काठमाडौं ।
२१ फागुनको निर्वाचनमा काठमाडौंको क्षेत्र नं ७ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । एमालेको किल्लाका रूपमा रहँदै आएको यो निर्वाचन क्षेत्रमा गत २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अप्रत्यासित जित निकाल्नुभएको थियो । त्यसअघि २०७० साल र २०७४ सालमा यो निर्वाचन क्षेत्रमा लगातार एमालेले जितेको थियो ।
यसपटक यो निर्वाचन क्षेत्रमा रास्वपका पराजुली, एमालेका प्रकाश श्रेष्ठ र कांगे्रसका प्रमोदहरि गुरागाईंबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसका साथै नेकपाका वसन्त मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा पनि चुनावी प्रतिस्पर्धामा दौडधुपमा छन् ।
यस क्षेत्रमा हाल २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये ११ जना त स्वतन्त्र उम्मेदवार नै रहेका छन् । यस क्षेत्रका मतदाताले यसपटक नयाँ उम्मेदवारलाई चुन्न सक्ने देखिएको छ । यस क्षेत्रमा रास्वपाको केही लहर देखिए पनि २०७९ मा चुनाव जितेर गएका पराजुली चुनाव जितेर गएपछि नाकमुख देखाउनै नआएको आरोप धेरै मतदाताको छ ।
जसका कारण धेरै मतदाता उहाँसँग असन्तुष्ट देखिएका छन् । अहिले पराजुलीले घरदैलोका क्रममा पनि धेरै मतदाताले उहाँप्रति असन्तुष्टि जनाएपछि सम्झाउनुपरेको छ । त्यसैले यसपटक काठमाडौं क्षेत्र नं ७ का मतदाताहरू नयाँ उम्मेदवारको पक्षमा उभिन सक्ने सम्भावना देखिएको छ । पराजुलीलाई एमालेका प्रकाश श्रेष्ठ र कांग्रेसका प्रमोदहरि गुरागाईंले कडा टक्कर दिँदै आइरहेका छन् । यस क्षेत्रमा पराजुली, श्रेष्ठ र गुरागाईं तीनै जनाले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । यसै गरी नेकपाका मानन्धर र राप्रपाका लामाले पनि आफूहरूको अवस्था सुदृढ रहेको बताएका छन् ।
गत २०७९ को निर्वाचनमा यस क्षेत्रमा पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याएर विजयी हुनुभएको थियो भने एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएर दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा तत्कालीन माओवादी केन्द्रबाट उठ्नुभएकी मानुषी यमीले ६ हजार ६३ मत ल्याउनुभएको थियो । त्यतिबेला नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदा कांग्रेसले पनि मानुषी यमीलाई सघाएको थियो ।
केन्द्रमा कांग्रेसले मानुषीलाई सघाउने निर्णय गरेपछि रुष्ट भएका स्थानीय कांग्रेस कार्यकर्तामध्ये अधिकांशले माओवादीको साटो घण्टीमा भोट हालेका थिए । त्यसैले पनि घण्टीका उम्मेदवार पराजुलीले अप्रत्यासित रूपमा जित्नुभएको स्थानीहरुकै भनाइ छ । कांग्रेस कार्यकर्ताहरूले गत निर्वाचनमा घण्टीमा हालिएको सबै भोट फिर्ता हुने भएकाले पराजुली कमजोर बन्ने दाबी गरेका छन् ।
कांग्रेसले यसअघिका २ वटा निर्वाचनमा गठबन्धनको नाममा यस क्षेत्रमा अर्कै पार्टीको उम्मेदवारलाई सघाउने र आफ्नो उम्मेदवार नउठाउने गर्दा यस क्षेत्रमा कांग्रेस केही कमजोर रहँदै आएको थियो तर अहिले कैयौं वर्षपछि आफ्नै उम्मेदवार पाएपछि कांग्रेसी कार्यकर्ताहरू केही उत्साहित बनेका छन् । यस क्षेत्रमा विरासतको हिसाबले एमाले शक्तिशाली देखिन्छ । यद्यपि एमालेमा केही आन्तरिक मतभेद रहँदा विगतमा केही कमजोर बनेको थियो ।
यसअघि एमालेबाट यस क्षेत्रमा जितेका रामवीर मानन्धर कांग्रेसमा प्रवेश गरेपछि एमालेका लागि थप चुनौती थपिएको छ । यद्यपि, एमालेका कार्यकर्ताहरू भने आफूहरूको आन्तरिक एकता यसपटक मजबुत भएकाले चुनाव जित्ने दाबी गरेका छन् । एमालेले यसअघि प्रदेशमा चुनाव जितेका र प्रदेशमा दुईपटक मन्त्री भइसकेका श्रेष्ठलाई चुनावमा उठाएको हो ।
श्रेष्ठले आफू प्रदेश मन्त्री हुँदा यस क्षेत्रको सांस्कृतिक, पर्यटकीय र औद्योगिक विकासका लागि महत्वपूर्ण योगदान गरेकाले आफूलाई आममतदाताले विश्वास गरेर जिताउने दाबी गर्नुभयो । ढल व्यवस्थापन, सम्पदा संरक्षण तथा व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राखेर काम गरेकाले पनि आफू आममतदाताको रोजाइमा परेको उहाँको दाबी छ ।
रास्वपाका पराजुलीले पनि आफूहरू सुशासनका लागि लागेको र देश बनाउने अभियानमा लागेको विषय आम मतदाताले थाहा पाएकाले भोट आफैंलाई दिने दाबी गर्नुभयो । कांग्रेसका गुरागाईंले क्षेत्र नं ७ का मतदाताहरू विवेकशील भएकाले आफूलाई जिताउने दाबी गर्नुभयो ।
यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाबाट दीर्घकुमार श्रेष्ठ, नेकपा (संयुक्त) बाट गुणबहादुर बन्जारा क्षेत्री, नेमकिपाबाट गणेशमाया डंगोल, जसपा, नेपालबाट बाबुराम लामा, आजपाबाट प्रदीप भट्टराई, प्रलोपाबाट अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलबाट विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीबाट वैकुण्ठ फुयाँल, श्रम संस्कृति पार्टीबाट मणिरामबहादुर प्रधान, नेकपा (माओवादी) बाट दीपक मानन्धर, उज्यालो नेपाल पार्टीबाट विमला लामा र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) बाट दिपिन पन्त पनि चुनावी मैदानमा रहेका छन् ।
स्थानीय बासिन्दाको भने मिश्रिम प्रतिक्रिया रहेको छ । शेषमती, गुह्येश्वरी, पंैयाटार मिलनबस्तीका मतदातासँग कुराकानी गर्दा उनीहरूमध्ये केहीले पुराना दलका उम्मेदवारहरू नयाँ भएकाले भोट उनैलाई दिने बताए भने केहीले नयाँ दलका उम्मेदवारलाई भोट हाल्ने बताए ।
यो निर्वाचन क्षेत्रमा ६७ हजार ४ सय ११ जना मतदाता रहेका छन् । जसमध्ये महिला ३४ हजार ७ सय ३८ र पुरुष ३२ हजार ६ सय ७३ जना रहेका छन् । यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वडा पर्छन् ।
काठमाडौं महानगरका १६, १७, १८, २५ वडाका म्हैपी बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोल यही क्षेत्रमा पर्छन् । यसै गरी तारकेश्वर नगरपालिकाका ३, ४, ५ वडाका तीनपिपले, गोलढुंगा, शेषमती, सानो गुह्येश्वरी, लोलाङ र नागार्जुन नगरपालिकाका १, २, ३ का रानीवन, ठूलोभ¥याङ, गैरीगाउँ पनि यही क्षेत्रमा पर्छन् ।
जम्मा मतदाता : ६७ हजार ४ सय ११
महिला :३४ हजार ७ सय ३८
पुरुष :३२ हजार ६ सय ७३ जना











प्रतिक्रिया