शैक्षिक सत्र सुरु नहुँदै निजी विद्यालयमा धमाधम भर्ना

स्थानीय तह रमिते

2.63k
Shares

काठमाडौं।

उपत्यकाका निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना जारी राख्दा स्थानीय तह रमिते भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नियन्त्रणमा विद्यालय रहँदा शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना गर्ने प्रचलन थियो । स्थानीय तहको अधिकार क्षेत्रभित्र कक्षा १० सम्मको शिक्षा परेपछि झन् भद्रगोल भएको छ ।
राजनीतिक आडमा स्थानीय तह सञ्चालन गरिरहेका र त्यसको नियन्त्रणमा स्थानीय तहको शिक्षाको संयन्त्र रहेको अवस्थामा नियम उल्लंघन हुन थालेको छ । विशेष गरी उपत्यकाका ठूला भनिएका विद्यालयले चैत महिना सुरु भएलगत्तै धमाधम भर्ना सुरु गरेका छन् ।

हरेक वर्ष वैशाख २ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । शैक्षिक सत्र सुरु हुनु एक महिनाअगावै धमाधम भर्ना सुरु गरेका छन् । अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकारी विद्यालयलाई कस्न सक्ने स्थानीय तहले निजी विद्यालयलाई छाडा छाडेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘खै एक रूपता ? निजीलाई खुला छाड्ने अनि सरकारीलाई कस्ने ? यो कदापि ठीक होइन ।’ उहाँले सबै स्थानीय तहले भर्ना नयाँ भर्ना खुला हुने समय तोकेर क्यालेन्डर जारी गर्नुपर्ने बताउनुभयो । ‘अहिले त झन मनपरी छ । जसले जे गरे पनि भयो, निजीले फागुनदेखि नै भर्ना खुलेको सूचना जारी गरिरहँदा स्थानीय तहको शिक्षा विभाग, महाशाखा वा शाखा रमिते भएको छ’ –महासंघ अध्यक्ष भण्डारीको भनाइ थियो ।

ललितपुरका अधिकांश ठूला विद्यालयले भर्ना खोलिसकेका छन् । काठमाडौंको अवस्था त्यस्तै छ । भक्तपुरका केही विद्यालयले भर्ना गर्न थालिसकेका छन् । ललितपुर महानगरपालिकका शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘स्थानीय निकायले जुन नियम लागू गरेको छ । त्यही नियम पालना गर्न विद्यालयलाई आग्रह गर्दछौं ।’ महासंघका अध्यक्ष भण्डारीले अहिले हरेक अनलाइन, पत्रिका र सामाजिक सञ्जालमा भर्ना खोलेको सूचना आउन थालेको तथा धैरै ठूला विद्यालयले भर्ना सुरु गरिसकेको बताउनुभयो ।

विद्यालयले धमाधम भर्ना सुरु गरेपछि काठमाडांै महानगरपालिकाले वैशाख लागेपछि मात्र भर्ना चालू गर्न निर्देशन दिएको छ । विभाग प्रमुख नमराज ढकालले आइतबार सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सूचनालाई अटेर गरे कडा कारबाही गर्नेछांै । हामी आजैबाट अनुगमन गर्ने छौं, यदि नियमविपरीत भर्ना गरे तत्काल कारबाही गर्नेछौं ।’ कामपाले भर्नाबाहेक विद्यालयबाट पाठ्यपुस्तक र पोसाक बिक्रीवितरण गर्न रोक लगाएको छ । कतिपय विद्यालयले विद्यालयबाटै पाठ्यपुस्तक र पोसाक बिक्रीवितरण गरिरहेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गर्न निर्देशन दिएको हो ।
पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू प्रयोग गर्ने, विद्यालयभित्रैबाट पाठ्यपुस्तक, थप पाठ्यसामग्री तथा विद्यालय पोसाक खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य पार्ने गरेको सूचना तथा गुनासाहरू प्राप्त भएको भन्दै महानगरले त्यस्ता क्रियाकलाप नगर्न विद्यालय सञ्चालकहरूलाई सचेत गराएको छ ।

कामपा शिक्षा ऐन २०७५ ले गरेका कानुनी प्रावधानहरू सम्बन्धित विद्यालयहरूले पूर्ण रूपमा पालना गर्न र गराउन कामपाले आग्रह अनुरोध छ । कामपा शिक्षा विभागले जारी गरेको सूचनामा शैक्षिक सत्र २०८३ सुरु भएपश्चात् मात्र विद्यालयमा विद्यार्थी भर्ना गर्ने र गराउने, राष्ट्रियताप्रति आँच आउने पाठ्यसामग्री भएको पाठ्यपुस्तक विद्यालयमा अध्यापन नगराउने, विद्यालयले विद्यार्थीका लागि एकै किसिमको, कम खर्चिलो, साधारण, राष्ट्रियता झल्काउने वा हावापानी सुहाँउदो पोसाक तोकी लागू गर्न आग्रह गरेको छ ।

पहिलोपटक फरक विद्यालयका निरीक्षक

ललितपुरमा आजबाट आधारभूत तहअन्तर्गत कक्षा ८ को परीक्षा सुरु भएको छ । ललितपुर महानगरपालिकाले देशभरका स्थानीय तहमध्ये पहिलोपटक सबै विद्यालयमा फरक विद्यालयका निरीक्षक खटाएको छ । महानगरपालिकाले ३११ जना निरीक्षकलाई नियुक्तिपत्र दिएर परीक्षा केन्द्रमा खटाएको छ ।

‘आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था भए पनि फरक विद्यालयका शिक्षकलाई निरीक्षकका रूपमा नियुक्ति गरेका छौं’ –महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायले भन्नुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयका १ हजार ९ सय ६४ र संस्थागतका ५ हजार १३ विद्यार्थी गरी ६ हजार ९ सय ७७ विद्यार्थी सहभागी छन्् । महानगरभित्र १ सय ६५ विद्यालय छन् ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै विद्यालयमा फरक विद्यालयका निरीक्षक परिचालन भएको उहाँको भनाइ थियो । महाशाखाका अनुसार प्रतिनिरीक्षक गार्ड बसेबापत ३ सय र यातायात खर्चबापत १ सय रुपियाँ उपलब्ध गराएको छ ।

देशभर ७५३ स्थानीय तहमध्ये पहिलोपटक फरक विद्यालयका निरीक्षक खटाउन सुरु गरेको जानकारी गराउँदै शिक्षा महाशाखा प्रमखु उपाध्यायले यसलाई आगामी वर्षमा समेत निरन्तरता दिइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘फरक विद्यालयका निरीक्षक खटाउँदा परीक्षा थप व्यवस्थित हुने अपेक्षा गरेका छौं ।’ महाशाखा प्रमुख उपाध्यायले परीक्षा सुधार गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो ।