नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन अवरुद्ध हुनसक्ने


काठमाडौँ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले राहदानी वितरण प्रणालीमा नयाँ प्रविधि जडान गर्ने तयारीसँगै केही समय सेवा अवरुद्ध हुनसक्ने जनाएको छ। विभागका अनुसार पुरानो प्रणाली विस्थापन गरी नयाँ प्रणाली जडान गर्ने क्रममा अन्तरिम अवधिमा राहदानी सेवा एकदेखि केही दिनसम्म बन्द हुन सक्नेछ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म प्रभावित हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा भने करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने जनाइएको छ।

नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन भने एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिँदा हालको भन्दा बढी समय लाग्न सक्ने सम्भावना रहेको बताइएको छ।

राहदानी विभागले सेवा प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली जडानको प्रक्रिया अघि बढाएको जनाएको छ।

विभागले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। साथै, नयाँ प्रणाली जडानसँग सम्बन्धित विस्तृत सूचना निकट भविष्यमा सार्वजनिक गरिने विभागले जनाएको छ।