काठमाडौँ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । बीमा सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मङ्गलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको उल्लेख गरिएको छ ।
सोही प्रतिवेदनका आधारमा ब्यूरोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गर्न वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट अनुमति लिएको थियो । पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा भएको आर्थिक अनियमितता र कानुनी मर्यादा उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रचलित कानुन अनुसार बीमा क्षेत्रको पारदर्शिता र सुशासन कायम राख्न प्राधिकरणले गरेको छानबिनका आधारमा यो कारबाही अगाडि बढाइएको ब्यूरोको भनाइ छ ।











प्रतिक्रिया