३ प्रदेशमा चट्याङ्गसहित वर्षा, ५ प्रदेशमा हावाहुरी चल्ने


काठमाडौँ ।

देशभर हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसका कारण बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

आज दिउँसो हिमाली क्षेत्रसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।

यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

आज राति पनि पहाडी तथा हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहँदा अन्य क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। साथै, तराई क्षेत्रमा हावाहुरीको जोखिम कायमै रहने जनाइएको छ।