औंठा छाप क्रान्ति: मानव पहिचानको अद्वितीय माध्यम “फिंगर प्रिन्ट”

0
Shares

प्रकृतिको एउटा अनौठो रहस्य हाम्रै हातका औंलाहरूमा लुकेको छ । मानिसका हातका औंलाहरूमा हुने ती साना र जटिल रेखाहरू केवल छालाको बनोट मात्र होइनन्, प्रत्येक व्यक्तिको संसारकै सबैभन्दा विशिष्ट र कहिल्यै नक्कल गर्न नसकिने पहिचान पनि हुन् । औंठा छाप (फिंगर प्रिन्ट) को प्रयोग आजको आधुनिक विश्वमा बायोमेट्रिक सुरक्षाको सबैभन्दा बलियो खम्बा मानिन्छ । यसको विकासक्रम र वैज्ञानिक यात्रा निकै रोचक छ, जसले मानव सभ्यता र न्याय प्रणालीलाई नै परिवर्तन गरिदिएको छ । औंठा छापको आधुनिक प्रयोगको बीजारोपण १९औं शताब्दीको उत्तरार्धमा भएको मानिन्छ । सन् १८५८ मा भारतमा कार्यरत बेलायती प्रशासक सर विलियम हर्षेलले पहिलो पटक प्रशासनिक काममा औंठा छापको प्रयोग सुरु गरेको इतिहास छ।

उनले स्थानीय बासिन्दाहरूसँग सम्झौता गर्दा वा सरकारी पेन्सन वितरण गर्दा जालसाजी रोक्नका लागि हत्केला र औंठाको छाप लगाउन अनिवार्य गरेका थिए । यो अभ्यासले मानिसहरूलाई झुटो पहिचान बनाउनबाट रोक्यो । त्यसै समयमा, वैज्ञानिक जगतमा पनि यसको विशिष्टतामाथि अनुसन्धान सुरु भयो । स्कटिस डाक्टर हेन्री फल्ड्सले जापानमा अध्ययन गर्दा औंठा छापको अद्वितीयता महसुस गरे । त्यसपछि यसलाई अपराध अनुसन्धानमा पनि प्रयोग गर्न सकिने सुझाव स्कटल्याण्ड यार्डलाई दिए । पछि सर फ्रान्सिस गाल्टनले औंठा छापहरू स्थायी हुन्छन् र मानिसको जीवनभर परिवर्तन हुँदैनन भनेर वैज्ञानिक रूपमा यो प्रमाणित गरे । उनले सन् १८९२ मा आफ्नो महत्वपूर्ण पुस्तक प्रकाशित गर्दै यसलाई वर्गीकरण गर्ने आधारहरू तयार गरे ।

अपराध अनुसन्धानको क्षेत्रमा यसले ठूलो सफलता सन् १८९२ मा अर्जेन्टिनामा पायो । इन्स्पेक्टर जुआन भुसेटिकले एउटा हत्याको घटनास्थलमा भेटिएको रगतको औंठा छापलाई प्रमाणको रूपमा प्रयोग गरेर अपराधी पत्ता लगाए । यसरी अपराधी पत्ता लगाएको यो विश्वकै पहिलो घटना थियो । त्यसपछि सन् १८९७ देखि १९०१ बीचमा सर एडवर्ड हेनरीले भारतको बंगालमा “हेनरी क्लासिफिकेसन सिस्टम” विकास गरे । यो प्रणालीले औंठा छापलाई व्यवस्थित रूपमा दर्ता गर्ने र खोज्ने प्रक्रियालाई यति सजिलो बनायो कि यसले पुरानो र अविश्वसनीय शारीरिक नापको ‘बर्टिलन प्रणाली’ लाई पूर्ण रूपमा विस्थापित गरिदियो ।

आजको २१औं शताब्दीमा औंठा छापको महत्व झनै व्यापक भएको छ । यो केवल आपराधिक गतिविधिमा मात्र सीमित छैन । हाम्रो गोजीमा रहेको स्मार्टफोन अनलक गर्नदेखि लिएर बैंकको लकर खोल्न, कार्यालयमा हाजिरी गर्न, वित्तीय कारोबार सुरक्षित गर्न लगायत अन्य संवेदनशील प्रायोजनका लागि समेत यसको प्रयोग अनिवार्य जस्तै भएको छ । परिचय पत्र, राहदानी (पासपोर्ट) र अध्यागमन प्रक्रियामा बायोमेट्रिक स्क्यानरहरूले यात्रीको पहिचान तुरुन्तै प्रमाणित गर्छन् । यसले गर्दा अवैध काम र अपराध कर्म गर्ने सम्भावना निकै कम भएको छ । फिंगर प्रिन्टमार्फत एफबीआईको (एएफआईएस) जस्ता ठूला डाटाबेसहरूले करोडौं रेकर्डहरूमध्येबाट केही सेकेन्डमै सही व्यक्ति पत्ता लगाउन सक्छन् ।

यद्यपि प्राचीन चीन र बेबिलोनमा पनि माटोका सिलहरूमा औंठा छापको प्रयोग गरेको पाइएको छ । तर, त्यो केवल व्यक्तिगत हस्ताक्षरका रूपमा मात्र थियो । आधुनिक युगको उपलब्धि भनेको यसलाई विज्ञानसँग जोड्नु हो । अहिले प्रत्येक व्यक्तिसँग एउटा यस्तो परिचय छ जुन हराउन सक्दैन र कसैसँग साटिन पनि सक्दैन । यही कारणले गर्दा डिजिटल युगमा जतिसुकै सफ्टवेयर र पासवर्डहरूको प्रचलन आए पनि औंठा छाप अझै पनि संसारकै सबैभन्दा भरपर्दो, सुरक्षित र प्रभावशाली पहिचानको माध्यम बनेको छ । यो एउटा यस्तो अदृश्य शक्ति हो, जसले सात अर्ब जनसंख्या भएको पृथ्वीमा पनि प्रत्येक मानिसलाई एउटा छुट्टै र विशिष्ट अस्तित्व प्रदान गर्दछ ।