लमजुङ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँमा सम्पन्न नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गन्नी फुटबल क्लब पोखराले लगातार दोस्रो वर्ष आफ्नो नाममा दर्ता गरेको छ। स्वर्गभूमि रंगशालामा सोमबार भएको फाइनल खेलमा गन्नीले पोखराका बौद्ध शान्ति क्लब, रामघाटलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको गन्नीले पहिलो गोल १०औं मिनेटमा सन्दीप रानामगरमार्फत गर्यो। कृष्णबहादुर आलेको सटीक पासलाई सदुपयोग गर्दै उनले टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुवातसँगै दिनेश हेन्जनले अर्को गोल थप्दै गन्नीलाई थप मजबुत बनाए। त्यसपछि कृष्णबहादुर आलेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै अर्को गोल गरे भने टीकाराज गुरुङले अन्तिम गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
विजेता गन्नीले नगद ८ लाख रुपैयाँ, गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बौद्ध शान्ति क्लब रामघाटले ५ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गन्नीका गोलरक्षक दीप कार्की म्यान अफ द म्याच घोषित भए। उनले २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। प्रतियोगिताभर उत्कृष्ट खेलाडीको उपाधि रामघाटका रोशन छन्त्यालले जिते भने ६ गोलसहित गन्नीका दिनेश हेन्जन सर्वाधिक गोलकर्ता बने। दुवैले जनही १० हजार रुपैयाँ र ट्रफी हात पारे।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, आयोजक स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, सचिव उमलबहादुर विक, खेल संयोजक पदमराज घले तथा वडा न. ३ का वडाअध्यक्ष आसबीर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।
नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गतेदेखि सुरु गरिएको उक्त प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहेको थियो। घलेगाउँमा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धनसँगै खेलकुदको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।











प्रतिक्रिया