कांग्रेसको क्रियाशील सदस्यता ‘डिजिटल अपग्रेड’ अभियान सुस्त

प्रविधिमात्रै होइन आन्तरिक असन्तुष्टि पनि कारण


काठमाडौं।

नेपाली कांग्रेसले आफ्ना क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्ने उद्देश्यसहित सुरु गरेको ‘क्रियाशील सदस्यता अपग्रेड अभियान’ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।

पार्टीले देशभर रहेका ८ लाख ५६ हजार क्रियाशील सदस्यलाई मोबाइल एपमार्फत आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरे पनि आइतबारसम्म जम्मा १ लाख ६२ हजार सदस्यले मात्रै प्रक्रिया पूरा गरेका छन् ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले हस्तलिखित अभिलेखलाई व्यवस्थित डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, सदस्यहरूको कार्यक्षेत्र, सक्रियता र पार्टी योगदानको इतिहासलाई अभिलेखीकरण गर्ने उद्देश्यले अभियान सुरु गरेको हो । ‘पार्टीको सांगठनिक संरचना व्यवस्थित र आधुनिक बनाउन यो अभियान चलाइएको हो,’ चालिसेले भन्नुभयो – देशभरका सदस्यको तथ्यांक एकीकृत गर्ने दीर्घकालीन योजनाअन्तर्गत यो काम अघि बढाइएको छ ।’

कांग्रेसले यही जेठ २१ गतेसम्म सबै क्रियाशील सदस्यलाई आफ्नो विवरण एपमार्फत अपलोड गर्न समयसीमा तोकेको थियो । तर, ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच कमजोर हुनु, प्रविधि प्रयोग गर्न नसक्ने पुराना सदस्यहरूको संख्या धेरै हुनु तथा स्थानीय तहसम्म पर्याप्त प्राविधिक सहजीकरण नपुग्नुका कारण अभियानले अपेक्षित गति लिन नसकेको पार्टीको दाबी छ । प्रवक्ता चालिसेका अनुसार कतिपय जिल्लाबाट अहिले पनि विवरण संकलन जारी रहेकाले आवश्यकता परे समयसीमा थप गर्ने तयारीसमेत पार्टीले गरेको छ ।

तर, कांग्रेसभित्रकै नेताहरू भने समस्या केवल प्रविधिसँग मात्रै सम्बन्धित नभएको बताउँछन् । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटगत असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास र कार्यकर्तामा देखिएको निराशाले पनि सदस्यता अपग्रेड अभियान प्रभावित भएको उनीहरूको बुझाइ छ ।

विशेषगरी स्थानीय तहदेखि केन्द्रसम्म टिकट वितरण, जिम्मेवारी बाँडफाँट र निर्णय प्रक्रियामा असन्तुष्टि बढेपछि ठूलो संख्यामा कार्यकर्ता निष्क्रिय बनेको आरोप कांग्रेसभित्रै उठिरहेको छ । केही जिल्लामा त असन्तुष्ट समूहले ‘पहिले पार्टी सुधार, त्यसपछि सदस्यता नवीकरण’ भन्ने अनौपचारिक अभियानसमेत चलाएको कारण अभियानले पूर्ण रूपमा सार्थकता पाउन सकेको छैन ।

कतिपय पुराना क्रियाशील सदस्यले पछिल्लो समय पार्टीभित्र देखिएको विवाद, सार्वजनिक आरोप–प्रत्यारोप र नेतृत्व तहमा बढ्दो दूरीका कारण सदस्यता अपग्रेडप्रति चासो नदेखाएको नेताहरू स्वीकार गर्छन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार ‘संगठनभित्रको असन्तुष्टि अहिले सतहमा नदेखिए पनि सदस्यता अद्यावधिकमा देखिएको सुस्तताले त्यो संकेत गरिरहेको छ ।’ उहाँका अनुसार लामो समयदेखि पार्टीमा सक्रिय रहेका केही कार्यकर्ता अहिले अन्य दलतर्फ आकर्षित भएका छन् भने केही पूर्ण रूपमा निष्क्रिय बनेका छन् ।

विश्लेषकहरूका अनुसार कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजान खोज्नु सकारात्मक कदम भए पनि त्यसका लागि आवश्यक सांगठनिक तयारी पर्याप्त देखिएको छैन । सूचना प्रविधिको प्रयोगलाई गाउँ तहसम्म प्रभावकारी बनाउन नसक्नु, वृद्ध सदस्यलाई सहजीकरण गर्ने संरचना नहुनु तथा जिल्ला तहमा समन्वय कमजोर हुनु अभियानको मुख्य चुनौती बनेको उनीहरूको भनाइ छ । त्यसमाथि पार्टीभित्रको राजनीतिक असन्तुष्टि र नेतृत्वप्रतिको आलोचनाले अभियानप्रति उत्साह घटाएको विश्लेषण गरिएको छ ।

कांग्रेसले भने सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलाइएका ‘सदस्य संख्या घट्दै गएको’ वा ‘कार्यकर्ता पलायन भएको’ जस्ता दाबीलाई अतिरञ्जित रूपमा व्याख्या गरिएको बताएको छ ।

प्रवक्ता चालिसेले प्राविधिक जटिलता र भौगोलिक कठिनाइका कारण ढिलाइ भएको भन्दै पार्टीभित्र व्यापक विद्रोह भएको भन्ने दाबीमा सत्यता नरहेको जिकिर गर्नुभयो । ‘यो पार्टीलाई आधुनिक र व्यवस्थित बनाउने अभियान हो, यसलाई अनावश्यक रूपमा राजनीतिक रंग दिन खोजिएको छ,’ उहाँले भन्नुभयो ।

कांग्रेसले पुराना सदस्यको विवरण पूर्ण रूपमा डिजिटल अभिलेखमा ल्याइसकेपछि मात्रै नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । यसका लागि केन्द्रीय समितिबाट औपचारिक निर्णय भएपछि नयाँ सदस्यता वितरण सुरु गरिने बताइएको छ । तर, पछिल्ला राजनीतिक घटनाक्रम, पुराना दलप्रति जनस्तरमा बढ्दो निराशा र कार्यकर्तामा देखिएको निष्क्रियताका कारण कांग्रेसले सोचेअनुसार संगठनलाई पुनः ऊर्जाशील बनाउन चुनौती थपिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

विशेषगरी पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूको उदय, युवापुस्तामा बढ्दो असन्तुष्टि र परम्परागत दलहरूप्रतिको आलोचनात्मक दृष्टिकोणले कांग्रेसजस्ता पुराना दललाई संगठनात्मक पुनःसंरचना र कार्यकर्ता व्यवस्थापनमा थप दबाब सिर्जना गरेको विश्लेषकहरू बताउँछन् ।
यस्तो अवस्थामा कांग्रेसको डिजिटल सदस्यता अभियान केवल प्राविधिक सुधारको कार्यक्रममात्रै नभई पार्टीभित्रको वास्तविक संगठनात्मक अवस्था नाप्ने ‘परीक्षा’ का रूपमा समेत हेरिन थालेको छ ।