तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९% वृद्धि, सुधारको संकेत तर असमान प्रदर्शन कायम


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा नेपाली वाणिज्य बैंकहरूको वित्तीय प्रदर्शनमा सुधारको संकेत देखिएको छ । सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकिङ क्षेत्रमा क्रमशः रिकभरी हुँदै गएको संकेत देखिएको छ, यद्यपि सबै बैंकको अवस्था भने समान छैन ।

यस अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९ प्रतिशतले बढी हो । गत वर्ष चैतसम्म बैंकहरूको कुल नाफा ४१ अर्ब २५ करोड रुपियाँ मात्रै थियो ।

नाफाको आधारमा नबिल बैंकले पुनः शीर्ष स्थान कायम राखेको छ । बैंकले ६ अर्ब ७६ करोड रुपियाँभन्दा बढी खुद नाफा कमाउँदै अग्रता कायम राखेको हो । यसको नाफा गत वर्षको तुलनामा झण्डै ३४ प्रतिशतले बढेको छ ।

त्यस्तै कुमारी बैंकले पनि उल्लेखनीय सुधार देखाएको छ । अघिल्लो वर्ष २८ करोड रुपियाँमा सीमित नाफा यस वर्ष ४ अर्ब १७ करोड रुपियाँ पुगेको छ । यो सुधार खराब कर्जा व्यवस्थापन र व्यवसाय विस्तारमा भएको प्रगतिको परिणामका रूपमा हेरिएको छ ।

ग्लोबल आइएमई बैंक ४ अर्ब ४० करोड रुपियाँ नाफासहित दोस्रो स्थानमा रहे पनि यसको नाफा करिब ३ प्रतिशतले घटेको छ ।

नाफाको हिसाबले एनआईसी एशिया बैंक सबैभन्दा तल देखिएको छ, जसले १४ करोड रुपियाँ मात्र नाफा कमाएको छ । त्यसपछि हिमालयन बैंक ७६ करोड र प्रभु बैंक ८५ करोड रुपियाँ नाफामा छन् ।

प्रभु बैंकको नाफा सबैभन्दा धेरै घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंकको नाफामा पनि उल्लेखनीय कमी आएको छ ।

कुमारी बैंकपछि राष्ट्रिय वाणिज्य बैंकले बढी नाफा वृद्धि गरेको छ । त्यस्तै हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले पनि नाफा वृद्धि गरेका छन् ।

यसैगरी बैंकहरूको स्प्रेड दर (निक्षेप र कर्जाबीचको ब्याज अन्तर) घटे पनि समग्र आम्दानीमा सुधार देखिएको छ । खुद ब्याज आम्दानीमा सामान्य वृद्धि हुँदा शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । एलसी कारोबार, ग्यारेन्टी, रेमिट्यान्स तथा डिजिटल भुक्तानी विस्तारले यस्तो आम्दानी बढाएको देखिन्छ ।

तरलता अधिक भएको अवस्थामा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै कोषको लागत कम गरेका छन् । नेपाल राष्ट्र बैंकले समेत तरलता प्रशोचन गर्दै बजारलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।

चैत मसान्तसम्म नाफा वृद्धि सकारात्मक भए पनि बैंकिङ क्षेत्रको अवस्था पूर्ण रूपमा सन्तुलित भने छैन । केही बैंकहरूले उल्लेखनीय सुधार देखाउँदा केही ठूला बैंकहरू अझै दबाबमा छन् । कर्जा विस्तार सुस्त रहनु, लगानी माग कमजोर हुनु र खराब कर्जा बढ्नु जस्ता चुनौतीहरू कायम छन् ।

लागत नियन्त्रण, तरलता सहजता र नियामकीय सहुलियतले नाफा वृद्धिमा योगदान पु¥याए पनि बैंकहरूबीचको असमान प्रदर्शनले क्षेत्र अझै संक्रमणकालीन अवस्थामा रहेको स्पष्ट पार्छ । आगामी चौथो त्रैमासमा अझ सुधार हुने अपेक्षा गरिएको छ ।