शिक्षा र साहित्यका चम्किला धरोहर मेदिनी शर्माको स्मृति

752
Shares

चुँदेली भन्नासाथै चुँदीसँगको विशेष सम्बन्ध भएको भन्ने अर्थ लाग्छ । चुँदी तनहँु जिल्लाको प्रसिद्ध स्थान हो पनि । त्यही चँुदीको सिमपानी गाउँमा मेदिनी शर्मा पण्डित ‘चुँदेली’को जन्म भयो । वि.सं. १९९९ श्रावण १८ गते जन्मनुभएका उहाँको ८४ वर्षको उमेरमा २०८२ चैत्र २२ गते निधन भएको छ ।

जीवनका अति नै उर्वर तीन दशाब्दीभन्दा बढी उहाँ शिक्षण सेवामा संलग्न र सक्रिय रहनुभयो । उहाँले संस्कृत शिक्षातर्फ स्नातक (साहित्य शास्त्री) र शिक्षाशास्त्रतर्पm बी.एड्.उत्तीर्ण गर्नुभएको थियो । मेदिनी गुरु संस्कृत एवं नेपाली भाषा र साहित्यका मर्मज्ञ विद्वान् हुनुहुन्थ्यो । अत्यन्तै सरल स्वभावका धनी मेदिनी गुरुको भौतिक अभावले तनहुँ तथा चुँदी आसपासको ठूलो समुदाय यतिखेर शोकमग्न छ भने परिवार तथा आफन्तजन र उहाँबाट शिक्षित शिष्यहरूलाई गहिरो पीडाबोध भइरहेको छ ।

मैले थाहा पाएसम्म उहाँ आपूmलाई अध्यापन गराउने गुरुहरूप्रति अत्यन्तै श्रद्धा र सम्मान प्रकट गरिरहनुहुन्थ्यो । आपूmले अध्यापन गराएका विद्यार्थीहरूलाई पनि विशेषरुपमा स्नेह गर्नुहुन्थ्यो । उहाँले विशेषतः शिक्षा र साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँ सामाजिक सेवा, आध्यात्मिक संस्थाहरूको स्थापना, विकास र प्रवद्र्धनमा पनि क्रियाशील रहनुभयो । अध्ययन, अध्यापनका अतिरिक्त समुदायको सचेतना र उत्थानका अन्य गतिविधिहरूमा पनि उहाँ क्रियाशील रहनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘पढ्नु केवल पुस्तकीय ज्ञान लिनु मात्र होइन, पढ्ने व्यक्तिले आपूm उभिएको धरातल, समाजको अध्ययन र विकासमा पनि ध्यान दिनुुपर्छ ।’

गुरु मेदिनीका शैक्षिक गतिविधि ः
मेदिनी शर्मा पण्डितले प्रारम्भिक शिक्षा आफ्नो गाउँमा नै लिनुभयो । उहाँले मेरा पिताजी टीकानिधि खनालसँग शिक्षादीक्षा प्राप्त गर्नुभयो । उहाँबाटै लघुसिद्धान्त कौमुदी, संस्कृत व्याकरण, रघुवंश, हितोपदेश आदि पढेर प्रथम परीक्षा दिन काडमाडौं जानुभएको हो । उहाँ अध्ययनमा तीक्ष्ण भएको कारणले काठमाडौंको रानीपोखरीस्थित संस्कृत छात्रावासमा सहजै भर्ना हुन सफल हुनुभयो । खाने–बस्ने प्रबन्ध सरकारबाट हुने भएकाले उहाँले संस्कृत शिक्षातर्फ स्नातक (शास्त्री)को शैक्षिक योग्यता हासिल गर्नुभयो ।

ठीक त्यही समयमा तनहँुको चुँदी क्षेत्रमा विद्यालय स्थापना गर्ने विषयमा जोडदार चर्चा चल्यो । तत्कालीन अवस्थामा चुँदी क्षेत्रमा बस्ने अग्रजहरू र सोही क्षेत्रका काडमाडौंमा रहने महानुभावहरूको प्रयासस्वरुप २०२१ साल पौष ६ गते चुँदी, टुहुरेपसलमा चन्द्रावती हाइस्कूलको स्थापना भयो । यो जिल्लाकै दोस्रो विद्यालय थियो । विद्यालयको स्थापना गर्ने अग्रजहरूमध्ये मेदिनी शर्मा पण्डित पनि एक हुनुहुन्थ्यो ।

सोही विद्यालयमा उहाँले पनि शिक्षकको रुपमा अध्यापन शुरु गर्नुभयो । त्यस विद्यालयमा निरन्तर ३३ वर्ष अध्यापन गरी प्रधानाध्यापकको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । अन्त्यमा घलेछापस्थित एक विद्यालयबाट सेवानिवृत्त हुनुभयो । सेवानिवृत्त भएपछि उहाँले दुई कार्यावधि चन्द्रावती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको स्तरवृद्धि गरी ११ र १२ कक्षासमेत अध्यापन गर्न स्वीकृति लिने, भवन बनाउने, पुस्तकालय स्थापना गर्ने र प्राथमिक शाखाको छुट्टै भवन निर्माण गर्ने लगायतका धेरै काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

साहित्यसर्जक मेदिनी गुरु ः
साहित्य सिर्जना मेदिनी गुरुकोे अर्को महत्वपूर्ण कार्यक्षेत्र हो । अध्ययनको क्रममा काठमाडौं रहँदा वि.सं. २०१८ मा नै ‘पिल्सिएकी तारा’ शीर्षकको उहाँको कविता ‘विवेक विन्दु’ नामक पत्रिकामा प्रकाशित भएको भेटिन्छ । खण्ड काव्यको सिर्जनातर्पm उहाँ विशेष रुचि राख्नुहुन्थ्यो । उहाँका चारवटा खण्डकाव्य आमाको वेदना (२०४९), परदेशीको घर (२०५८), श्रद्धा सुमन (२०७१) र पुकार (२०८२) पुस्तकाकारको रुपमा प्रकाशित भएका छन् ।

विभिन्न समयमा प्रशस्तै फुटकर लेख र कविताहरू पनि प्रकाशित छन् । उहाँका खण्डकाव्यहरू– पितृदेवो भव, मातृदेवो भव, गुरुर्देवो भव जस्ता सम्मानसूचक मूल्यहरूबाट प्रभावित छन् । यसले पिता–माता र गुरुहरूप्रति सबैले अनुपालन गर्नुपर्ने नियम, सम्मान र संस्कारजन्य मान्यताको जिम्मेवारीबोध गराउँछ । पछिल्लो ‘पुकार खण्डकाव्य’को प्रारम्भमा नै बुबा–आमाप्रति समर्पण गर्दै उहाँले लेख्नुभएको छ ः

देवतुल्य पिता–माता गर्छुृ म नित्य वन्दन ।
सिर्जना शब्दको गुच्छा सभक्ति गर्छु अर्पण ।।
आपैmँ संस्थापक रहेको चन्द्रावती माध्यमिक विद्यालयप्रति उहाँको यति धेरै ममता थियो कि पुकार खण्डकाव्यको लोकार्पण पनि २०८२ जेठ ३० गते सोही विद्यालयमा नै गर्नुभयो ।

उहाँका फुटकर लेख र कविताहरूमध्ये ‘सम्झनामा टीकानिधि गुरु’ स्मृतिगन्थ (२०६८), छविचन्द्र ढकाल स्मृतिगन्थ (२०८०), रेवतीरमण खनाल स्मृतिगन्थ (२०८२) र पुष्पराज पौडेलबाट लिखित शिक्षाका ती दिन (२०७५) नामक पुस्तकहरूमा प्रकाशित लेख, कविता र भूमिकाहरूको अध्ययन गर्दा उहाँको साहित्यिक कला, लेखन शैली र रचना गर्न सक्ने उत्कृष्ट क्षमता सहजै अनुभव गर्न सकिन्छ ।

गुरु टीकानिधि खनालप्रति उहाँको अगाध श्रद्धा थियो । मेदिनी गुरुसँग संवाद गर्दा र उहाँका रचनाहरू पढ्दा गुरुप्रतिको भक्तिभाव प्रकट भइरहन्थ्यो । उहाँले भन्नुभएको छ, ‘जसबाट विद्याको वरदान प्राप्त गरी आजको रमाइलो सानो संसारको निर्माण भयो, उहाँ हुनुहुन्थ्यो मेरा पूजनीय गुरु टीकानिधि खनाल ।’ जसले यस संसारलाई हेर्ने आँखा खोलिदिनुभयोे भन्दै टीकानिधि गुरुप्रति समर्पित कविताको एक अंश यस्तो छ ः
सदा ज्ञानी टीकानिधि सरस विद्यामृत दिने,
नजानी सोधेमा रतिभर नझर्की भनिदिने ।
न हो ईष्र्या डाहा, परहित थियो जीवनविधि,
खटी आपैmँ सोभैm अनवरत दीक्षा गुणनिधि ।।

आदिकवि भानुभक्त आचार्यको प्रभाव उहाँको साहित्य सिर्जनामा परेको प्रतीत हुन्छ । आशुकविजस्तै तत्कालै कविताको रचना गर्न सक्ने अद्भुत क्षमता उहाँमा थियो । भानुभक्तको जन्मदिनका अवसरमा भानु जन्मस्थलमा आयोजित कार्यक्रमहरूमा सम्भव भएसम्म उहाँ उपस्थित हुने गर्नुहुन्थ्यो । पछिल्लोपटक २०८२ असार २९ गते भानुजयन्तीको विशेष कार्यक्रममा उपस्थित भएर उहाँले सारगर्भित मन्तव्यसमेत दिनुभएको थियो । कसैको जन्मदिन वा विशेष अवसरमा उहाँले दिने शुभकामना पनि कवितात्मक एवं साहित्यिक लक्षणले भरिपूर्ण हुने गथ्र्यो ।

आध्यात्मिक तथा धार्मिक गुरु ः
आध्यात्मिक तथा धार्मिक कार्यमा उहाँको अचल निष्ठा र प्रबल विश्वास थियो । उहाँ त्यस क्षेत्रमा आयोजना हुने विभिन्न चाड–पर्व तथा धार्मिक अनुष्ठानहरूमा सहभागी हुने गर्नुृहुन्थ्यो । प्रत्येक वर्ष हुने कुलदेवताको पूजामा सामेल भई कुलको मान्यता र परम्पराअनुसार सम्पन्न गर्ने कार्यमा उहाँ अग्रणी हुनुहुन्थ्यो । यस वर्षको पूजामा भने अस्वस्थताको कारण उपस्थित हुन नसकेकोमा उहाँ किञ्चित् दुःखित हुनुभएको थियो ।

आफ्नै गाउँ चुँदीमा पञ्च मन्दिरको स्थापना, संरक्षण र नित्य पूजाको प्रबन्ध गर्न तथा विशेष कार्यक्रमहरूमा उहाँ सरिक भइरहनुहुन्थ्यो । पितृहरूप्रति आदर र सम्मान गर्ने तथा तिथिका दिन श्राद्धादि कर्म गर्नुहुन्थ्यो । खानपानमा पनि उहाँ विशेष ध्यान दिनुहुन्थ्यो । उहाँ प्रायः सात्विक भोजन रुचाउनुहुन्थ्यो । जीवनभर कहिल्यै चिया नखाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने र नशालु पदार्थबाट सधैँ टाढा रहने उहाँको नैतिक आचरण थियो ।

सामाजिक अगुवा ः
सामाजिक कार्यमा उहाँ निरन्तर संलग्न भइरहनुहुन्थ्यो । चन्द्रावती माध्यमिक विद्यालयको संस्थापक सदस्यका अतिरिक्त वि.सं. २०६३ मा ११ र १२ कक्षा सञ्चालनको अनुमति प्राप्त भएपछि उच्च माध्यमिक विद्यालयको संस्थापक अध्यक्ष, वि.सं. २०५८ देखि २०६९ सम्म चन्द्रिका विकास समिति तनहुँ सूरको अध्यक्ष तथा वि.सं. २०५१ मा शैक्षिक सूचना केन्द्र, टुहुरेपसलको संस्थापक अध्यक्ष भएर ती संस्थाहरूलाई उचाइमा पु¥याउनमा उहाँको उल्लेखनीय योगदान रह्यो । यसका अतिरिक्त स्थानीय स्तरमा बाटो, सडक, पुल निर्माण तथा विद्युतीकरण गर्न र विकास निर्माणका अन्य कार्यहरूका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरण गर्नलायक छन् ।

पदक, विभूषण तथा सम्मान ः
जीवनको ऊर्जाशील समयमा शिक्षा, साहित्य, समाजसेवा र आध्यात्मिक कार्यमा गहन योगदान पु¥याउनुभएका मेदिनी शर्मालाई सरकारी तथा अन्य निकायहरूबाट उच्च मूल्याङ्कन गर्दै पदक, विभूषण तथा सम्मानपत्र प्रदान गरिएको थियो । उहाँले वि.सं. २०४४ मा राष्ट्रिय शिक्षा समितिबाट शिक्षा दिवस पदक, वि.सं. २०५६ मा जिल्ला शिक्षा कार्यालय तनहुँबाट दीर्घ सेवा कदर–पत्र, वि.सं.२०५६ मा भानु जन्मस्थल विकास समितिबाट सम्मान–पत्र, वि.सं.२०६५ मा नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्रशंसा–पत्र, वि.सं. २०६७ मा शैक्षिक सूचना केन्द्रबाट सम्मान–पत्र र वि.सं. २०६९ मा चन्द्रावती उच्च माध्यमिक विद्यालयबाट सम्मान–पत्र प्राप्त गर्नुभएको थियो । यसका साथै निवृत्त शिक्षक समाज जिल्ला समिति तनहुँले २०८२ को गुरु पूर्णिमाका दिन उहाँलाई सम्मान गरेको थियो ।

वि.सं.२०८१ पौष ६ गते चन्द्रावती माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सवका दिन सोही विद्यालयका २३ औं वर्षीय विद्यार्थी समूह (२०४५) ले तत्कालीन अवस्थामा आपूmहरूलाई अध्यापन गराउने गुरुहरूलाई सम्मान गरेर उदाहरणीय कार्य गरेको थियो । त्यसरी सम्मानित हुने गुरुहरूको पहिलो नम्बरमा मेदिनी शर्मा हुनुहन्थ्यो । यसै गरी अर्को वर्ष २४ औं वर्षीय विद्यार्थी समूह (२०४६) ले पनि गुरु मेदिनी शर्मासहित अन्य गुरुहरुलाई सम्मानित गरेको थियो ।

मेदिनी शर्मा ‘चुँदेली’ तनहँु र चुँदी क्षेत्रका सम्मानित व्यक्तित्व, शिक्षक, समाजसेवी, कवि र विविध भूमिका निर्वाह गर्ने एक अमरज्योति हुनुहुन्थ्यो । सरल र शान्त स्वभावजस्ता गुणले भरिपूर्ण उहाँले सद्विचार र सदाचारको पाठ पनि धेरैलाई सिकाउनुभएको छ । जीवनको अधिक समय आफ्नै थलोमा रही समाज विकासका विविध क्षेत्रमा उहाँले योगदान पु¥याउनुभयो ।
उहाँका छोराछोरी विभिन्न पेसा व्यवसायमा राजधानीतिरै रहेकाले २०८२ को दशैँ–तिहार उहाँले परिवारसँगै मनाउनुभयो । त्यसपछि उहाँ क्रमशः अस्वस्थ हुनुभयो । अस्वस्थ रहँदाकै अवधिमा २०८२ माघ १ गते कविताको माध्यमबाट सामाजिक सञ्जालमार्पmत सबैलाई सूचना दिनुभएको थियो । सम्भवतः यही कविता नै उहाँको अन्तिम सिर्जनामध्येको एक हो ः
अस्वस्थ कारणले गर्दा, छु म उपचारमा ।
गर्दै छु सन्नती साथ, आप्mनै बास निवासमा ।।

अन्त्यमा चैत्र महिनामा परेको वैशाख कृष्णपक्ष तृतिया तिथिका दिन बिहान ९ः३० बजेतिर उहाँले आफ्नो भौतिक शरीरलाई सदाका लागि विश्राम दिनुभयो । सोही दिन पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार सम्पन्न भयो ।

माध्यमिक तहमा मलाई अध्यापन गर्ने र सधैँ गुरुपूर्णिमाका दिन मैले सम्झने, सम्पर्क गर्ने र सम्मान गर्ने एकमात्र गुरु उहाँ नै हुनुहुन्थ्यो । परमादरणीय गुरु–दाजु मेदिनी शर्मा ‘चुँदेली’को निधनबाट शोकसन्तप्त परिवार तथा आफन्तजनमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट गर्दै उहाँप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलि !