निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना अपडेट  : मृतकको संख्या दुई पुग्यो, पाँच घाइतेलाई काठमाडौं पठाइयो 


रामेछाप । 

रामेछापको रामेछाप नगरपालिका २ देउरालीमा सोमबार कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । 

दुर्घटनामा परी  ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई  आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् । घिमिरे मन्थली नगरपालिका ६ रुद्राक्षेश्वर मावि मुगिटारका निमावि द्वितीय शिक्षक हुन्  । 

रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको मिनिट्रक देउरालीके सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिए । 

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् ।  घाइतेलाई उद्धार नेपाली सेनको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर राजनप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । घाइते हुनेमा २ पुरुष र ३ महिला छन् ।