‘खड्गप्रसाद प्रवृत्ति’ अब नजन्मियोस्

5.26k
Shares

गएको साता सम्पन्न निर्वाचन र त्यसले दिएको परिणामले यति बेला सिङ्गो मुलुक तरङ्गित छ । विगत ३५–३६ वर्षदेखि प्रजातन्त्रको नाममा आफूहरुलाई निर्विकल्प घोषणा गरेर ताण्डव गरिरहेका पुराना दलहरुलाई निर्वाचनको परिणामले लगभग अचेत अवस्थामा पु¥याएको छ ।

अर्कोतिर भरसक बहुमत, नभए पनि ठूलो दलको हैसियतले संसद्मा उपस्थितिको अपेक्षासहित चुनावी मैदानमा होमिएका नयाँ भनिएकाहरुलाई पनि दन्त्य कथाझैँ लाग्ने यो अनपेक्षित र ऐतिहासिक जीतको आवेगलाई सम्हाल्न मुस्किल परिरहेको देखिन्छ । विगतमा भएका निर्वाचनहरुभन्दा यस निर्वाचनमा फरक दुई विशेषताहरु देखिए । पहिलो, निर्वाचन आयोगको तथ्यांकअनुसार यो निर्वाचनमा लगभग ६० प्रतिशत मतदाताले प्रत्यक्ष मतदानमा सहभागिता जनाएको देखिन्छ ।

तर विभिन्न कारणले प्रत्यक्षरुपले मतदानमा सहभागी हुन नपाएका नागरिकहरु पनि यो निर्वाचनमा अभूतपूर्व रुपले जोडिएका थिए । अध्ययन, रोजगारी वा अन्य विभिन्न कारणले मुलुकबाहिर रहेकाहरु वा मतदानका लागि उमेर नपुगेकाहरुसमेतले विभिन्न माध्यमबाट आ–आफ्ना घरपरिवार, इष्टमित्र, साथीभाइ वा समाजलाई प्रभावित गरिरहेका थिए, जुन यसअघिको निर्वाचनमा खासै देखिँदैनथ्यो । दोस्रो विशेषता भनेको एजेन्डामा देखियो । विगतको निर्वाचनमा नागरिकहरुको आफ्नो कुनै एजेन्डा हुँदैनथ्यो, आ–आफ्नो आस्थाअनुसारले मतदान गरेको देखिन्थ्यो । अझ विगतको दुई चुनावलाई हेर्ने हो भने आफ्नो आस्था विपरीतका दलसँग आफू सम्बद्ध दलले गठबन्धन गरेको थियो भने सो दललाई समेत मतदान गरेको थियो ।

यसरी नेतृत्वले विभिन्न किसिमको सिद्धान्त र वादको नाममा मुलुक र जनतालाई सकुन्जेल एक्लै लुटे, एक्लै लुटन नसक्ने भएपछि गठबन्धन बनाएर लुट्न शुरु गरे । विभिन्न किसिमको प्रयोग गर्दै आफूहरुमाथि भइरहेको चरम शोषणबाट नागरिकहरु यति आजित थिए कि भाद्र २३–२४ को घटनाको परिणामस्वरुप हुन गइरहेको निर्वाचनमा नागरिकहरुले एउटा अघोषित अथवा भनौँ मौन गठबन्धन गरे अनि एकमात्र एजेन्डामा एकताबद्ध भए– ‘पुराना दल सफाया अभियान’ ।

कुनै पनि किसिमको सर्त अनि हस्ताक्षरकर्ताविनाको नागरिकहरुबचीको यो मौन गठबन्धनको सुइँको पुराना दलहरुले त पाएनन् नै, नयाँहरुले समेत यस्तो कल्पना गरेका थिएनन् । नागरिकहरुका बीचमा विभिन्न किसिमको नारा दिएर विभाजन ल्याई लुट्न पल्केकाहरुले मत विभाजनको फाइदा नउठाउन् भन्नेतर्पm समेत आम नागरिक सचेत देखिए, जसको परिणाम अत्यधिकको रोजाइमा परेका थिए बालेन्द्र (बालेन) साह अनि उनी आबद्ध दलको चुनावचिह्न घन्टी ।

पुराना दल सफाया अभियानमा आम नागरिकबीच यस्तो एकता देखियो कि उनीहरुले अरु केही सुन्नै चाहेनन् । विदेशी एजेन्ट, लुसीफर, सहकारी ठग, गजेडी, भाद्र २३–२४ घटनाका खलनायकजस्ता अनेक उपमा दिइयो तर जनता केही सुन्न तयार देखिएनन् । आफ्नो क्षेत्रमा कस्ता–कस्ता उम्मेदवार छन् ? आफूले मत दिन लागेको उम्मेदवारको पृष्टभूमि, नियत, योग्यता, क्षमता के हो ? केही हेरेनन् ।

दुर्गम ग्रामीण बस्तीहरुको त कुरै छाडौँ, काठमाडौँमा समेत आफूले मतदान गरेको उम्मेदवारको नाम नै थाहा नभई मतदान गर्ने प्रशस्तै देखिन्थे । धनुषा क्षेत्र नम्बर ३ का रास्वपाका उम्मेदवार किशोरी साह ठेक्कापट्टामा कालोसूचीमा परेका कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्दासमेत त्यस क्षेत्रका बहुमत मतदाताले उनलाई नै मतदान गर्नुले आम नागरिकमा पुराना दलहरुप्रतिको वितृष्णा बुझ्न सकिन्छ ।

यसपटकको निर्वाचनमा सबैभन्दा बढी चर्चा र चासो झापा ५ को हुन गयो । जुनसुकै उमेर समूहका किन नहुन्, चाहे जुनसुकै निर्वाचन क्षेत्रका मतदाता वा उम्मेदवार सबैको ध्यान झापाको यस क्षेत्रले तानिरह्यो । संञ्चारमाध्यम हुन् कि सामाजिक सञ्जाल, चियापसल हुन् कि पीपल चौतारी सर्वत्र झापा ५ चर्चाको शिखरमा रह्यो । झापाका ५ निर्वाचन क्षेत्र मात्र नभई मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये झापा ५ को नै सर्वाधिक चर्चा हुनुको मुख्य कारण थियो– यस क्षेत्रका दुई उम्मेदवार, जसलाई आ–आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए ।

त्यस मध्ये एक थिए नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली, जो पटक–पटक मन्त्री, उप–प्रधानमन्त्री हुदै चारपटक प्रधानमन्त्री भइसकेका थिए । अर्का थिए– काठमाडौँ महानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिई ओलीलाई टक्कर दिन उनकै निर्वाचन क्षेत्रमा चुनावी मैदानमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह । राजनीतिक रुपले बालेन्द्र साहको खासै पृष्ठभूमि देखिँदैन । युवाहरुमाझ ¥यापरको परिचय बनाएका बालेन्द्र ४ वर्षअघि एक्कासि काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र रुपले उम्मेदवार भई अत्यधिक मतका साथ विजयी भएका थिए ।

तर खड्गप्रसादको राजनीतिक यात्रा बालेन्द्रको उमेरभन्दा पनि धेरैले बढी छ । नक्सलवादी विद्रोहको सिको गर्दै २०२८ सालमा झापामा केही युवाहरुले ‘वर्गशत्रु खत्तम अभियान’ शुरु गरी झापालाई आतंकित बनाए, जसको सदस्य खड्गप्रसाद पनि थिए । तत्कालीन समयमा भएको विभिन्न हत्यामध्ये २०२९ साल वैशाखदेखि पौषसम्ममा बुटन चौधरी, उद्रकान्त राजवंशी, धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्र ढकालको हत्यामा प्रत्यक्ष रुपले जोडिएको किटान गरी अदालतले उनलाई जेल सजाय सुनाएको थियो ।

मात्र २०–२१ वर्षको उमेरमा विभिन्न हत्या अभियोगमा जेल पर्नुलाई विभिन्न प्रसंगहरुमा उनले गौरवका साथ बखान गरेको सुनिन्छ । त्यही हत्याको शृङ्खला नै उनको राजनीतिमा प्रस्थान विन्दु मानिन्छ । आजको दिनसम्म आइपुग्दा उनै खड्गप्रसाद व्यक्तिमा मात्र सीमित रहेनन्, प्रवृत्तिमा रुपान्तरण भएका छन् । यसका लागि उनले ५०–५२ वर्ष लगानी गरेका छन् ।

म मात्र सही हुँ, मैले जे भन्छु त्यही नै सत्य हो, मलाई कुनै पनि किसिमको प्रश्न गर्न पाइँदैन, मप्रति असहमति जनाउनेहरु सबै झुटा हुन्, मैले कसैको कुरा सुन्न जरुरी छैन, म नै सर्वज्ञ हुँ भन्ने सोच नै खड्गप्रसाद प्रवृत्ति हो । उनले नेतृत्व गरेको नेकपा एमाले र उनका अनुयायीहरु उनको यस प्रवृत्तिसँग पूर्णतया सहमत देखिन्छन् र इमानदारीका साथ उनको अनुशरण गरिरहेका छन् ।

वास्तवमा यो प्रवृत्तिको अनुशरण गर्नु चानचुने कुरा होइन, यसका लागि धेरै कुरा त्याग गर्न सक्नुपर्छ । यसका लागि विवेक, इमाननदारिता, निष्पक्षता, लज्जा, राष्ट्रियता, प्रेमभाव, भाइचारा सबै त्याग्न सक्नुपर्छ । यस्ता प्रवृत्तिका व्यक्तिलाई न त मुलुकको आँच–प्रतिष्ठा खस्केकोमा चिन्ता हुन्छ, न त भाग्नुपरेकोमा ग्लानि । चारपटक प्रधानमन्त्री हुँदा छलकपट, झुट, बेसर्मी, भ्रष्टाचार अनि राष्ट्रघातलाई सधैँ पहिलो प्राथमिकतामा राखेको व्यक्ति आज आएर मुलुक पहिलो प्राथमिकता हुनुपर्ने अर्ति–उपदेश दिँदै छन् ।

तर समय कहिल्यै स्थिर रहँदैन भनेझैँ हत्या र आतंकबाट शुरु भएको खड्गप्रसादको राजनीतिक यात्रा गत भाद्र २३ र २४ गतेको हत्या र आतंकमै आएर लगभग विसर्जनको अवस्थामा पुगेको थियो, जसलाई आम नागरिकले फागुण २१ गतेको निर्वाचनमार्पmत अनुमोदन गरेका छन् ।

आज समय फेरिएको छ । २०४६ सालदेखि पालैपालो (कु)शासन गरेर बसेका पार्टी वा पात्रहरुको अस्तित्व भाद्र २३ र २४ गतेको घटनापछि संकटमा प¥यो । यही मौकामा जनताको आक्रोश र निराशालाई पुँजीकृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नायकहरु मैदानमा ओर्लिए, जसलाई जनताले भारी मतका साथ अनुमोदन गरिदिएका छन् ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि जो व्यक्तिले कांग्रेस, एमालेको सदस्यता लियो ऊ तत्काल प्रजातन्त्रवादीमा रुपान्तरित भइहाल्थ्यो, चाहे उसले जस्तोसुकै अपराध गरेको किन नहोस् । लामो समयदेखि बिचौलिया, भ्रष्टाचार अनि तस्करीमा जोडिएका, ठूला–ठूला अपराधमा नाम आएका अथवा भनौँ समाज र राष्ट्रविरोधी जस्तोसुकै काम गरेकाहरु अबका दिनमा नयाँको सुनपानी छर्किएर आफूलाई चोख्याउने प्रयास गर्नेछन्, जसबाट नयाँ जनमत पाएकाहरु बच्न जरुरी छ ।

राजनीति राष्ट्र निर्माणको शास्त्र हो, जसले समाज र राष्ट्रलाई शान्ति र समृद्धिको दिशातर्पm डो¥याउने गर्दछ । तर हामीकहाँ राजनीति भनेको शान्ति र समृद्धि नभई सत्ता हुन पुग्यो, जहाँ छलकपट, जालझेल, लुटमार, हत्याहिंसा सबै जायज छ । पछिल्लो समयमा नेपालको राजनीतिले जनता र मुलुकको नभई सत्ता सुरक्षित गर्न सिकायो ।

लोकतान्त्रिक राजनीतिमा नेतृत्वको परीक्षा उसले गर्ने भाषणमा होइन, उसले निर्माण गर्ने पद्धतिमा हुन्छ । लोकतन्त्रमा जनता नै मालिक हुन् भन्दै हिँड्ने अनि तिनै जनताको प्रश्नमा बन्देज लगाउनेहरु परिवर्तनको सम्बाहक बन्न सक्दैनन् । सुन्न नसक्ने अनि बोल्नुलाई नै आफ्नो ज्ञान, सीप अनि सत्ता र शक्तिमा पुग्ने भ¥याङ सम्झनेहरु साँच्चिकै निरंकुश, अहंकारी मात्र नभई अज्ञानी पनि हुन् । अन्तत्वोगत्वा यस्ता व्यक्तिहरुबाट समाज र राष्ट्रले बेहोर्ने भनेको नोक्सानी मात्र हो ।

हामीसँग विज्ञता अनि अनुभव छैन, विज्ञहरु हामीलाई मन पर्दैनन् र आवश्यक पनि छैनन् तर हामी सुशासन दिन्छौँ, रोजगारी दिन्छौँ, शान्ति दिन्छौँ, समृद्धि अनि विकास दिन्छौँ, जनताले मागे÷नमागेका, चाहे÷नचाहेका सबै कुरा दिन्छौँ, बाँधेर दिन्छौँ, खोरमा जाकेर दिन्छौँ, आगो लगाएर दिन्छौँ, हामीले भनेपछि दिन्छौँ–दिन्छौँ । तर कसरी ? प्रश्न नसोध्नुस् भनेर कसैले भन्छ भने बुझे हुन्छ कि त्यसले जनता र राष्ट्रलाई धोका दिँदै छ ।

यसपटकको निर्वाचनमा लोकप्रियतावाद सबैभन्दा बढी चर्चाको विषय बन्यो । लोकप्रियतावादीहरुले नागरिकहरुबीच खाडल खनेर समाजलाई ध्रुवीकृत गरिरहेका हुन्छन् । लोकप्रियतावादले भीड त जम्मा गर्छ तर दिगो निकास दिँदैन, बरु काल्पनिक कुरा गरेर मानिसहरुलाई उत्तेजित बनाइराख्छ, जसका कारण मानिसले विवेकको प्रयोग गर्न सक्दैनन् । निकासको लागि कठिन समयमा पनि ठीक र बेठीक छुट्याउने र न्यायपूर्ण बाटोमा हिँडने साहस गर्नुपर्दछ ।

नेतृत्वले लोकप्रियताको लोभ त्यागेर लोकहितको बाटो रोज्न सक्यो भने मात्र राष्ट्रले निकास पाउने हो । देशलाई आज उडन्ते कुरा गर्ने सेलिब्रेटी झिल्के नेताको होइन, मुलुक बुझेको दूरदृष्टि राख्ने नेताको खाँचो छ । लोकप्रियतावादका प्रायोजकहरुले जनताको आक्रोशलाई सत्तामा पुग्ने भ¥याङ बनाइरहेका हुन्छन् । हिजोआज सामाजिक सञ्जालमा देखिने गालीगलौज, आक्रोश र अन्धसमर्थन हेर्दा आजको नेपाली समाज एउटा अनौठो र डरलाग्दो सामूहिक उन्मादबाट गुज्रिरहेको देखिन्छ ।

हामी कसैलाई नायक मान्छौँ भने उसको कमी–कमजोरी सुन्न र देख्न चाहँदैनौँ । अहिलेको निर्वाचनले झापा–५ का खड्गप्रसाद शर्मा ओलीको राजनीतिलाई कोमामा त पु¥यायो तर नागरिकले कुनै एक खड्गप्रसादको मात्रै राजनीतिक अवसान चाहेका होइनन्, यहाँका विभिन्न दलमा रहेका खड्गप्रसाद प्रवृत्तिको अवसान चाहेका हुन् । फेरि पनि यो प्रवृत्तिको जन्म नहोला भन्न सकिँदैन । अतः यसतर्पm नागरिक र नेतृत्व दुवै सचेत रहनुपर्छ । यो प्रवृत्तिको कतै गन्ध नआओस् भन्ने सबैको कामना छ । अन्त्यमा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहज्यूलाई यस ऐतिहासिक जीतको लागि हार्दिक बधाई तथा शुभकामना !

[email protected]