काठमाडौं।
विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा राजधानी काठमाडौंमा निकालिएको प्रभातफेरि तथा ऐक्यबद्धता ¥याली माईतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । बिहानैदेखि परेको सिमसिमे वर्षाका बीच पनि पत्रकार, सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको उल्लेख्य सहभागिताले प्रेस स्वतन्त्रताको पक्षमा दृढ ऐक्यबद्धता प्रकट गरेको थियो ।
कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि पछिल्लो समय विभिन्न प्रकारका नीतिगत तथा आर्थिक दबाब सिर्जना भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए । विशेषगरी सरकारले निजी क्षेत्रबाट सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमलाई सरकारी विज्ञापन वितरणमा विभेदपूर्ण व्यवहार गर्दा सयौँ सञ्चारगृह अस्तित्व संकटमा पुगेको र हजारौँ पत्रकारको रोजगारी जोखिममा परेको उनीहरूको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दवाडीले प्रेस स्वतन्त्रता कमजोर बनाइए मानव अधिकारकै औचित्य समाप्त हुने चेतावनी दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता कुनै सहज उपलब्धि नभई धेरै व्यक्तिको त्याग, संघर्ष र बलिदानबाट स्थापित भएको उल्लेख गर्दै यसको रक्षा गर्नु राज्यको दायित्व भएको बताउनुभयो । “प्रेस स्वतन्त्रता झिक्ने हो भने मानव अधिकारको अर्थ नै रहँदैन,” उहाँले भन्नुभयो, “अहिले सरकारले गरेका कतिपय गतिविधिले प्रेस स्वतन्त्रतामाथि असर पार्ने हो कि भन्ने विषयमा हामी गम्भीर रूपमा चिन्तित छौँ ।”
उहाँले राष्ट्रिय मानव अधिकार आयोगले नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसियसन तथा अन्य संघसंस्थासँग सहकार्य गरेर मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । पछिल्ला सरकारी गतिविधिबारे आयोगले अध्ययन गरिरहेको र आवश्यक छलफलपछि नेपाल सरकारलाई सुझाव तथा सिफारिस गरिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

त्यस्तै नेपाल बार एसोसियसनका अध्यक्ष विजयप्रसाद मिश्रले नागरिकको सूचना पाउने अधिकारको संरक्षण गर्नु राज्यको संवैधानिक दायित्व भएको बताउनुभयो । प्रेस स्वतन्त्रता कायम रहे मात्र देश विकासमा हुने अनियमितता, भ्रष्टाचार र राज्यका कमजोरीबारे स्वतन्त्र रूपमा खबरदारी गर्न सकिने उहाँको भनाइ थियो । “यदि सरकारले निजी सञ्चारमाध्यमलाई कमजोर पार्ने नीति लियो भने नागरिकको सूचना पाउने नैसर्गिक अधिकारमाथि ताला लाग्नेछ,” उहाँले चेतावनी दिनुभयो ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा प्रेस जगतले अन्याय र विभेदविरुद्ध आवाज उठाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएको तथा सरकारी विज्ञापनमा विभेद, नीतिगत बन्देज र सञ्चारमाध्यममाथिको दबाबले पत्रकारिता क्षेत्र थप असुरक्षित बन्दै गएको उहाँको भनाइ थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस स्वतन्त्रताविना लोकतन्त्र जीवित रहन नसक्ने बताउँदै “लोकतन्त्र विना नागरिक स्वतन्त्रता सुरक्षित हुन सक्दैन” भन्नुभयो । उहाँले लोकतन्त्रका लागि संघर्ष गरेका नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीलाई संकटमा पारेर देशको विकास सम्भव नरहेको उल्लेख गर्दै “प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा २०८३” वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका घटना उल्लेख्य रूपमा बढेको तथ्य सार्वजनिक गरिएको छ ।











प्रतिक्रिया