‘एमभी होन्डियस’ क्रुज जहाजमा एन्डिज हन्टाभाइरस संक्रमण, विश्व स्वास्थ्य क्षेत्रमा बढ्यो चासो


काठमाडौं ।

दक्षिण अमेरिकी क्षेत्रमा सञ्चालनमा रहेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजमा दुर्लभ तथा खतरनाक मानिएको ‘एन्डिज हन्टाभाइरस’ संक्रमण पुष्टि भएपछि अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा नयाँ चिन्ता थपिएको छ ।

हालसम्म उक्त भाइरसका कारण कम्तीमा तीन जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् भने थप संक्रमितको खोजी तथा परीक्षण जारी रहेको बताइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले घटनालाई गम्भीर रूपमा लिँदै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत निगरानी तथा नियन्त्रण प्रक्रिया सक्रिय बनाएको जनाएको छ ।

डब्लुएचओका महानिर्देशक डा.टेड्ोस अधानोम गोब्रेएससले विशेषज्ञ टोलीलाई जहाजमै परिचालन गरिएको जानकारी दिएका छन्। संक्रमित यात्रुसँग सम्पर्कमा आएका अन्य व्यक्तिको पहिचान तथा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार हन्टाभाइरस सामान्यतया मुसा तथा अन्य रोडेन्ट प्रजातिबाट मानिसमा सर्ने भाइरस हो। संक्रमित जनावरको पिसाब, दिसा वा थुकबाट निस्किएको सूक्ष्म कण सासमार्फत शरीरमा प्रवेश गर्दा संक्रमण हुने गर्दछ। तर हाल जहाजमा देखिएको ‘एन्डिज भाइरस’ भने अन्य हन्टाभाइरसभन्दा फरक मानिन्छ। अनुसन्धानहरूले यसमा सीमित रूपमा मानिसबाट मानिसमा पनि संक्रमण हुन सक्ने देखाएका छन्।

विशेषगरी लामो समयसम्म नजिकको सम्पर्क, एउटै बन्द कोठामा बसाइ तथा संक्रमित व्यक्तिको शारीरिक तरलसँग सम्पर्क हुँदा संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्। यद्यपि यो भाइरस कोभिड–१९ जस्तै तीव्र रूपमा हावाबाट फैलिने प्रकृतिको भने नरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

संक्रमणका प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक थकान तथा वाकवाकी देखिन सक्छ। संक्रमण गम्भीर बन्दै जाँदा सास फेर्न गाह्रो हुने, फोक्सोमा पानी जम्ने तथा रक्तचाप घट्ने समस्या देखापर्न सक्छ। समयमै उपचार नपाए बिरामीको अवस्था जटिल बन्ने चिकित्सकहरूको चेतावनी छ।

हालसम्म जहाजमा रहेका केही यात्रु तथा चालक दलका सदस्यलाई आइसोलेसनमा राखिएको छ। विभिन्न देशका स्वास्थ्य निकायले संक्रमितसँग सम्पर्कमा आएका यात्रुको विवरण संकलन गरी निगरानी थालेका छन्। डब्लुएचओले विश्वव्यापी जोखिमलाई अहिले “कम” स्तरको रूपमा मूल्यांकन गरे पनि सतर्कता अपनाउन आग्रह गरेको छ।

जनस्वास्थ्य विज्ञहरूले मुसा तथा जंगली रोडेन्टको सम्पर्कबाट बच्न, बन्द कोठा सफा गर्दा मास्क प्रयोग गर्न, नियमित हात धुन तथा ज्वरो वा श्वासप्रश्वाससम्बन्धी समस्या देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन्।

कोभिड–१९ महामारीपछिको विश्व स्वास्थ्य संवेदनशीलताका बीच देखा परेको यो घटनाले अन्तर्राष्ट्रिय समुदायलाई पुनः सतर्क बनाएको छ। यद्यपि विज्ञहरूले हालको अवस्थालाई लिएर अनावश्यक त्रास फैलाउन नहुने र वैज्ञानिक तथ्यका आधारमा मात्रै निष्कर्ष निकाल्नुपर्ने बताएका छन्।