श्री एयरलाइन्सको हेलिकप्टरबाट सशस्त्र प्रहरीको बन्दोबस्तीका सामान लाम्पाटामा पुर्‍याइयो


बाजुरा ।

श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपालको बन्दोबस्तीका सामान बाजुराको लाम्पाटामा पुर्‍याइएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको उक्त सामग्री सशस्त्र प्रहरी गुल्म बाजुराबाट असार ३ गते बिहान लाम्पाटामा पुर्‍याइएको हो।

यसअघि जेठ ३१ गते सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस उक्त क्षेत्रमा स्थापना गरिएको थियो।

आजै प्रधान कार्यालयको निर्देशनमा नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगबिजय सुवेदी लाम्पाटा पुगेर तैनाथ सुरक्षाफौजको कामकारबाहीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिएका छन्।

सशस्त्र प्रहरीका अनुसार उक्त टोलीको अनुगमन, निर्देशन तथा समन्वय प्रधान कार्यालयबाट निरन्तर रूपमा गरिनेछ।

उक्त टोली जेठ २७ गतेदेखि सो क्षेत्रमा खटिएको हो। केही दिनयता सो क्षेत्रमा विभिन्न विषयलाई लिएर विवाद उत्पन्न भएको बताइएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले उक्त जानकारी दिएका हुन्।