काठमाडौंमा ५ हजार जना चाहेको बेला उभ्याउन सक्ने आधार तत्काल तयार गर्न महासचिव पोखरेलको निर्देशन


काठमाडौं ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई चाहेको बेला उभ्याउन सक्ने आधार तत्काल तयार गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा संगठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

महासचिव पोखरेलले संकटका बेला संगठन र कार्यकर्तासँगको सम्पर्कलाई थप सघन बनाउनुपर्ने बताउनुभयो। उहाँले नेतृत्वको वास्तविक क्षमता र खुबी संकटका समयमा नै परीक्षण हुने उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिमा धैर्यता, एकता र स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

“जति बेला संकट गहिरिन्छ, त्यति बेला कार्यकर्तालाई सम्पर्कमा राख्ने कुरा अझ महत्वपूर्ण हुन्छ। नेतृत्वको खुबी र क्षमता पनि संकटमै देखिन्छ,” उहाँले भन्नुभयो, “संकटका बेला हतारमा गरिने निर्णयले दुर्घटनातर्फ पुर्‍याउन सक्छ। त्यसैले धैर्यता र एकता कायम राखेर अघि बढ्नुपर्छ।”

पार्टीभित्र समस्या रहेको भन्दै निराशा फैलाउनेभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। तलका समस्या माथिसम्म नपुर्‍याउने र माथिका समस्या मात्र देखाउने प्रवृत्ति संगठनका लागि हितकर नभएको बताउँदै उहाँले पार्टीमा समस्या छ कि छैन भन्नेभन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको उल्लेख गर्नुभयो।

महासचिव पोखरेलले पार्टीमाथि जनताको भरोसा र सम्बन्धलाई समग्र रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार पार्टीले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन नसके संगठनात्मक चुनौतीहरू थप जटिल बन्न सक्छन्।

हालैको निर्वाचन परिणामबारे चर्चा गर्दै उहाँले पार्टी पंक्तिबाट प्राप्त रिपोर्ट र बुझाइ निर्वाचनको दुई दिनअघिसम्म उत्साहजनक रहेको भए पनि परिणाम अप्रत्याशित र अकल्पनीय रूपमा आएको बताउनुभयो। उहाँले निर्वाचन परिणामबाट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

“हामी जनतासँग अपिल गर्ने ठाउँमा मात्र सीमित भयौं। जनतासँगको हाम्रो सम्बन्ध कमजोर बन्न पुगेको छ,” उहाँले भन्नुभयो, “जनताले हामीलाई विश्वास नगरेका होइनन्। उनीहरूले अहिलेका लागि घण्टीमा मतदान गरेर हामीलाई सबक सिकाउने प्रयास गरेका हुन्। भविष्यमा आवश्यक पर्दा चाहिने शक्ति एमाले नै हो भन्ने बुझाइ जनतामा अझै कायम छ।”

उहाँले पार्टीको सांगठनिक जीवनलाई व्यवस्थित र गतिशील बनाउन सदस्यता नवीकरण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो। पार्टी सदस्यताको नियमित नवीकरणले संगठनलाई चलायमान र अनुशासित बनाउने उहाँको भनाइ थियो।

जनसंगठनहरूको भूमिकाबारे चर्चा गर्दै उहाँले जनसंगठनहरूले आफ्ना-आफ्ना समुदायको हितका लागि काम गर्नुपर्ने र सदस्यता विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। समुदायमै पुगेर नयाँ सदस्यलाई संगठित गर्न तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न उहाँले विशेष आग्रह गर्नुभयो।

सम्बोधनका क्रममा महासचिव पोखरेलले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको पनि आलोचना गर्नुभयो। उहाँले उक्त अभिव्यक्तिलाई घातक, आपत्तिजनक तथा नेपालको भू-राजनीतिक संवेदनशीलताविपरीत रहेको टिप्पणी गर्नुभयो। यस्ता अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र भविष्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उहाँको भनाइ थियो।

उहाँले जनसंगठनहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिबारे जनतालाई सुसूचित गराउन र त्यसको राजनीतिक प्रतिवाद तथा भण्डाफोरमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। साथै भूमिहीन, असहाय तथा विपन्न समुदायका जनताको हितमा काम गर्न र जनविरोधी नीति तथा निर्णयको विरोध गर्न पनि निर्देशन दिनुभयो।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले संयन्त्रमार्फत सम्पन्न कार्यहरूको समीक्षा गर्दै जनसंगठनहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले जनसंगठनहरूलाई संगठन सुदृढीकरण, सदस्यता विस्तार र जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

सोही अवसरमा ढकालले जनसंगठन समन्वय संयन्त्रको संयोजकको जिम्मेवारी विशाल भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो। जनसंगठन समन्वय संयन्त्र संयोजकको नयाँ जिम्मेवारी ग्रहण गर्दै भट्टराईले काम नगर्नेहरू लोकप्रिय र काम गर्नेहरू अलोकप्रिय बन्ने वातावरण बन्न नदिने बताउनुभयो । बैठकले जनसंगठनहरूको सक्रियता तथा संगठनात्मक भूमिका प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै निवर्तमान प्रमुख ढकाललाई धन्यवाद ज्ञापन गरेको जनाएको छ।