खुम्बुको गरिब गाउँबाट विश्वको शिखरसम्म

संघर्ष, साहस र अदम्य यात्राको कथा


काठमाडौं।

नेपाली आरोही कामीरिता शेर्पाले फेरि एकपटक विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेख्नुभएको छ । उहाँले आइतबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औं पटक सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोड्नुभएको छ ।

उहाँलाई व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अनुसार कामीरिताले मे १७, २०२६ बिहान १०ः१२ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । मौसम अनुकूल भएका कारण यसपटक आरोहण अपेक्षाकृत सहज भए पनि अत्यधिक भीड, उचाइको जोखिम र कठोर हिमाली वातावरणले चुनौती कायमै राखेको थियो ।

५५ वर्षीय कामीरिताको यो उपलब्धि केवल एउटा संख्या होइन, नेपाली शेर्पा समुदायको साहस, अनुभव र हिमालसँगको जीवन–संघर्षको प्रतीकका रूपमा हेरिएको छ । उहाँले सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसयता उहाँ लगभग हरेक वर्ष हिमाल चढ्दै आउनुभएको छ । सगरमाथाबाहेक उहाँले केटु, चो–ओयु, लोत्स्से मनास्लुलगायत आठ हजार मिटरभन्दा अग्ला धेरै हिमाल सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ ।

खुम्बु क्षेत्रको थामे गाउँमा जन्मनुभएका कामीरिता सामान्य परिवारमा हुर्किनुभएको थियो । उहाँका बुबाले पनि हिमाली भरिया तथा गाइडका रूपमा काम गर्नुभएको थियो । बाल्यकालदेखि नै हिमालसँग घुलमिल हुनु भएका उहाँले आर्थिक अभावका कारण उच्च शिक्षा पूरा गर्न सक्नुभएन । परिवार धान्नकै लागि उहाँ किशोर अवस्थामै हिमाल क्षेत्रमा काम गर्न थाल्नुभएको थियो।

सुरुआतमा उहाँले भरिया र किचन सहयोगीका रूपमा काम गर्नुभएको थियो । पछि विस्तारै आरोहण तालिम लिएर उच्च हिमाली गाइड बन्नुभएको थियो । उहाँले एक अन्तर्वार्तामा भन्नुभएको थियो– ‘हिमाल हाम्रो जीवन हो, यहीँ संघर्ष छ, यहीँ भविष्य पनि छ ।’

सगरमाथाको मृत्यु क्षेत्र भनेर चिनिने आठ हजार मिटरभन्दा माथिको क्षेत्रमा काम गर्नु संसारकै सबैभन्दा जोखिमपूर्ण पेसामध्ये एक मानिन्छ । अत्यधिक चिसो, अक्सिजनको कमी, हिमपहिरो र मौसमको आकस्मिक परिवर्तनबीच कामीरिताले दशकौंदेखि आरोहीहरूको नेतृत्व गर्दै आउनुभएको छ । कामीरिताले यसअघि सन् २०२५ मा ३१औं पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्नुभएको थियो । यस वर्ष फेरि शिखर चुम्दै उहाँले आफ्नै रेकर्डलाई थप उचाइमा पु¥याउनुभएको छ ।

यसअघि धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान पनि नेपाली शेर्पाकै नाममा थियो । आपा शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेर लामो समयसम्म विश्व कीर्तिमान राख्नुभएको थियो । पछि कामीरिताले उक्त कीर्तिमान तोड्दै निरन्तर नयाँ इतिहास बनाइरहनुभएको छ ।


पर्वतारोहण क्षेत्रमा कामीरिताको अनुभव, शान्त स्वभाव र जोखिम व्यवस्थापन क्षमताको अत्यन्त सम्मान गरिन्छ । विदेशी आरोहीहरूबीच पनि उहाँ भरपर्दो गाइडका रूपमा परिचित हुनुहुन्छ ।


कामीरिता भन्नुहुन्छ– ‘पछिल्ला तीन वर्षमा हिमाल चढ्न झनै गाह्रो भएको छ । तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर हिमालहरू चिरा पर्न थालेका छन् । बाटाहरू अनिश्चित बन्दै गएका छन् ।’ उहाँले सन् २०१४ को हिमपहिरोमा १६ शेर्पा गुमाएको घटना स्मरण गर्दै आफ्ना साथीहरू धेरै गुमाएको पनि बताउनुभएको थियो ।

जलवायु परिवर्तनले पर्वतारोहणलाई झनै जोखिमपूर्ण बनाएको उहाँ बताउनुहुन्छ । अझै दुःखद् कुरो के छ भने, सगरमाथाको चुचुरोमा पुग्ने शेर्पाहरूको ज्यान जोखिममा रहँदा पनि उनीहरूको जीवन बिमा रकम १५ लाख रुपियाँमात्र छ । कामीरिताले यो रकम बढाएर ५० लाख रुपियाँ पु¥याउनुपर्ने माग गर्नुभएको छ ।
नेपाल सरकारले पनि कामीरिताको उपलब्धिलाई राष्ट्रिय गौरवका रूपमा लिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार कामीरिताजस्ता शेर्पाहरूले विश्वभर नेपालको पहिचान उचो बनाएका छन् । प्रत्येक आरोहण केवल व्यक्तिगत उपलब्धिमात्र नभई नेपाली शेर्पाहरूको अनुभव, सहनशीलता र हिमालप्रतिको समर्पणको प्रमाण भएको पर्वतारोहण क्षेत्रका विज्ञहरू बताउँछन् ।

विश्वको छानो भनेर चिनिने सगरमाथामा ३२ पटक पाइला टेक्नु सामान्य सफलता होइन । यो दशकौंको कठोर मिहिनेत, जोखिमसँगको निरन्तर सामना र हिमालप्रतिको अथाह विश्वासको परिणाम हो । कामीरिता शेर्पाले फेरि एकपटक प्रमाणित गर्नुभएको छ । सगरमाथाको उचाइभन्दा ठूलो उहाँको साहस छ ।

२० पटकभन्दा बढी सगरमाथा चढ्ने शेर्पाहरू

कामीरिता शेर्पा : ३२ पटक (नेपाल, सक्रिय)

पासाङ दावा शेर्पा : २९ पटक (नेपाल, सक्रिय)

दावा फिन्जोक शेर्पा २७ पटक (नेपाल, सक्रिय)

मिङ्मा छिरी शेर्पा : २६ पटक (नेपाल)

ङिमा नुरु शेर्पा : २४ पटक (नेपाल)

आपा शेर्पा : २१ पटक (नेपाल, २०१० मा संन्यास)

लाक्पा शेर्पा : २१ पटक (नेपाल)

फुर्वा तासी शेर्पा : २१ पटक (नेपाल, २०१४ मा संन्यास)