होली : आपसी सम्बन्ध सुदृढ गर्ने रङ्गीन पर्व

658
Shares

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ मनाइने प्रत्येक चाडपर्वले समाजको आत्मा, इतिहास र जीवनशैली बोकेको हुन्छ । त्यही सांस्कृतिक वैभवमध्ये एक हो होली । जबकि पहाडमा पूर्णिमाका दिन र तराई तथा मधेसमा पूर्णिमाको भोलिपल्ट होलीका रूपमा धूमधामसँग मनाइने यो चाड रङ्ग, उमंग, मेलमिलाप र सामाजिक सद्भावको प्रतीक हो । पछिल्ला वर्षहरूमा कतिपयले होलीलाई विकृतिको चाडका रूपमा चित्रित गर्ने प्रयास गरे पनि यसको मूल आत्मा रमाइलोपन, सहिष्णुता र सामूहिक उत्सवमा आधारित छ । त्यसैले होलीलाई विकृति होइन, रमाइलो र सकारात्मक चाडका रूपमा बुझ्नु जरुरी छ । फलतः फागू भनेको फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ्ग छ्यापेर तथा अबिर दलेर नाच्ने, गाउने गरी एक–अर्कोमा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागू अर्थात् होली नामबाट चिनिन्छ । यस पर्वलाई फागू वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडहरुमध्ये यो पर्व एउटा रमाइलो चाड हो । यो पर्व होलिका नामकी राक्षसनीलाई मारेको खुशीमा मनाइने पर्व भएकोले होली या फागू भनिएको हो भन्ने किंवदन्ती छ ।

यसरी होलिका मरेको उपलक्ष्यमा सबैले खुशीयाली मनाउन होली खेल्ने चलन शुरु भएको कुरा भविष्य पुराणमा पनि उल्लेख छ । यसर्थ वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ्ग नलगाएर आफू–आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । नेपाली समाजमा फागू पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष आज १८ गते सोमबार परेको छ तर फागू खेल्न भने एक साताअघि अर्थात् फाल्गुण शुक्ल अष्टमीदेखी शुरु हुने गर्दछ । फागू पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भाव मैत्री एवं भाइचारा जगाउने गर्दछ । उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागू उत्सवको उष्कर्ष फागू पूर्णिमा नै हो । सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृतिप्रेमीको यो सिंगो चाड तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । यसमा खासगरीकन मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भूभाग र काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा समेत होली उत्सवले चिनिने फागू पर्वलाई चिरदाहको रुपमा पनि लिइन्छ । यसमा धार्मिक शास्त्रअनुरुप असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रुपमा लिइने यस पर्वलाई मैथिली भाषामा संमत जलाउने पनि भनिन्छ । विशेष गरी युवापुस्ताको लागि रङ्गीन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
हाम्रो नेपाली समाजमा फागू पर्व एउटा विशेष महत्व बोकेको चाड पनि हो । हरेक वसन्त ऋतुुको आगमनको पूर्वसन्ध्यामा वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ्ग, लोला आदि प्रयोग नगरी आफ्ना दौंतरीबीच रमाइलो गर्ने आनन्ददायक पर्व हो । यस पर्वमा भगवानको भजन–कीर्तनका साथसाथै नाचगान गरी विभिन्न किसिमका रङ्गहरुले एक–आपसमा अबिर दल्दै, आमोदप्रमोद गर्दै हाँसखेल–ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ । यस पर्वलाई अनुशासित रुपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदबन्दी छैन । त्यस्तै गरी राजादेखि रङ्कसम्म सबैले आपसमा मिलेर बडो उल्लासमय वातावरणमा रम्ने गर्दछन् । यसमा खास गरी युवायुवतीहरु बडो जाँगरका साथ यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन् ।
फागू पूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने, विभिन्न धार्मिक कथाहरु भेटिन्छन्, जसको कारणले होली पर्व चलेको छ । यसमा पनि भन्ने नै हो भने प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए । बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रह्लाद भने बडो विष्णुभक्त थिए । उनका बाबुले छोरालाई विभिन्न कोशिश गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रह्लादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन । सोही खुशीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती छ ।

हरेक वर्ष काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर होलीको औपचारिक शुरुवात गरिन्छ । चीर दहनसँगै असत्यको अन्त्य र नयाँ आशाको प्रारम्भको संकेत गरिन्छ । जुन तराई मधेसका जिल्लाहरू जनकपुर, वीरगन्ज, विराटनगर आदिमा अत्यन्त उत्साहका साथ मनाइन्छ । यहाँ सांगीतिक कार्यक्रम, नाचगान, सामूहिक भोज र सांस्कृतिक झाँकीले उत्सवलाई अझ जीवन्त बनाउँछ । तसर्थ होलीको मुख्य विशेषता भनेको सामाजिक दूरी घटाउनु हो । जसरी वर्षभरि विभिन्न काम, व्यस्तता र औपचारिक सम्बन्धमा बाँधिएका मानिसहरू यस दिन खुलेर भेटघाट गर्छन् । यसमा रिस, ईष्र्या र मनमुटाव बिर्सेर एक–अर्कालाई रङ्ग लगाइन्छ । यसले हाम्रो भावनालाई सुदृढ बनाउँछ । तदनुरुप नेपालजस्तो विविधतायुक्त समाजमा यस्तो चाडले अन्तरजातीय, अन्तरधार्मिक र अन्तरसांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने काम गर्छ । वास्तवमा होलीले भेदभावभन्दा माथि उठेर समानता र एकताको सन्देश दिन्छ ।

फागू पूर्णिमाको एक हप्ताअगाडिदेखि नै आफ्नो कार्यालय, स्कूल, क्याम्पसमा होली शुरु गर्ने गरेको पाइन्छ । बाटो हिँड्ने व्यक्तिहरुलाई समेत जथाभावी रङ्गाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन् । यस्तै किसिमका सामान्य घटनाहरुले उग्र रुप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । यसमा पनि रङ्ग उत्सवको खुशीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरुपमा मनाउनु मूर्खता हो । फलतः सञ्चारमाध्यमको भनाइअनुसार विभिन्न किसिमका रसायन मिसाइएको रङ्ग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्नेजस्ता निन्दित एवं घृणित कार्य पनि हुने गरेको पाइन्छ । साथै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भाङ, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रङ्गहरुका पुरिया राखी मोटरसाइकलमा चढी सार्वजनिक स्थलहरुमा पुग्ने पनि गरेका हुन्छन् । तसर्थ देशका शहरका युवकहरु र विदेशी पर्यटकलाई समेत रङ्गहरुले विरुप पारिदिन्छन् । जुन होलीको नाममा यस्ता किसिमका उच्छृङ्खल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको खस्किँदो अवस्था दिन–प्रतिदिन बढ्दै गएको छ । विडम्बना, हाम्रा यस्ता महान् पर्वहरु हिजोआज फेसन र मनोरञ्जनमा परिणत हुँदै छन् ।

प्राचीनकालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागू वा होली पनि एउटा विशेष महत्वको चाड हो । वस्तुतः फाल्गुण शुक्ल अष्टमीका दिन चीर गाडी, अबिर छरेर पूजा गरी शुरु गरिने यो चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक–आपसमा अबिर दलादल गर्ने र मीठा–मीठा पक्वान्नहरु खाने चलन छ । परन्तु वर्षमा एकचोटि आउंने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ्ग नलगाई आफू–आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल, भारत लगायत अन्य केही मुलुकमा रमाइलो गरी मनाउने गरेका छन् ।

केही वर्षअघिसम्म विश्वको एकमात्र हिन्दू राष्ट्र रहेको नेपालको आफ्नै संस्कृति र भेषभूषा रहेको छ । हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि कुनै न कुनै पर्व परिरहन्छ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरुपले निरोगी हुनु हो । जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि शुरु भयो, सो अनुरुप हाल व्यवहारमा देखा पर्न सकिरहेको छैन । पर्व मनाउने क्रममा खास गरी हाम्रो मुलुकमा विदेशी तडकभडक र छाडा संस्कृति भित्र्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्व मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ । यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कदम चाल्नुपर्दछ । यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ । नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको धार्मिक तथा सांस्कृतिक संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न ।

अन्त्यमा, होली नेपालको बहुरङ्गी सांस्कृतिक धरोहर हो । यसको मूल आत्मा प्रेम, सहिष्णुता, एकता र उत्सवमा आधारित छ । केही सीमित विकृतिलाई आधार बनाएर सम्पूर्ण चाडलाई दोषी ठहर गर्नु उचित हुँदैन । बरु सकारात्मक पक्षलाई प्रवद्र्धन गर्दै मर्यादित र सुरक्षित रूपमा मनाउने अभ्यास सुदृढ गर्नुपर्छ ।

रङ्गको माध्यमबाट मनका मैलाहरू पखाल्ने, सम्बन्ध सुदृढ गर्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने चाडका रूपमा होलीलाई स्वीकार गरौँ । मूलतः विकृति होइन, होली रमाइलो, जीवन्त र समाजलाई जोड्ने महान् सांस्कृतिक उत्सव हो । यसले हाम्रो जीवनमा रङ्ग भर्ने काम गर्छ । केही उच्छृङ्खल तत्वहरूले गर्ने व्यवहारलाई चाडको दोष मान्नु हुँदैन ।

रङ्गको माध्यमबाट मनका मैलाहरू पखाल्ने, सम्बन्ध सुदृढ गर्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने चाडका रूपमा होलीलाई स्वीकार गरौँ । मूलतः विकृति होइन, होली रमाइलो, जीवन्त र समाजलाई जोड्ने महान् सांस्कृतिक उत्सव हो । यसले हाम्रो जीवनमा रङ्ग भर्ने काम गर्छ । केही उच्छृङ्खल तत्वहरूले गर्ने व्यवहारलाई चाडको दोष मान्नु हुँदैन । बरु हामी शिक्षित युवा र नागरिकहरूले यसलाई सभ्य ढंगले मनाएर उदाहरण पेस गर्नुपर्छ । अतः देशको सांस्कृतिक र सामाजिक परिवेशमा होली (फागू पूर्णिमा) को विशेष महत्व छ । यो केवल एउटा पर्व मात्र नभई नेपाली समाजको एकता, सद्भाव र उमंगको प्रतीक पनि हो । स्मरण रहोस्, पछिल्लो समयमा होलीमा केही उच्छृङ्खल गतिविधिहरू देखिएका कारण यसलाई विकृति भन्ने गरिएको भए तापनि, वास्तविकतामा यो एउटा अत्यन्तै सुन्दर र रमाइलो चाड हो ।