गुल्मी ।
गुल्मीमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ विगत डेढ दशकदेखि राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बन्दै आएको छ । यहाँको चुनावी नतिजाले केवल एक क्षेत्रको प्रतिनिधित्व तय गर्दैन, बरु राष्ट्रिय शक्ति सन्तुलनमा समेत सन्देश दिने गरेको छ ।
२०६४ सालदेखि सुरु भएको आलोपालो जितको शृंखलाले यस क्षेत्रलाई विशेष बनाएको छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली विजयी बन्नुभयो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीले जित हात पार्नुभयो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा फेरि एमालेका ज्ञवाली विजयी हुनुभयो । २०७९ सालमा कांग्रेसका भण्डारीले पुनः जित निकाल्दै इतिहासलाई निरन्तरता दिनुभयो ।
यसरी हेर्दा हरेक चुनावमा मतदाताले विकल्प परिवर्तन गर्दै आएका छन् । यहाँ कुनै एक नेताको लगातार वर्चस्व स्थापित हुन सकेको छैन । गुल्मी–१ मा मुख्य प्रतिस्पर्धा प्रायः नेकपा एमाले र नेपाली कांग्रेसबीच हुँदै आएको छ । एमाले नेता ज्ञवाली राष्ट्रिय राजनीतिमा परराष्ट्र मन्त्रीसम्म भइसकेका अनुभवी नेता हुनुहुन्छ । उहाँले विकास, पूर्वाधार र राष्ट्रियताका मुद्दा उठाउँदै मतदातासमक्ष जाने गर्नुभएको छ । कांग्रेस नेता डा. भण्डारी सामाजिक न्याय, स्वास्थ्य, शिक्षा र स्थानीय विकासका एजेन्डा अघि सार्दै आउनुभएको छ ।
अब प्रश्न उब्जिएको छ २०८२ मा कसको पालो ?
विगतको ट्रेन्ड हेर्ने हो भने यस क्षेत्रमा परिणाम बदलिने क्रम देखिन्छ । यदि, त्यही प्रवृत्ति दोहोरियो भने यसपटक एमालेको पक्षमा परिणाम जान सक्ने आँकलन कतिपयको छ । राष्ट्रिय राजनीति अस्थिर देखिएको सन्दर्भमा स्थानीय मतदाता स्थिर र प्रभावकारी प्रतिनिधित्व चाहने मनोविज्ञानमा रहेको विश्लेषकहरू बताउँछन् ।
मुख्य प्रतिस्पर्धा दुई नेताबीच देखिए पनि पछिल्ला चुनावहरूमा वैकल्पिक राजनीतिक शक्तिहरूको प्रभाव बढ्दो छ । यदि, तेस्रो शक्तिले उल्लेख्य मत कटौती ग¥यो भने परम्परागत गणित फेरिन सक्छ । युवा मतदाता, र पहिलोपटक मतदान गर्ने पुस्ताको निर्णय निर्णायक हुन सक्ने आँकलन गरिएको छ ।
सागर ढकालको प्रवेश ः नयाँ तरंग
यसपटकको चुनावलाई विशेष बनाउने मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सागर ढकालको उम्मेदवारी हो । २०७९ सालको निर्वाचनमा उहाँले डडेरधुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर राष्ट्रिय स्तरमा चर्चा बटुल्नुभएको थियो । उहाँले जित हासिल गर्न सक्नुभएन तर युवा, स्वतन्त्र र वैकल्पिक राजनीतिका पक्षधर उम्मेदवारका रूपमा आफ्नो पहिचान बनाउनुभएको थियो । अहिले उहाँ गुल्मी–१ बाट मैदानमा उत्रिएपछि परम्परागत दुई दलमाथि दबाब बढेको छ ।
युवा मतदाताको आकर्षण र वैकल्पिक राजनीतिक शक्तिप्रतिको रुचिले मत परिणाममा प्रभाव पार्न सक्ने आँकलन भइरहेको छ । यसपटक नेकपाबाट उम्मेदबार बनेका सुदर्शन बराल पनि अर्को चुनौतीका रुपमा रहनुभएको छ । उहाँ पनि यसक्षेत्रबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । त्यसैले पनि उहाँको प्रभाव पनि छ । यसपटक चारकोणीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना बढाएको छ ।
यदि, रास्वपाले उल्लेख्य मत काट्न सफल भयो भने एमाले र कांग्रेस दुवैको परम्परागत गणित बिग्रन सक्छ । गुल्मी–१ ले विगत १६ वर्षदेखि आलोपालो परिणाम दिँदै आएको छ । २०८२ सालको निर्वाचनले त्यो परम्परा तोड्ने कि निरन्तरता दिने भन्ने प्रश्नको उत्तर मतदाताको मतपेटिकाले दिनेछन् । राजनीतिक रूपमा परिपक्व मानिएको यस क्षेत्रका मतदाताले सन्तुलित निर्णय गर्ने इतिहास रहेको छ ।











प्रतिक्रिया