धार्मिक सिरियल ‘रामायण’ मा सीताको भूमिकाले परिचित बनेकी अभिनेत्री दीपिका चिखलिया लामो समयपछि सार्वजनिक रूपमा देखिएकी छिन्। उनको उपस्थिति देख्नासाथ फ्यानहरूले आज पनि उनलाई ‘सीता माता’ कै रूपमा सम्मान व्यक्त गरेका छन्।
हालै सार्वजनिक भएको एक भिडियोमा दीपिका आधुनिक पहिरनमा देखिएकी छन्। उनी जिन्स, सेतो सर्ट र कालो चश्मामा सहज शैलीमा देखिए पनि दर्शकहरूले उनलाई पुरानै ‘सीता’ को छविसँग जोडेर प्रतिक्रिया दिएका छन्। भिडियोमा उनलाई देख्नेबित्तिकै धेरै प्रशंसकहरूले हात जोडेर अभिवादन गरेका थिए। सो अवसरमा दीपिकाले पनि मुस्कुराउँदै ‘जय श्री राम’ भन्दै प्रतिक्रिया दिएको देखिन्छ।
यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्चा फेरि चुलिएको छ। धेरै प्रयोगकर्ताले उनलाई अझै पनि ‘असली सीता माता’ भन्दै सम्मान व्यक्त गरेका छन् भने कतिपयले उनको सरलता र शालीनतालाई आज पनि उत्तिकै प्रभावशाली रहेको बताएका छन्।
यसैबीच, एक पुरानो अन्तर्वार्तामा दीपिकाले आफूलाई टेलिभिजनमा सीताको आमा कौशल्याको भूमिका प्रस्ताव गरिएको तर अस्वीकार गरेको खुलासा गरेकी थिइन्। उनका अनुसार परिवारबाट पनि आफ्नो पहिचान सीताको रूपमा नै स्थापित भइसकेकोले त्यो छवि जोगाइराख्न सुझाव आएको थियो।
दीपिकाले करिब तीन दशकभन्दा लामो समयदेखि सीताको छविसँग जोडिएको सम्मानलाई आफूले जिम्मेवारीका रूपमा लिएको बताउँदै आफ्नो सार्वजनिक पहिचान परिवर्तन गर्ने इच्छा नभएको उल्लेख गरेकी छिन्। दर्शकहरूले दिएको माया र सम्मानकै कारण आफू अझै पनि त्यसै भूमिकासँग जोडिएको अनुभूति हुने उनको भनाइ छ।
उनले एक निर्माण संस्थाबाट आएका केही प्रस्ताव अस्वीकार गरेको पनि बताएकी छिन्, जसमा उनको छविसँग नमिल्ने दृश्यहरू थिए। सीताको भूमिकापछि आफ्नो छवि र दर्शकको भावनालाई सम्मान गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको उनले स्पष्ट पारेकी छिन्।











प्रतिक्रिया