नेपाली ब्याटिङमा दीपेन्द्र संकटमोचक बन्दै

3.2k
Shares

काठमाडौं

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपालमा जारी आईसीसीको विश्वकप क्रिकेट लिग २ मा संकटमोचन ब्याटिङ गरेका छन् । तीन खेल खेलिँदा नेपालले दुई खेलमा जित हासिल गर्दा दुबैपटक दीपेन्द्र ब्याटिङ नै निर्णायक बन्यो । दुबै खेल यूएईविरुद्ध नेपालले जित हासिल गरेको हो ।

प्रतियोगिताअन्तर्गत् यूएईविरुद्ध पहिलो खेलमा नेपालले ३७ रनको जित निकाल्दा दीपेन्द्रले ७५ रनको योगदान दिएका थिए । यस खेलमा नेपालले २ सय रन बनाएको थियो । जसमा अन्य खेलाडीहरू निष्क्रिय हुँदा दीपेन्द्र एक्लैले झण्डै ३७ प्रतिशत रनको योगदान दिए । उनकै कारण नेपालले यो खेल जितेको भन्नुमा कसैको दुई मत नहोला ।

दोस्रो खेलमा ओमानसँग नेपाल पराजित भयो । यस खेलमा पनि दीपेन्द्रले अर्धशतक प्रहार गरेका थिए । उनको ६० रनको सहयोगमा नेपालले ओमानविरुद्ध १ सय ५५ रन जोडेको थियो । तर, यो खेल वर्षाले गर्दा डीएल प्रणालीको आधारमा नेपाल १ सय २ रनले पराजित भएको थियो । ओमानले ३ सय ५ रन बनाएको थियो ।

तेस्रो खेलमा दीपेन्द्रले यूएईविरुद्ध शतक प्रहार गरे । उनले १ सय रन बनाएका थिए । यसपछि टोलीमा फर्केका विनोद भण्डारीले ५६ रन बनाए । यो खेल नेपालले ६ रनले जितेको थियो । योसँगैं जारी प्रतियोगितामा दीपेन्द्रले तीन खेलमा १ शतक र २ अर्धशतक प्रहार गर्न सफल भएका छन् । उनले कूल २ सय ३५ रन बटुलिसकेका छन् ।