तराईमा ४० डिग्री नाघ्यो, अस्पतालमा बिरामी बढे

राहतको आशा अझै केही दिन पर

282
Shares

काठमाडौं ।

सामान्यतया जुन १३ (जेठ अन्तिम साता÷असार पहिलो साता) तिर पूर्वी नेपालबाट मनसुन भित्रने गरे पनि यस वर्ष असारको पहिलो साता बित्न लाग्दासमेत मनसुन नेपाल प्रवेश गर्न सकेको छैन । मनसुन ढिलाइसँगै तराई–मधेसदेखि पश्चिम नेपालसम्म अत्यधिक गर्मी बढेको छ भने केही स्थानमा स्थानीय वर्षा भए पनि देशका अधिकांश भूभागमा गर्मी र सुक्खापनले जनजीवन कष्टकर बनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष तापक्रम औसतभन्दा बढी रहने तथा वर्षा कम हुन सक्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

विभागका अनुसार भू–उपग्रह तथ्यांक र मौसमी प्रणालीको विश्लेषणले मनसुन अझै केही दिन ढिला हुने देखाएको छ । नेपालमा मनसुन प्रवेशको सरदर मिति जुन १३ भए पनि हालसम्म आवश्यक मौसमीय अवस्था नबनेकाले मनसुन भित्रिन समय लागेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले केही दिनअघि जारी गरेको विशेष बुलेटिनमा कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका १४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार तराईका केही क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने भैरहवामा ४१ डिग्री सेल्सियस र नेपालगञ्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

विभागको एकीकृत मौसम ड्यासबोर्डमा पछिल्ला दिनहरूमा भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमरा, धनगढी र वीरगञ्जलगायतका क्षेत्र लगातार अत्यधिक तातो क्षेत्रका रूपमा देखिएका छन् । मौसमविद्हरूका अनुसार हाल देखिएको गर्मी सामान्य मौसमी चक्रको परिणाममात्र होइन, प्रशान्त महासागर क्षेत्रमा विकसित भइरहेको एल–निनो अवस्थासँग पनि जोडिएको छ । एल–निनोका कारण दक्षिण एसियामा मनसुन कमजोर हुने, वर्षा घट्ने र तापक्रम बढ्ने सम्भावना रहने अध्ययनहरूले देखाएको छ ।

जल तथा मौसम विज्ञान विभागले राष्ट्रिय मनसुन पूर्वानुमान सार्वजनिक गर्दै यस वर्ष नेपालका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा र औसतभन्दा बढी तापक्रम रहने सम्भावना औँल्याएको थियो । विभागका अनुसार लुम्बिनीका अधिकांश भूभाग, कर्णालीका दक्षिणी क्षेत्र, मधेसका पूर्वी जिल्ला तथा कोशीका दक्षिणी क्षेत्रमा कम वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।

विभागका मौसमविद् सुदर्शन हुमागाईंले आगामी मनसुन अवधिमा देशका धेरै क्षेत्रमा वर्षा कम र तापक्रम उच्च रहने सम्भावना रहेको बताउनु भएको छ ।

विभागले हालै जारी गरेको सूचनामा मनसुन प्रणाली नेपाल नजिक आइरहेको भए पनि देश प्रवेश गर्न अझै केही दिन लाग्ने उल्लेख गरेको छ । मौसमविद्हरूका अनुसार बंगालको खाडी र अरब सागर क्षेत्रको प्रणाली थप सक्रिय भएमा आगामी केही दिनभित्र पूर्वी नेपालबाट मनसुन भित्रिन सक्ने सम्भावना छ ।

नेपालमा सामान्यतया पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन पश्चिमतर्फ फैलिन करिब एकदेखि दुई सातासम्म लाग्ने गर्छ । तर, यस वर्षको ढिलाइले धान रोपाइँदेखि खानेपानी व्यवस्थापनसम्म असर पार्न थालेको छ ।

अत्यधिक गर्मीका कारण अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको चिकित्सकहरू बताउँछन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल तथा तराईका प्रमुख अस्पतालहरूमा डिहाइड्रेसन, झाडापखाला, ज्वरो, रक्तचाप असन्तुलन, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या बढेको चिकित्सकहरूले बताएका छन् ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा छन् । चिकित्सकहरूका अनुसार शरीरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि ‘हिटस्ट्रोक’ अर्थात् लू लाग्ने जोखिम अत्यधिक बढ्छ । यस्तो अवस्थामा मस्तिष्क, मुटु, मिर्गौलालगायत महत्वपूर्ण अंगहरूमा गम्भीर क्षति पुग्न सक्छ र समयमै उपचार नपाए मृत्युसमेत हुन सक्छ ।

यो संकटको भार सबैले समान रूपमा बोकिरहेका छैनन् । आर्थिक रूपमा सम्पन्न वर्ग एयर कन्डिसनर र चिसो वातावरणमा बस्न सक्ने अवस्थामा छन् । तर सुकुम्बासी बस्तीका बासिन्दा, निर्माण मजदुर, किसान, रिक्सा चालक, डेलिभरी राइडर, ट्राफिक प्रहरी तथा सडकमा काम गर्ने श्रमिकहरूका लागि यो गर्मी प्रत्यक्ष जीवन, मरणको चुनौती बनेको छ ।

मधेस र लुम्बिनी प्रदेशका खेतबारीमा काम गर्ने किसानहरू घामको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले जोखिममा छन् । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा केन्द्र टाढा हुनु, चिसो वातावरणको अभाव तथा पर्याप्त खानेपानी नहुनुले जोखिम अझ बढाएको छ ।

नेपालमात्र होइन, भारत, पाकिस्तान र बंगलादेशलगायत दक्षिण एसियाली मुलुकहरू पनि अहिले असामान्य गर्मीको सामना गरिरहेका छन् । भारतका धेरै राज्यमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने कतिपय क्षेत्रमा मनसुनको आगमन ढिला भएको छ । भारतको महाराष्ट्र वरिपरिका क्षेत्रमा मनसुन ढिलाइसँगै ४२ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको भारतीय मौसम विभागले जनाएको छ ।