बैंकले भन्यो– खातावालालाई ल्याऊः दिदीको कंकाल बोकेर पैसा निकाल्न पुगे भाइ


काठमाडौं।

भारतको उडिसा राज्यको केओंझर जिल्लाबाट एउटा यस्तो घटना बाहिर आएको छ जुन सुन्दा फिल्मको पटकथा जस्तो लाग्छ। तर यसको पछाडिको गरिबी, अशिक्षा र असहायता गहिरो र मार्मिक कथा छ। जिल्लाको पटना क्षेत्रमा एक व्यक्तिले आफ्नी मृत दिदीको कंकाललाई काँधमा बोकेर बैंकमा पैसा निकाल्न गए।

यो घटना दियानाली गाउँको हो। जितु मुन्डा भन्ने व्यक्तिले आफ्नी दिदी कलारा मुन्डाको करिब दुई महिना अघि २६ जनवरी २०२६ मृत्यु भएपछि उनको बैंक खाताबाट रकम निकाल्न धेरै पटक प्रयास गरे तर बैंकले सहजीकरण नगरेपछि यस्तो विचित्रको कदम चालेका हुन् ।

मृत्यु हुनुभन्दा अघि उनकी दिदी कलाराले उडिसा ग्राम्य बैंकको मालिपोसी शाखामा करिब १९,३०० रुपैयाँ जम्मा गरेकी थिइन्, जुन उनले आफ्ना गाईवस्तु बेचेर कमाएकी थिइन् ।

वास्तवमा, उनको अन्य कुनै कानुनी उत्तराधिकारी (नोमिनी) नभएको र सो नोमिनीको पनि मृत्यु भइसकेकोले, जितु मुन्डा एक्लो दाबेदार थिए। तर बैंकका अधिकारीहरूले उनलाई निकासी प्रक्रिया पूरा गर्न मृत्यु प्रमाणपत्र र अन्य आवश्यक कागजातहरू पेश गर्न भने। जितु अशिक्षित भएका कारण उनले यी औपचारिकता नबुझेको प्रहरीले जनाएको छ ।

हार मान्दै उनले आफ्नी दिदीलाई नै प्रमाणको रूपमा प्रस्तुत गर्ने निर्णय गरे। आवश्यक कागजातहरू उपलब्ध गराउन नसकेपछि, मुन्डाले आफ्नी दिदीको चिहानबाट उनको कंकाल निकाले र मृत्युको प्रमाणका रूपमा करिब ३ किलोमिटर पैदल हिँडेर बैंकमा पुर्याए।

रिपोर्टका अनुसार, उनले कंकाल बोकेर बैंक परिसर अगाडि धर्ना दिए र तत्काल पैसा फिर्ताको माग गरे। यो दृश्य देखेपछि बैंक कर्मचारी र स्थानीयहरू त्रसित बने। जानकारी पाएपछि स्थानीय प्रहरी घटनास्थलमा पुग्यो र मुन्डालाई बुझाइ गरी कंकाल फेरि गाड्ने व्यवस्था मिलायो ।
यस विषयलाई मानवीय रूपमा हेरिने आश्वासन दिँदै अधिकारीहरूले बैंकसँग स्पष्टीकरण मागेका छन्। पटना थानाका प्रहरी निरीक्षक किरण प्रसाद साहुले जितु अशिक्षित आदिवासी भएकाले बैंकले उनलाई प्रक्रिया नबुझाएको बताए ।

प्रहरीले आश्वासन दिएपछि जितुले आफ्नो कदम गलत भएको स्वीकार गरे। जिल्ला प्रशासनले बैंकलाई जितुले रकम पाउने व्यवस्था गर्न निर्देशन दिएको छ। स्थानीय ब्लक विकास अधिकारी मनास दण्डपतले यस समस्याको समाधानका लागि आवश्यक कदम चालिने बताए ।

यस घटनाले ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको पहुँच र वित्तीय साक्षरताको अभावलाई उजागर गरेको छ। विशेषगरी सीमान्तकृत समुदायमा कागजी प्रक्रियाको जटिलताले कहाँ पुर्याउन सक्छ भन्ने यो एउटा दुखद उदाहरण हो।