काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलन शुरु, अनुसन्धानलाई नीति निर्माणसँग जोड्ने लक्ष्य

1.03k
Shares

काठमाडौं ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ शिखर सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका छन् ।


सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्ला वर्षहरूमा नयाँ–नयाँ रोगहरू देखा पर्दै गएको उल्लेख गर्दै स्वास्थ्य अनुसन्धानको आवश्यकता झन् बढ्दै गएको बताए । उनले संक्रामक रोग, नसर्ने रोग, आहार, व्यवहार तथा जीवनशैलीसँग सम्बन्धित विषयहरूमा निरन्तर अनुसन्धान अपरिहार्य रहेकोमा जोड दिए ।


उनले वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्यलाई नीति निर्माणसँग जोड्न सके मात्र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बताए । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरे पनि त्यसलाई व्यवहारमा उतार्न अनुसन्धान आधारित निर्णय आवश्यक रहेको उनको भनाइ थियो ।


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा डा. नारायणविक्रम थापाले सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रमा भएका नयाँ उपलब्धिहरू आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै आगामी रणनीतिक मार्गचित्र तयार पार्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रलाई वैज्ञानिक आधारमा अगाडि बढाउन यस्ता सम्मेलनहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीका अनुसार सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया रहेको छ ।

सम्मेलनले अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधान खोज्ने लक्ष्य लिएको उनले बताए ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा व्यापक छलफल भइरहेको छ । नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति व्यवस्थापन, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापन लगायत विषयमा प्रस्तुति र अन्तरक्रिया भइरहेका छन् ।

यसैगरी आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेसागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवा पहुँचमा असमानता, सामाजिक निर्धारक, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचजस्ता विषयमा पनि गहन छलफल भइरहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे पनि विशेष सत्र राखिएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा सुधार गर्ने सम्भावनाबारे सहभागीहरूले अनुभव आदानप्रदान गरिरहेका छन् ।
तीन दिने सम्मेलनमा देश तथा विदेशका गरी १ हजार २०० भन्दा बढी स्वास्थ्य तथा विज्ञान क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ । बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी भएका छन् ।

सम्मेलनका लागि प्राप्त ४६५ वटा अनुसन्धान सार (एब्स्ट्र्याक्ट) मध्ये ९१ वटा मौखिक प्रस्तुति र १२० वटा पोस्टर प्रस्तुति चयन गरिएको छ । सम्मेलनमा एक प्लेनरी सत्र, ३५ आमन्त्रित प्रस्तुति, १२ समानान्तर सत्र र पाँचवटा प्यानल छलफल सञ्चालन हुनेछन् ।

सम्मेलनमार्फत नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, विकास साझेदार तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याइएको छ । यसले स्वास्थ्य क्षेत्रका चुनौती, सम्भावना र नवीनतम अभ्यासहरूबारे व्यापक बहसको वातावरण सिर्जना गरेको छ ।

आयोजकका अनुसार सम्मेलनले स्वास्थ्य अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रमाणमा आधारित नीति निर्माणलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । साथै अनुसन्धानकर्ता, शैक्षिक संस्था र स्वास्थ्य उद्योगबीच सहकार्य विस्तारमा पनि यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

नेपालमा बढ्दो नसर्ने रोग, महामारीको जोखिम, जलवायु परिवर्तन र स्वास्थ्य सेवा पहुँचमा देखिएको असमानता जस्ता चुनौती समाधानका लागि वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता सम्मेलनले पुनः औंल्याएको छ ।

सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार सम्मेलनबाट प्राप्त निष्कर्षहरू आगामी स्वास्थ्य नीति तथा कार्यक्रम निर्माणमा उपयोग गरिने अपेक्षा गरिएको छ ।