रामेछापका ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य बुढ्यौली कार्यक्रम


रामेछाप ।

 ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुधार र सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित रामेछापमा ‘स्वास्थ्य बुढ्यौली कार्यक्रमको आयोजना गरिएको छ।

जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा बुधवार ज्येष्ठ नागरिकहरूलाई आहार, व्यवहार, योग, ध्यान लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा आयुर्वेदिक तथा चिकित्सालय रामेछापका डाक्टर उत्तम गैरेले उमेरसँगै देखिने शारीरिक परिवर्तनलाई ध्यानमा राख्दै जीवनशैली, खानपान र मानसिक सन्तुलनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले ज्येष्ठ नागरिकहरूको सम्मान र स्वास्थ्य सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले कार्यालयको तर्फबाट सरसफाइ सामग्रीसहितको स्वास्थ्य किट वितरण गरिएको जानकारी दिनु भयो ।

त्यस्तै, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नवराज पथिकले जीवन निरन्तर सिकाइको प्रक्रिया भएको उल्लेख गर्दै आयुर्वेदले स्वस्थ जीवनशैली अपनाउन मार्गदर्शन गर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकहरूलाई उपलब्ध स्वास्थ्य सेवाको अधिकतम उपयोग गर्न पनि आग्रह गर्नु भयो।

ज्येष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला भई अनुभव साटासाट गर्ने अवसर दिएको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूको रक्तचाप तथा मधुमेह परीक्षण समेत गरिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।