गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेस झस्किएको मात्र छैन, अहिले त पार्टी आफ्नै गुट–उपगुटको चपेटामा परेर अस्तव्यस्त बन्दै गएको देखिन्छ । विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापाले पार्टीलाई सही लयमा फर्काउन नसक्दा पार्टीभित्रको किचलो घट्नुको सट्टा झनै बढ्दै गएको छ । यसले पार्टीलाई धरमराउँदो अवस्थामा पु¥याएको छ । एकातिर पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बाध्यता छ भने अर्कोतिर आन्तरिक विग्रहले पार्टीको स्थिति नाजुक बन्दै गएको छ । यस्तो अवस्था कांग्रेसजनका लागि निराशाको विषय बनेको छ ।
भर्खरै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीले कारबाहीको तयारी गरेको छ । खड्काले कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटर हेड प्रयोग गर्दै दोस्रोपटक वक्तव्य जारी गरेपछि पार्टी अनुशासन समिति सक्रिय भएको हो । अनुशासन समितिले यसअघि नै उनलाई लेटर हेडको दुरुपयोग नगर्न सचेत गराइसकेको थियो । तर, उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि नै पुनः त्यस्तो गतिविधि दोहो¥याएपछि अब कारबाहीको बाटो अपरिहार्य बन्दै गएको संस्थापन पक्षले बताउँदै आएको छ ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले पार्टीको अनुशासन नमान्ने जो कोही कारबाहीको दायरामा आउने स्पष्ट पारिसकेका छन् । उनले फौजमा हतियार नै खोसिने उदाहरण दिँदै पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कुनै सुरक्षा नहुने बताए । उनको यो भनाइले आगामी दिनमा पार्टीले कडा कदम चाल्ने संकेत गरेको छ । त्यस्तै, सभापति गगन थापाले पनि पार्टी कार्यालयबाहिर हुने अनधिकृत गतिविधिको सीमा नाघ्नेलाई सहन नसकिने चेतावनी दिइसकेका छन् । यसले पार्टीभित्र अनुशासनको प्रश्नलाई लिएर सभापति स्वयं गम्भीर रहेको देखाउँछ ।
तर, प्रश्न यो हो कि के कारबाहीले मात्र पार्टीको विकराल बन्दै गएको आन्तरिक विग्रहलाई नियन्त्रण गर्न सक्छ ? पार्टीको नेतृत्वले विगत लामो समयदेखि आन्तरिक लोकतन्त्र, विचारगत मतभेद र व्यक्तिगत महत्वाकांक्षाको सन्तुलन मिलाउन सकेको छैन । फागुनको निर्वाचनपछि झस्किएको पार्टीलाई जोगाउन नेतृत्व सफल हुन नसक्दा पार्टीभित्रै चिरा गहिरिँदै गएको छ । एकातिर सभापति थापाले पार्टीलाई नयाँ दिशा दिने प्रयास गरिरहेका छन् भने अर्कोतिर पार्टीकै पूर्वकार्यवाहक सभापतिले समानान्तर गतिविधि गर्नुले पार्टीमा दुईधारे नेतृत्वको छाप दिन्छ । यसले साधारण कार्यकर्तादेखि माथिल्लो तहसम्म अन्योल र अस्थिरता सिर्जना गरेको छ ।
नेपाली कांग्रेस अहिले जटिल संकटको मोडमा छ । पार्टीभित्रको गुटबन्दी र अनुशासनहीनताले पार्टीलाई जनताको विश्वास गुमाउने खतरनाक अवस्थातर्फ धकेलिरहेको छ । आवश्यक समयमा सशक्त र अनुशासित ढंगले प्रस्तुत हुन नसक्दा पार्टीको भावी यात्रा ओरालो लाग्ने खतरा बढेको छ । पार्टीका हरेक पङ्क्तिले बुझ्नुपर्छ– आन्तरिक विग्रहले कसैलाई पनि जिताउँदैन । वर्तमान अवस्थामा पार्टीले स्पष्ट नीति, अनुशासन र एकताको बाटो समात्न नसके इतिहासले यसलाई कठोर मूल्य चुकाउन बाध्य बनाउनेछ । पार्टीको नेतृत्व र कार्यकर्ता सबैको अहिलेको पहिलो प्राथमिकता पार्टीलाई धरमराउनबाट बचाउनु र जनतामा पुनः विश्वास जगाउनु हुनुपर्छ । अन्यथा, कांग्रेसकै लागि यो एउटा नसोचेको नियति साबित हुनेछ ।











प्रतिक्रिया