चिकित्सा शिक्षा आयोगमा नेतृत्वविहीनता अन्त्य गर्न डा. केसीको सरकारलाई चेतावनी


काठमाडौँ ।

चिकित्सा शिक्षा आयोग लामो समयदेखि नेतृत्वविहीन हुँदा महत्वपूर्ण कामकारबाही प्रभावित भएको भन्दै प्रा.डा. गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत उनले गैर–प्राविधिक व्यक्तिबाट प्राविधिक संस्थाको नेतृत्व गराउँदा गम्भीर संकट उत्पन्न हुने चेतावनी दिएका छन्।

डा. केसीले आयोगका पूर्व पदाधिकारीहरूलाई एकमुष्ट हटाएर कर्मचारीबाटै संस्था सञ्चालन गर्ने सरकारी मनसायप्रति आपत्ति जनाउँदै संस्थापक पदाधिकारीहरूमध्येबाट तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग गरेका छन्। साथै आयोगको ऐन र नियमावलीअनुसार निष्पक्ष ढंगले योग्य, दक्ष र निष्ठावान् नयाँ पदाधिकारी नियुक्त गर्न पनि सरकारलाई आग्रह गरेका छन्। माग सम्बोधन नभए सत्याग्रहसहित आन्दोलनमा उत्रिने चेतावनी उनले दिएका छन्।

विज्ञप्तिमा नेपालगन्जकी निर्मला कुर्मी हत्या प्रकरणको छानबिन तथा कारबाही प्रक्रिया शीघ्र टुंग्याई न्याय सुनिश्चित गर्न पनि सरकारलाई आह्वान गरिएको छ। साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायसम्बन्धी विगतका सहमति कार्यान्वयन गर्न सरकारको पुनः ध्यानाकर्षण गराइएको छ।