विश्व प्रसिद्ध बक्सर किथ थर्मनद्वारा नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको उद्घघाटन


काठमाडौं ।

पारिवारिक भ्रमणका सिलसिलामा नेपालमा रहेका विश्वचर्चित अमेरिकी बक्सर तथा डब्लुबीसी एवं डब्लुबीए वेल्टरवेटका पूर्व विश्व च्याम्पियन किथ थर्मन ‘वान टाइम’ ले ललितपुरको इमाडोलस्थित म्याक्स बक्सिङ क्लबको औपचारिक उद्घघाटन गरेका छन् ।

सोमबार आयोजित एक विशेष समारोहका बीच नेपालको पहिलो व्यवसायिक बक्सिङ क्लबको रूपमा स्थापित यस क्लबको उद्घघाटन गर्दै थर्मनले नेपाली बक्सिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन प्रजापति र म्याक्स बक्सिङ प्रमोशनका प्रबन्ध निर्देशक मुक्ति थापाले पूर्व विश्व च्याम्पियन थर्मनलाई भव्य स्वागत गरेका थिए ।कार्यक्रममा एनपीबीसीका तर्फबाट थर्मनलाई मानार्थ सल्लाहकारको जिम्मेवारी सुम्पिँदै आधिकारिक टि-शर्ट प्रदान गरिनुका साथै प्रबन्ध निर्देशक थापाले बुद्धको मूर्ति मायाको चिनो स्वरूप प्रदान गरेका थिए ।

आफ्नो मन्तव्यका क्रममा थर्मनले खेल जीवनका अनुभवहरू साट्दै नेपाली खेलाडीहरूलाई प्रशिक्षण समेत प्रदान गरेका थिए । नेपाली नागरिक प्रायना थापासँग वैवाहिक बन्धनमा बाँधिएका कारण नेपालसँग आफ्नो भावनात्मक र पारिवारिक सम्बन्ध रहेको चर्चा गर्दै उनले यहाँको प्राकृतिक सुन्दरताको प्रशंसा गरे । श्रीमती, दुई छोरी र एक छोरासहित नेपाल भ्रमणमा आएका थर्मनको यस उपस्थितिले नेपाली व्यवसायिक बक्सिङ क्षेत्रमा नयाँ उत्साह थपेको छ । कार्यक्रमको सञ्चालन र व्यवस्थापनका क्रममा प्रबन्ध निर्देशक थापाले स्वागत मन्तव्य र अध्यक्ष प्रजापतिले समापन मन्तव्य राख्दै व्यावसायिक बक्सिङको प्रवर्द्धनमा यस्ता अन्तर्राष्ट्रिय व्यक्तित्वको आगमनले ठूलो अर्थ राख्ने धारणा व्यक्त गरे ।