनि तालिम लिएर उद्धारक भएपछि साथीजस्तै लाग्न थालेको अनुभव सुनाउँदै अर्का सर्प उद्धारक ललिता कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कसैले उद्धार गर्न बोलाएमा खुसी लाग्छ, तत्कालै उद्धार गरिदिन्छु ।’ राजधानीमा करिब १० वटाजति सर्प उद्धार गरिसक्नुभएका उद्धारक प्रहरी जवान कार्कीले सुरुमा सर्पको पहिचान गरेरमात्र उद्धार गर्ने गरेको जानकारी दिँदै भन्नुभयो– ‘कामपाको कन्ट्रोलमा फोन आउँछ । सर्प भेटेको जानकारी भिडियोबाट हुन्छ । भिडियो हेरेपछि सर्प पहिचान गर्नेछांै, अनिमात्र उद्धारमा खटिन्छौं ।’

कामपाले उद्धार गरेका सबै सर्प सोही क्षेत्रवरपर खाली स्थान र जंगलमा छाड्ने गरेको छ । जुन क्षेत्रमा देखिएको छ, त्यही स्थानको वातावरणमा सर्प घुलमिल हुन्छ, अन्यथा उनीहरू मर्ने डर हुन्छ । कामपा नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले उद्धार गरेका सर्पलाई उनीहरू बसेको क्षेत्र पहिचान गरेरमात्र छाड्ने गरेको जानकारी दिँदै भन्नुभयो– ‘अरू स्थानमा छाड्दा हावापानी मिल्दैन । नबाँच्न पनि सक्छन् । त्यसैले जहाँ उद्धार गरेका छौं । सोहीक्षेत्र वरपर छाड्ने गरेको छ ।’

सर्प उद्धारकहरूका अनुसार सर्प उद्धार गर्न पञ्जा, अक्सिजन मास्क, सर्प उद्धार गर्न बनाइएको स्टिल स्टिक र स्नेक रेस्क्यु ब्याग प्रयोग गर्नुपर्छ । खाइरहेको बेला सर्प उद्धार गर्न घातक हुन सक्छ, माया गरेर लठ्ठीको सहारामा बिस्तारै उद्धार गर्नुपर्छ । उद्धार गर्नेक्रममा अप्रिय घटना हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने उद्धारक प्रहरीको भनाइ छ ।