लमजुङमा करिब दुई मेट्रिक टन आलु बिक्री

1.5k
Shares

लमजुङ। 

लमजुङका स्थानीय तहमा व्यावसायिक रुपमा गरिएको आलु खेतीबाट उल्लेखनीय उत्पादन र बिक्री भएको छ । राईनास नगरपालिका र मध्यनेपाल नगरपालिकाका कृषकहरुले प्रशोधनयोग्य आलु उत्पादन गरी करिब दुई सय मेट्रिक टन बिक्री गरेका हुन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि विकास कार्यालय लमजुङमार्फत सञ्चालन गरिएको कार्यक्रमले कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेको हो । उत्पादनमा आधारित अनुदान तथा प्राविधिक सहयोग पाएपछि कृषकहरुले निर्वाहमुखी खेतीबाट व्यावसायिक आलु उत्पादनतर्फ कदम बढाएका हुन् ।

राईनासका पाँच र मध्यनेपालका एक कृषक समूहले दुई सयभन्दा बढी रोपनी क्षेत्रफलमा हिउँदे आलु खेती गरेका थिए । उत्पादनमध्ये आवश्यक परिमाण घरायसी उपयोगका लागि राखेर एक सय ७४ दशमलव ९६५ मेट्रिक टन आलु बजारमा बिक्री गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषि प्राविधिक अनिल तिवारीका अनुसार राईनास क्षेत्रमा मात्रै दुई लाख ५४ हजार ८ सय ९३ केजी आलु उत्पादन भएको थियो । त्यसमध्ये एक लाख ३८ हजार केजी आलु चिप्स उद्योगलाई बिक्री गरिएको हो भने बाँकी उत्पादन स्थानीय बजारमा खपत भएको छ । उत्पादनको सुनिश्चित बजारका लागि खेती सुरु हुनुअघि नै कृषक र उद्योगबीच सम्झौता गरिएको थियो । सोहीअनुसार भैरहवास्थित ‘फस्ट च्वाइस फुड प्रा.लि.’ ले कृषकबाट आलु खरिद गरेको हो ।

प्रदेश सरकारको ‘समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्धन कार्यक्रम’ अन्तर्गत दुई वर्षदेखि सञ्चालन हुँदै आएको यस योजनाले जिल्लामा आलु खेती विस्तारमा टेवा पु¥याएको छ । कृषि विकास कार्यालयले विउ व्यवस्थापनदेखि बजारीकरणसम्म सहजीकरण गर्दै आएको छ । विउ र उपकरणमा ७५ प्रतिशत, सिँचाइ तथा बजार व्यवस्थापनमा ८५ प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ । साथै प्राविधिक सेवा, तालिम, विषादी, बाली बीमा निःशुल्क उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।